काठमाडाै । फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्वर पुग्नुपर्ने थियो । तर, सुन र मान्छे बेपत्ता भएपछि योजनाकार आत्तिए ।
तस्करीका मुख्य योजनाकार गोरे भनेर चिनिने चूडामणि उप्रेती हुन् । आफ्नो सुन हराएपछि उनले बनलाई नियन्त्रणमा लिएर धापासीस्थित थ्री मोटर्स ग्यारेजमा लगे । अनेक यातना पाएर ड्युटीमा फर्किएका बन अचानक २२ माघमा विमानस्थलभित्रै दुर्घटनामा मारिए । सिसिटिभी फुटेज भन्छ, ‘उताबाट उच्चगतिमा आइरहेको इन्धन ट्याङकरमुनि छिरेका बनले आत्महत्या गरेका हुन ।’ तर अनौठो, यो विषयमा विमानस्थल प्रशासन र प्रहरी संगठनले यो विषयमा गम्भीर अनुसन्धान गरेन । उनको मृत्युलाई सामान्य दुर्घटनाका रुपमा प्रहरी बुलेटिनबाट प्रचार गरियो ।
बनको ज्यान गयो, तर गोरेको सुन भेटिएन । बनको मृत्यु दुर्घटनामा दर्ज भएकोले गोरेलाई आफ्नो सुन खोज्न समय र सुविधा भयो । उप्रेतीले आफ्ना पूर्वलेखा सहयोगी सनम शाक्यले सुन लगेको शंका गरे । आफूसँग काम गरेर तीन महिनाअघि अलग्गिएका शाक्यले षड्यन्त्रपुर्वक सुन गायब बनाएका हुन सक्छन् भनेर उनलाई नियन्त्रणमा लिइयो । सनमसँगै टेकराज मल्ल, कृष्ण भनिने नरेन्द्र कार्की र मोहन काफ्लेलाई नियन्त्रणमा लिएर काठमाडौंबाट मोरङ पुर्याइयो । गाडिमा उनीहरुलाई त्यति टाढा पुर्याइँदा पनि पनि प्रहरीबाट कुनै हस्तक्षेप भएन ।
नियन्त्रणमा परेका चारै जना गोरेको सहयोगी र भरियाको रुपमा विगतमा काम गरिसकेका थिए । सुन कहाँ छ भन्दै उनीहरुलाई यातना दिन थालियो । करेन्टको झड्का सहन नसकेर सनमको ज्यान गयो । अब गोरेलाई सुन खोज्ने मात्र होइन, सनमको शब ठेगान लगाउने जिम्मा पनि आइलाग्यो । यो बीचमा गोरे र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका सई बालकृष्ण सञ्जलेबीच संवाद भइरहेको थियो । शव ठेगान लगाउने, सुन खोज्ने र यसवापत सइ सन्जेलले रकम पाउने सहमति भयो ।