मधुमल्ला/ पर्यटनको प्रचूर सम्भाव्यता रहेपनि चुली पोखरीको प्रचार प्रसार र प्रवद्रधन नहुँदा सुनसान स्थल बनेको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मोरङ मिक्लाजुङ–२ मा अवस्थित यो पोखरी पर्याप्त प्रसार प्रसार नहुँदा ओझेलमा परेको हो ।

घना जंगलले ढाकेको चुली पोखरीबाट प्रकृतिको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । पोखरीको दक्षिणपूर्व पट्टि देखिने डूब्लू हिलले यस क्षेत्रमा पर्यटक स्वागत गर्न आतुर छ । स्थानीय रुद्र भण्डारी भन्छन् ‘प्राकृतिक रुपमा डब्लू आकारको पहाडले वेलकम हिलको संकेत गर्छ ।’ परापूर्व कालमा चुली पोखरीमा क्षेत्रमा राजा र रानी नाम गरिएको दुईवटा पोखरी थिए । कालान्तरमा पश्चिममा रहेको रानी पोखरी सुकेपछि राजा पोखरी मात्र रहन पुगेको भन्ने जनविश्वास रहेको पाइन्छ ।

उर्लाबारीको किशान चोकदेखि १५ किलोमिटर उत्तर क्षेत्रमा अवस्थित चुली पोखरीबाट डब्लू हिल, मिक्लाजुङ राजारानी र पुत्र बुद्धको उत्पत्ति स्थल कुईँनेटार र बुद्धटार आकर्षण रहेका छन् । चुली पोखरी पुग्नका लागि किशान चौक र उर्लाबारी चोक उत्तरबाट जान सकिन्छ । किशान चोकदेखि टाँडीको धोबेनी, साखरे हुँदै चुली पोखरी पुगिन्छ । उर्लाबारी चोकबाट मधुमल्ला, तोरीबारी, कुइँनेटार, बुद्धटार हँुदै चुली पोखरी पुग्न सकिन्छ ।

सडक, विद्युत र खानेपानीको अभाव भएकाले पनि पर्यटन आगमनमा कठिनाई हुने गरेको भण्डारी बताउँछन् । भन्छन् ‘खानेपानी र सडक भइदिएको भए, यहाँ पर्यटक आउथेँ ।’ चुली पोखरी क्षेत्रमा ३५ घर रहेका छन् । यसैबीच, चुली पोखरीको प्रवद्र्धनका लागि मिक्लाजुङ गाउँपालिकाले चासो देखाएको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले चुली पोखरीको प्रवद्र्धन र प्रचार प्रसार गर्नका लागि योजना बनाएर अघि बढ्ने बताए । गाउँपालिबाट बजेट विनियोजन गरेर त्यस क्षेत्रको विकास गर्दै कला÷संस्कृतिको विकासमा जोड दिने आचार्यको भनाइ छ ।