धरान । अनियमित तरिकाले सङ्कलन गरेर सखुवा जातको काठ चिरान गरिरहेको अवस्थामा धरान–६ को पानबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित पाँच पदाधिकारी समातिएका छन् । तोकिएको घाटगद्दी (काठ थुपार्ने स्थान) भन्दा एक सय मिटरभित्र जङ्गलमा घाटगद्दी बनाएर चिर्दै गरेको अवस्थामा ६४७ क्युविक फिट काठसमेत प्रहरीले बरामद गरेको छ । नियम उल्लङ्घन गरी काठ सङ्कलन गरेर गुपचुपमा बेच्न लागेको अभियोगमा अध्यक्ष वीरेन्द्रकुमार कुरुङबाङसहित उपाध्यक्ष, सचिव, सहसचिव र एक सदस्य शनिबार समातिएका हुन् । काठ भने सेक्टर वन कार्यालयले आइतबार बरामद गरेको हो । उनीहरूले सम्बन्धित निकाय वन कार्यालयलाई जानकारी नदिई नै गोप्य रूपमा काठ थुपारेर चिरान गरिरहेको पाइएपछि पक्राउ गरिएको जिल्ला वन कार्यालयका प्रमुख वन अधिकृत राजेन्द्र निरौलाले बताए । ‘पहिलो कुरा, साल जातको काठ काट्ने आदेश दिएका छैनौँ । दोस्रो, इजाजत दिएको घाटगद्दीभन्दा अन्यत्र थुपारेर चिरान गरिरहेको पायौँ’, उनले फोन सम्पर्कमा भने, ‘कुनै पनि काठ काट्न पनि कटान सहमति दिएका हुन्छौँ । घाटगद्दी तोकिदिएका हुन्छौँ ।’ उनीहरूमाथि वन ऐन २०४९ अनुसार कारवाही प्रक्रिया अघि बढेको उनले बताए । ‘नियमभन्दा बाहिर रहेकाले कारवाही अगि बढ्यो ।’ उनले थपे । अध्यक्ष कुरुङबाङसहित उपाध्यक्ष कमलसिंह लिम्बू, सचिव हीरादेवी आचार्य, सहसचिव सुरेन मुदेल र सदस्य सुमनकुमार साहलाई पक्राउ गरी तरहरा वन कार्यालयमा राखिएको छ । वनका पदाधिकारीहरूले कसैलाई पनि जानकारी नदिई गोप्य रूपमा काठ चिरान गरेर बेच्ने नियत देखिएको सेक्टर वन कार्यालयका प्रमुख सहायक वन अधिकृत ज्ञानकुमार लामाले बताए । ‘यो अनियमित नै हो’, उनले भने, ‘घाटगद्दीभन्दा अन्यत्र चिर्ने बित्तिकै गलत गरेको प्रष्ट बुझियो नि ।’ उनका अनुसार खोलाको काठ ल्याउँदा पनि सेक्टर वन तथा जिल्ला वनको अनुमति लिनुपर्ने प्रावधान छ । त्यति मात्र हैन, दाउरा ल्याउन पनि वनको अनुमति चाहिन्छ । केही दिनअघि पनि दाउरा ल्याउँदै गरेको अवस्थामा सेक्टर वन कार्यालयले पक्राउ गरेर आइन्दा नगर्ने शर्तमा छाडेको उनले बताए । काठ कहिले ल्याएर थुपारिएको हो भन्ने विषयमा स्थानीय पनि अनभिज्ञ देखिए । वनको हेरालुसमेत रहेका लालबहादुर मगरले पनि १५ दिन अघिसम्म आपूmलाई काठ राखिएको बारे जानकारी नभएको बताए । ‘भर्खरै राखेको होला, मलाई पनि थाहा भएन ।’ उनले भने । सेक्टर वनका अनुसार ११९ गोलिया र ७७ थान चिरान काठ फेला परेको छ । गोलिया ५३७ क्युविक फिट र चिरान ११० क्युविक फिट काठ बरामद गरिएको हो । सेक्टर वन प्रमुख लामाले पनि सङ्कलन गरेको १५ दिन जति भएको देखिने बताए । पानबारी सामुदायिक वनमा केही समयअघि मात्रै कुरुङबाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको थियो । शेहरा खोलाले कटान गरेर ढालेका रुखबाट यी काठ निकालिएको स्थानीय बताउँछन् । खोलाले कटान गरेर ढालेका काठ भए पनि वनसँग अनुमति लिएर घाटगद्दी तोकिएकै स्थानमा राख्नुपर्छ । वनका एक अधिकारीका अनुसार कसैको संरक्षणमै पदाधिकारीहरूले यत्रो हिम्मत गरेको देखिन्छ । ‘यति धेरै काठ काट्न सक्ने हिम्मत पदाधिकारीहरूमा हुँदैन । राजनीतिक संरक्षणमै यो काम भएको देखिन्छ ।’ ती अधिकारीले नाम नछाप्ने शर्तमा भने । हस्तान्तरित करिब १६९ हेक्टर क्षेत्रफलमा सखुवा जातका काठहरू एकदमै कम रहेको वनका कर्मचारी बताउँछन् । त्यसमा पनि ढलापडा सखुवा जातका काठहरू नरहेको उनीहरूको भनाइ छ ।