मोरङ सहकारी अस्पताल, बिराटनगरमा गत चैत महिनामा ४६ वटा र माघ १४ गते देखि चैत मसान्त सम्ममा ७८ वटा म र मेरो मेडिकल टिमले शल्यक्रिया गरेर पाठेघर फालियो । ती सबै पाठेघरमा कुनै रोग थिएन, स्वस्थ्य थिए तर आफ्नो ठाउँमा थिएन ।
यसरी पाठेघरको समस्य बोकेर आउनेहरुको उमेर ४६ बर्ष हाराहारी थियो । उनीहरुको पाठेघरस्वस्थ्य भए पनि योनीमार्गबाट बाहिर निस्किएका थिए । यो त्यस्तै अवस्था हो, जसलाई हाामी आङ खसेको भन्छौं । मेडिकल भाषामा चाहि, प्रोलाप्स युटेरस ।
भोजपुरका १८, सप्तरीका १६, उदयपुरका १५, सुनसरीका ११, सिरहाका १०, मोरङ्गका ४, तथा झापा, खोटाङ्ग, पाचथर र धनुषाका १-१ गरी ७८ महिलाहरुको पाठेघर शल्यक्रिया (भिएच) गरी फाल्न सफल भयौं ।
नेपाली महिलाको बोझ
आङ खस्ने समस्या नेपालमा मात्र नभई संसार भरी नै रहेको छ । करिब २ देखि २० प्रतिसत महिलाहरु आङ खस्ने समस्याबाट पिडित रहेको विभिन्न तथ्यांकले देखाएको छ । नेपालमा अझै पनि १० लाख महिलाहरु यो समस्या हुन सक्ने अनुमान गरिए तापनि यर्थात तथ्यांक भने छैन । बृद्ध महिलाहरु धेरै लाज मान्ने अनि धेरै सहेर बस्न खोज्ने भएको कारणले आङ खसेका आमाहरु आफ्ना समस्या लुकाउने गर्छन् ।
कुनै कुनै आमाहरु शल्यक्रियाबाट डराउने र परिक्षण गराए अप्रेसन गरिहाल्छन् भन्ने डरका कारण पनि आफ्नो समस्या लुकाएको पाईन्छ । यी यस्ता कारणले हाम्रो समाजमा अझै पनि आङ खसेका महिलाहरुको वास्तविक संख्या पत्तालगाउन कठिनाई भएको हो भन्दा फरक नपर्ला ।कतैकतै आफ्ना समस्या राखे पनि आर्थिक वा अन्य कारणहरुले परिवारका सदस्यहरुले वास्ता नगरेको तथा परिक्षण नगराई दिने गरेको पनि भेटिन्छन् ।
हालै गण्डकी मेडिकल कलेज, कलेज अफ नर्सिङ साईन्सका मुना सिलवालका टिमले २०१६ जुलाई ६ देखि २०१७ अगष्ट ७ सम्ममा गरेको अध्ययनले १३ प्रतिसत महिलामा आङ खस्ने समस्या रहेको देखाएको छ । जब कि यो ईटालीमा संख्या ५ दशमलब ५, अमेरिकामा ११ दशमलव ४ अनि क्यालिफोर्नियामा १ दशमलव ९ प्रतिसत मात्र रहेको छ ।
किन खस्छ आङ ?
आङ खास्नुको पछाडि कुनै न कुनै तर्फबाट गर्भ नै जोडिएको देखिन्छ । कम उमेरमा विवाह गर्नु अनि बच्चा पाउनु, धेरै बच्चा जन्माउनु, जन्मान्तर कम गर्नु अनि सुत्केरी अवधिमा गार्हो काम गर्नु, भारी बोक्नु आङ खस्नुका प्रमुख कारणहरु हुन् ।
कुपोषण, कब्जियत, धुम्रपानको सेवन, दमखोकी, डेलिभरी लगतै यौनसम्पर्क, मोटोपन जस्ता समस्याले पनि आङ खस्नमा मद्दत गर्ने गरेको अध्ययनहरुले देखाएका छन् । हामीले शल्यक्रिया गरेका मध्ये ७२ वटा अर्थात ९२ प्रतिसत महिलाको ३ भन्दा बढि सन्तान पाएको देखियो ।
मुना सिलवालको अध्ययनमा आङ खसेका महिलाहरुमा ९२ प्रतिसतको नर्मल डेलिभरी, ७ प्रतिसतको सिजरियन तथा १ प्रतिसतमा औजार प्रयोग गरेर प्रसव गराएको थियो भने हामीले शल्यक्रिया गरेका आङ खसेका महिलाहरुमा सतप्रतिसतको नर्मल डेलिभरी भएको रहेछ ।
लामो समयसम्म ब्याथा लगेर बस्नु (प्रोलङ्ग लेवर) तथा घरमा प्रसव गराउनुले पनि आङ खस्ने समस्यालाई बढाउने रहेछ ।
