पानवारी । नेपाल खानेपानी संस्थान धरान शाखाको बिल काउण्टरबाट आर्थिक रकम हिनामिना गरेको खुल्दै गएको छ ।
बिल काउण्टरका कर्मचारीले उपभोक्ताहरुलाई अस्पष्ट बिल थमाएर आर्थिक रकम हिनामिना गरेको बुझिएको छ । गोप्य स्रोतले दिएको जानकारी अनुसार ‘कर्मचारीले नियत राखेर नै वर्षाैदेखि अस्पष्ट बिल दिने र खातामा विवरण चढाउदा आफ्नो अनुकुल चढाएर लाखौ रुपैया हिनामिना गर्ने गरेका छन् ।’ हिनामिना भएको रकम काउण्टरका कर्मचारीदेखि माथिल्लो ओहोदाको कर्मचारीसम्म भागबण्डा हुने गरेको समेत स्रोतको दाबी छ । खानेपानी संस्थानको धरान शाखाले महिनाको ५० लाखदेखि ७० लाखसम्म रकम संकलन गर्ने गरेको छ । संस्थानबाट धरानमा १९ हजार २ सय भन्दा बढी धारा वितरण गरिएको छ ।
महशुल शाखामा अहिले ४ जना काउण्टरमा, ८ जना खातामा चढाउने काममा, १ जना कार्यालय सहयोगी, १ जना वैकल्पिक काम गर्ने र १ जना कार्यालय प्रमुख गरी १५ जना कर्मचारी कार्यरत रहेका छन् । यतिका धेरै कर्मचारी काम गर्ने कार्यालयमा पनि कर्मचारी कम भएकोले दबाबमा काम गर्दा अक्षर नबुझिने भएको भन्दै महशुल शाखा प्रमुख नरेन्द्रकुमार पेयुङ पन्छिए । त्यसो त कार्यालयमा १० बजेदेखि ३ बजेसम्म उपभोक्ताबाट रकम संकलन गर्ने र ३ बजेदेखि ५ बजेसम्म संकलन भएको रकमको विवरण राख्न समय छुट्याइएको छ । यस्तो व्यवस्थित सिस्टम हुँदा हुदै अस्पष्ट बिल दिनु भनेको आर्थिक अनियमितता गर्ने ठाउँ बनाउनु भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।
नेपाल खानेपानी संस्थानको काउण्टरबाट दिने बिलमा उपभोक्ताले तिर्ने रकमदेखि, मिति, अवधि, उपभोत्ताको नाम, बुझिलिनेको सहि लेख्ने कोलम स्पष्ट भएपनि जथाभावी विवरण लेखेर दिने गरेको पाइएको छ । राजस्व संकलन गर्ने जस्तो संवेदनशिल काममा नबुझिने गरी अस्पष्ट बिल दिदा समेत सम्बन्धित निकायले समेत खोजी गरेको पाइदैन ।
बिलमा रकम अस्पष्ट त हुन्छ नै अक्षरेपी त अहिलेसम्म कुनैपनि बिलमा लेखेको पाइदैन भने बुझिलिनेको हस्ताक्षर समेत कुनैपनि बिलमा गरिएको हुदैन । संस्थानले दिने गरेको ग्राहक महशुल कार्डमा २ वर्षदेखिको विवरण राखिएको हुन्छ । सो कार्डमा बिल तिर्नुपर्ने अवधी (महिना), संकलन रकम, रसिद नं., बुझिलिनेको हस्ताक्षर र मिति सहितको २ वर्षको विवरण हुन्छ तर त्यस कार्डमा भरिएको विवरण पनि स्वंम विवरण भर्ने कर्मचारीले समेत बुझ्दैनन् । खानेपानी संस्थान धरान शाखा प्रमुख रामकुमार श्रेष्ठले भने कमजोरी स्वीकार गरेका छन् । उनले भने–‘हामी तुरुन्त यसलाई सच्याएर जान्छौ ।’ खानेपानी संस्थानले गरेको लापरवाही बाहिर आइसक्दा समेत त्यसलाई सच्याउने तर्फ ध्यान दिएको पाइएन । उनले लेखा प्रमुख बिदामा भएकोले लेखा प्रमुख आएपछि मात्र कार्यालयमा बैठक राखेर छलफल गरिने बताए ।
धेरै सरकारी कार्यालयमा कम्प्युटराइज बिलिङ सिस्टम आइ सकेको भएपनि विविध कारण देखाउदै खानेपानी संस्थान धरानमा भने कम्प्युटराइज बिलिङ सिस्टम राखिएको छैन । अनियमितता गर्न विभिन्न कारण देखाएर बिलिङ सिस्टम नराखिएको स्रोतले बताएको छ । त्यसो त खानेपानीको महशुल काउण्टर भएको भवन साघुरो स्थानमा छ । पार्किङको सुविधा छैन, बिल तिर्ने उपभोक्ताहरु बाटोमा नै लाइन लाग्नुपर्ने बाध्यता छ । साघुरो ठाउँमा बसेर बिल तिर्नुपर्ने भएकोले सोही अवस्थाको फाइदा कर्मचारीले उठाएको खानेपानीको महशुल तिर्न आएका धरान–१६ का रामप्रसाद खनालले दाबी गरे ।
काउण्टरमा बसेका कर्मचारीले काटेको बिल धेरैजसो नबुझिने गरेको खातामा चढाउने एक कर्मचारीले स्वीकार गरेका छन् । उनका अनुसार धेरै बिलहरु बुझिदैन, मैले मात्र होइन काट्ने कर्मचारी स्वयमले समेत बुझ्दैनन्, नबुझेपछि अनुमानका भरमा रकम चढाइन्छ ।