पानबारी । एकथरी युवा जसरी पनि ‘लाहुरे’ (बेलायती सेनामा भर्ती) लागेरै छाड्ने अठोटका साथ कडा शारीरिक अभ्यास गरिरहेका हुन्छन् । त्यसको एकमात्रै कारण छ– लाहुरेको जागिर खाइसकेपछि पाइने सेवा–सुविधा र बढ्ने आर्थिक हैसियत । तर विडम्बना के छ भने त्यति कडा शारीरिक अभ्यासमा लागेका सबै युवा लाहुरे बन्न सक्दैनन्, एकदमै थोरै मात्र लाहुरे बन्न सफल हुन्छन् । तालीम केन्द्रबाट तालीम लिएका युवाको पहिलो रोजाइ बृटिस आर्मी र सिङ्गापुर पुलिस हुन्छ । त्यसमा सफलता प्राप्त नगरे भारतीय सेनामा भए पनि जागीर खाने लक्ष्य हुन्छ । बृटिस आर्मी र सिङ्गापुर पुलिसमा नेपालबाट वर्षमा जम्मा ३ सय ७० जनासम्मलाई मात्र लैजाने गरिएको पछिल्लो आँकडा छ । नेपाल फिजिकल फिटनेस ट्रेनिङ एसोसिएसनका केन्द्रीय अध्यक्ष मिन गुरुङका अनुसार ३ सय ७० को कोटामा करीब १० हजार युवाले प्रतिस्पर्धा गर्ने गरेका छन् । गुरुङले भने, ‘पछिल्लो तथ्याङ्कअनुसार हाम्रो संस्थामा १ सय १५ वटा ट्रेनिङ सेन्टरहरू आबद्ध छन्, नेपालमा भएका ट्रेनिङ सेन्टरहरूमध्ये यो ९८ प्रतिशत हो ।’ एसोसिएसनमा आबद्ध भएका ट्रेनिङ सेन्टरहरूमा वार्षिक रूपमा १० हजार युवाले ट्रेनिङ लिने गरेका छन् । यी सबै लाहुरेमा भर्ती हुँदैनन् । बृटिस आर्मी र सिङ्गापुर पुलिसबाहेक वार्षिक १२ सयदेखि १६ सयसम्म नेपाली युवा भारतीय सेनामा भर्ती हुने गरेको तथ्याङ्क नेपाल फिजिकल फिटनेस ट्रेनिङ एसोसिएसनसँग छ । लाहुरेमा भर्ती हुन असफल युवाका लागि भने अहिले खाडी राष्ट्रमा सेक्युरिटी गार्ड ठूलो विकल्पको रूपमा आएको छ । नेपाल फिजिकल फिटनेस ट्रेनिङ एसोसिएसनका पूर्वाञ्चल अध्यक्ष पर्वत राईका अनुसार धेरै युवाले भर्ती लाग्ने लक्ष्यका साथ ट्रेनिङ लिने गरेका भए पनि सीमित मात्रै भर्ती हुन्छन् । उनले भने, ‘पहिले–पहिले लाहुरे लाग्ने क्रेजीहरू हुने गरेको र लाहुरे नलागे त्यसको विकल्पमा अन्य जागीर नहुँदा कतिपय कुलतमा फँस्ने गरेका भए पनि अहिले अन्य मुलुकले समेत सेक्युरिटी गार्डमा आकर्षक तलब दिने भएकाले यस्ता युवालाई विकल्प दिएको छ ।’ नेपालीलाई आप्mनो सेनामा भर्ती गराउन अन्य मुलुकहरूसमेत लालायित देखिएका छन् । अहिले आप्mनै पहलमा फ्रान्सेली आर्मीमा नेपालीहरू धेरै छन् । त्यसैगरी मकाउको सरकारी सुरक्षा गार्ड, दुबईको पुलिस र बहराइनको सरकारी सुरक्षा गार्डमा समेत धेरै नेपालीहरूले सेवा गरिरहेका छन् । पूर्वाञ्चल अध्यक्ष राईको भनाइ छ, ‘अहिले सबैले पढाइलाई पनि प्राथमिकता दिने भएकाले लाहुरेबाहेक धेरै युवा आप्mनै पहलमा फ्रान्स आर्मी, दुबई पुलिस, बहराइन आर्मी, मकाउमा सेक्युरिटी गार्डलगायत खाडीका सेक्युरिटीमा समेत आकर्षक तलब हुने भएकाले उनीहरू त्यतातिर जाने गरेका छन् ।’ दुई वर्षअघि आबुधाबी सेक्युरिटी (पीएसबीडी) मा दुबई पुगेका धनकुटाका दीपक लिम्बू भन्छन्, ‘मैले बृटिसमा भर्ती हुन तीन वर्ष लगातार कोशिस गरेँ तर सकिनँ । पछि मेनपावरबाट सेक्युरिटी गार्डमा दुबई गएँ, महिनाको ८० हजारसम्म बचाउँछु ।’ त्यस्तै मोरङको केराबारीका दिवस राईले पनि एक वर्ष बृटिस आर्मीका लागि भिडेर नसकेपछि भारतीय आर्मीमा समेत प्रयास गरे । त्यहाँ पनि भर्ना हुन नसकेपछि उनी चार वर्षयता दुबईमा सेक्युरिटी गार्ड छन् । उनी भन्छन्, ‘काम पनि सजिलै छ, यहाँ कन्स्ट्रक्सन कम्पनीमा काम गर्नेले भन्दा धेरै कमाइरहेको छु ।’ उनले चार वर्षको कमाइबाट धरानमा दुईवटा घडेरी किनिसकेको बताए । इटहरीको एक मेनपावर कम्पनीका सञ्चालक भन्छन्, ‘अहिले सेक्युरिटी गार्डमा युवा खाडी नै भए पनि जानलाई लालायित छन् । यसको प्रमुख कारण भनेको उनीहरूलाई काम गर्न हुने सहजता र आकर्षक सेवा–सुविधा नै हो ।’ उनका अनुसार अहिले लाहुरेको गतिलो विल्पक बनेको छ, सेक्युरिटी गार्डको जागीर ।