आङ खस्ने सबैलाई शल्यक्रिया गर्नु पर्दैन तर अलिकती पनि आङ खसेको छ भने औषधि खाएर पुरानो ठाउमा पाठेघर फर्किदैन । पाठेघर थोरै तल आएको छ भने केहि अभ्यास गर्नु पर्ने हुन्छ जसले गर्दा पाठेघरलाई आफ्नो स्थानमा रहन मद्दत गर्ने माशंपेशीहरु बलियो हुन्छ । त्यसैले पाठेघर थप तल झर्नेबाट रोकिन्छ ।
यसो गर्दा पाठेघर तल आएकोले गर्दा हुने गरेको ढाडको दुखाई तथा पटक पटक हुने पिसावको संक्रमणमा कमी आउने हुन्छ । तर पाठेघर योनीमार्ग बाहिर आएको अवस्थामा रिंग (चुरा) लगाउने वा शल्यक्रिया गर्नुपर्ने हुन सक्छ ।
चुरा वा रिंग पेस्सरी लगाउदा पाठेघर भित्र अडिने हुन्छ तर यो ३-३ महिनामा फेर्नु पर्नेहुन्छ । त्यसैले दिर्धकालिन र भपर्दो उपाय शल्यक्रिया नै हो । यो शल्यक्रिया पेट चिरेर गरिदैन । यसरी आङ खसेको अवस्थामा गरिने शल्यक्रिया योनीमार्गबाट नै गरिने हुन्छ र पुनः योनीमार्ग बनाउन सकिने भएकोले यौनजीवनमा धेरै असर गर्दैनन् ।
हुनत आङ खस्नबाट पुर्णरुपमा रोकिन्छ भन्नै छैन तर केहि सजग भएर सावधानी अपनाए सम्भावना घट्ने हुन्छ ।
· मुख्यतः २० बर्ष नपुगी विवाह नगर्ने । विवाह गरे पनि सन्तानको चाहना २० नपुगी नगर्ने ।
· गर्भावस्थामा स्वास्थ्यको राम्रो ध्यान पुर्याउने, नियमित परिक्षण गर्ने, गार्हो काम नगर्ने र भारी नबोक्ने ।
· घरमा प्रसव नगराउने, लामो समय ब्यथा लगाएर नबस्ने ।
· प्रसव पछिको ४२ दिन अत्यन्त महत्वपुर्ण समय हो । यस समयमा पटुका बाध्ने, गार्हो काम नगर्ने र भारी नबोक्ने, यौनसम्पर्क नगर्ने तथा खानपान र सरसफाईमा राम्रो ध्यान पुर्याउने ।
· धुम्रपानको सेवन नगर्ने ।
· उच्चरक्तचाप, कब्जियत, दिर्धखोकी, दम आदि रोगको समयमा उपचार गर्ने ।
· मोटोपन नियन्त्रण गर्ने र नियमित व्ययाम गर्ने ।
पाठेघर फालिसके पछि स्वास्थ्यमा समस्या आउछन् कि भन्ने धेरै महिलाहरुले चिन्ता लिएको पाईन्छ । कति आमाहरुलाई त पाठेघर फालेपछि क्यान्सर नै हुन्छ कि भन्ने डर रहेको पनि पाईयो । तर वास्तविक्ता त्यस्तो छैन ।
कम उमेरमा नै आङ खसेकाले शल्यक्रिया गरि पाठेघर फाल्नु परेको अवस्थामा शल्यक्रिया भएको केहि बर्ष पछि पुनः भल्ट प्रोलाप्स अर्थात योनीमार्गनै खस्ने सम्भावना हुन्छ । हुनत यो सम्भावना सबैमा रहन्छ तर आङ खसेको शल्यक्रिया गर्दा राम्ररी ध्यान पुर्याएर गरेको अवस्थामा भल्ट प्रोलाप्स हुने सम्भावना कम हुन्छ । यस बाहेक भजाईनल हिस्टेरेक्टोमी -भिएच) ले महिलामा कुनै नराम्रो असर समान्यता देखिने गरेको छैन । यसले कुनै किसिमको क्यान्सर गर्दैन ।
के हो पाठेघर ?
महिलाहरुको महत्वपुर्ण प्रजनन् अंग हो, पाठेघर । भित्र खाली अनि बाहिरबाट हेर्दा नास्पती आकारमा रहेको मासुको डल्लो जस्तो देखिने पाठेघर, तल्लो पेटमा पिसाब थैली र मलाशयको बीचमा रहेको हुन्छ । निषेचित अण्डा -फर्टिलाईज्ड ओभम्) पाठेघरमा आएर विकशित हुने र भ्रुण हुदै बच्चा भएर जन्मिने भएकोले यसलाई गर्भ पनि भन्ने गरिन्छ ।
पाठेघर नभएको महिला आमा बन्न सक्दैनन् र हरेक मानिसको जन्म पाठेघरबाट नै भएको हुन्छ । यस बाहेक पाठेघरको भित्रितह टुक्रिएर महिनावारी हुने अनि केहि हर्मनको उत्पादन र सन्तुलनमा पनि यसले मद्दत गर्ने गरेको हुन्छ ।