सुनसरी/ एक नम्बर प्रदेशको भारतको सिमा क्षेत्र जोगवनी देखि विराटनगर हुदै तरहरा सम्म मोनोरेल सञ्चालनमा ल्याईने भएको छ । निजि क्षेत्रको लगानीमा बिधुतिय शहरी पारवहन मोनोरेल सञ्चालनका लागि विस्तृत परियाेजना प्रतिवेदन (डिपिआर) को काम अगाडी बढाईएको छ ।

लामो दुरी पनि छोटै समयमा यात्रा गर्न सकिने मोनोरेलले ३५ किलोमिटरको दुरी १० देखि १५ मिनेटमा यात्रा गर्छ । बिराट मनोरेल इन्टरनेशनल प्रालीले संचालनमा ल्याउन लागिएको र यो परियोजनामा बिदेशी लगानी समेत हुने बताइएको छ । राजमार्गसँगै पोल निर्माण गरि माथीबाट मनोरेल चलाइने तयारी गरेको कम्पनीले जनाएको छ ।  एक नम्बर प्रदेश अन्तर्गत  बिराटनगरबाट सुरुवात गर्न लागेको बिराट मनोरेल इन्टरनेशनल प्रालीले जोगवनी,विराटनगर,दुहवी इटहरी हुदै तरहरा सम्म यात्रुहरु वोक्ने र अर्को चरणमा भने बिराटचौकदेखि झापा–इलाम सम्म, इटहरीदेखि कोशी ब्यारेज सम्म मनोरेल चलाउने योजना रहेको कम्पनीका निर्देशक कोवितजङ्ग कार्कीले बताए ।

उनका अनुसार मनोरेल तराई क्षेत्रमा मात्र संचालन गर्ने प्राविधिक प्रावधान रहेकाले प्रदेश नम्बर १ को समथल क्षेत्रमा यसलाई चलाउने योजना छ ।  शहरी क्षेत्रमा कहाँ-कहाँ स्टेशन राख्ने भन्ने विषयमा समेत स्थानीय निकायका जनप्रतिनिधिहरु सँग कुरा भईरहेको कम्पनीका निर्देशक कार्कीको भनाई थियो । अहिले हामी सर्बेको काम गरीरहेको छौ चाडै एक नम्बर प्रदेशका केहि शहरमा मोनोरेल कुद्न थाल्छ निर्देशक कार्कीले भने । ६० प्रतिशत लगानी कर्ता सचालक समिति मार्फत गरेका छौँ , बाँकी ४० प्रतिशत सेयर बिक्रि गर्ने तयारी छ उनले भने ।  कम्पनीका प्रबन्ध निर्देशक काजीमान आत्रेयका अनुसार सरकारसँग सम्झौता गरि ३० वर्ष सम्म निजि स्तरमा चलाइने र त्यसपछि उक्त परियोजना समेत सबै किसिमको ब्यवस्थापन सरकारलाई हस्तान्तरण गरिने छ । ‘हामिले प्राविधिक पक्ष केन्द्रित अध्ययन अनुसन्धान थालेका छौँ, इन्जिनेरिङ्ग प्रावधान अनुसार यसको कतिओटा स्टेशन हुनेछ, त्यो भने पछि तय गरिनेछ तर निकै कम समयमा मान्छेले आवत-जावत गर्न सकुन अनि पछिल्लो प्रविधिको विकासमा हाम्रो भागेदारी समेत होस’ भन्ने हाम्रो उद्देश्य रहेको आत्रेयले भने ।

भारतको मुम्बई, गुडगाँउ, चेन्नाइ, समेत सिँगापुर, हङ्गकङ्ग, जपान, कोलालमपुर लगायतका शहरहरुमा सस्तो र आरामदायी सवारी साधनको रुपमा मनोरेल निकै लोकप्रिय मानिन्छ । कम्पनीका अध्यक्ष परमानन्द मेहताका अनुसार मनोरेल वातावरण मैतत्री पनि हुने भएको र पर्यटनको दृष्टिले पनि यो निकै आकर्षक सवारी साधनको रुपमा हुनेछ । ’१० देखि १५ मिनेटमा तरहरा देखि जोगवनीसम्म पुग्नेछन’ उनले भने ‘न ट्राफिकको समस्या न धुलो–धुँवा, यो आफैमा आकर्षक सवारी साधन हुनेछ ।’ उनका अनुसार सुरुमा ५ डब्बा भएको रेल ल्याइनेछ । मोनोरेल बिजुलीबाट चल्छ । यो बस भन्दा केही ठूलो र डिब्वा जोडिएको हुन्छ । जमिनबाट उठाइएको बिमको सहारामा एउटै ट्रयाकमा यो रेल गुड्छ । एउटै ट्रयाकमा गुड्ने भएकाले मोनो भनिएको हो । मोनो रेल कुदाउन ठाउँ-ठाउँमा पिलर गाडेर ट्रयाकलाई जोडिन्छ । मोनो रेलको पांग्राले ट्रयाकलाई दुवैतिरबाट समाउँछ । मोनोरेल बिजुलीबाट चल्छ । एकोहोरो ट्रयाक भएको भुइभन्दा माथि लिक बनाएर हिड्ने यातायातको साधन मोनोरेल हो ।