तेह्रथुम । हिउँदे र बर्खे आलु उत्पादनमा तेह्रथुम आत्मनिर्भर हुँदै गएको छ । किसानका खेतबारीमै पुगेर कृषि विकास कार्यालयले रोग प्रतिरोधात्मक र बढी उत्पादन दिने आलुका जात छनोट र खेतीका लागि सिफारिस गरिदिएपछि जिल्ला आलु उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख हुँदै गएको हो ।
कृषि विकास कार्यालयका अनुसार आव ०७४÷७५ को फागुन मसान्तसम्म यहाँबाट ६८ करोड ५१ लाख रूपैयाँभन्दा बढीको आलु जिल्लाबाहिर निर्यात भएको छ । चालू आवमा जिल्लामा ३४ हजार २ सय ५५ मेट्रिक टन आलु उत्पादन भएको कार्यालयले जनाएको छ । भातको सट्टा र खाजाको रूपमा खाइने तथा तरकारी र विभिन्न परिकार बनाउन प्रयोग गरिने आलु उत्पादनमा पछिल्ला वर्षमा तेह्रथुम आत्मनिर्भर बन्दै गएको वरिष्ठ कृषि विकास अधिकृत रोहिणीरमण घिमिरेले बताए । अघिल्ला वर्षहरूमा हिउँदका केही महिना पूर्वी तराई, भारत र भुटानका आलु ल्याउने गरेका यहाँका उपभोक्ताले अहिले स्थानीय आलु प्रयोग गर्ने गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष आलुको उत्पादनमा समेत वृद्धि भएको कार्यालयले जनाएको छ । धनकुटाको पाख्रीवासस्थित कृषि अनुसन्धान केन्द्रले तेह्रथुमसहित कोशी पहाडका जिल्लाका किसानलाई आलु खेतीतर्पm आकर्षित गर्न उच्च गुणस्तरको स्रोतबीउको प्रयोग, रोग अवरोधक जातको सिफारिस, जातीय शुद्धता, भौगोलिक अवस्थाअनुसार जातको छनोटलगायतका काममा किसानलाई सहयोग गरिरहेको छ । कृषि विकास कार्यालयले पनि आलु खेती गर्ने किसानका खेतबारीमै पुगेर रोग अवरोधक र बढी उत्पादन दिने जातहरू खुमल रातो २, खुमल सेतो १, जनकदेव, आईपीवाई ८ र खुमल लक्ष्मी जातका आलु रोप्न किसानलाई प्रोत्साहित गरिरहेको छ । यी जातका आलु डढुवा रोग अवरोधीसमेत हुन् । आलुको बजार मूल्य राम्रो भएको र बजारको समेत समस्या नभएकाले धेरै किसान हिउँदे र बर्खे आलुको व्यावसायिक खेतीमा लागेका छन् । कृषि विकास कार्यालयले भू–बनोट र मौसमअनुसार आलुको जात छनोट गरिदिएपछि किसानलाई सजिलो भएको छ । आव ०७१÷७२ मा २ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमा विभिन्न जातका आलु खेती गरिएकोमा ०७२÷७३ मा क्षेत्रफल वढेर २ हजार ९ सय हेक्टर पुगेको कार्यालयले जनाएको छ । ०७४÷७५ मा पनि आलु खेती गरिने जमीनको क्षेत्रफल किसानले बढाएका छन् । आलुको व्यावसायिक खेतीप्रति किसानको आकर्षण बढेको देखेर कार्यालयले किसानलाई उन्नत बीउ र रोगव्याधी नियन्त्रणजस्ता प्रविधिबारे समेत तालीम दिइरहेको छ । जिल्लामा कुप्रीज्योति, डेजीरे, कार्डिनल, कुप्री सिन्धुरेलगायतका बढी उत्पादन दिने र भण्डारण गर्दा लामो समय टिकाउ हुने आलुको समेत व्यावसायिक खेती थालिएको वरिष्ठ कृषि विकास अधिकृत घिमिरेले बताए । यी जातका आलुमा डढेलो रोग सहने क्षमता बढी हुने गरेको प्राविधिकको भनाइ छ । आलु फलाउन सके व्यापारीले बारीमै आएर खरीद गर्ने गरेका छन् । यहाँ उत्पादन भएको ४० प्रतिशत आलु जिल्लाभित्रै खपत हुने र बाँकी बाहिरी जिल्लामा निर्यात हुने गरेको कार्यालयले जनाएको छ । हिउँदे उत्पादन जिल्लाभित्रै खपत हुने र बर्खे आलु भने पूर्वका विभिन्न जिल्ला तथा भारतका बजारमा समेत जाने गरेको छ । यहाँ उत्पादित आलुको बजार मूल्य प्रतिकेजी ४० देखि ६० रूपैयाँ छ । रातो आलुको मूल्य सेतोको तुलनामा केही महङ्गो छ । जिल्लाका सबै क्षेत्रमा आलु उत्पादन हुने गरेको छ । बर्खे २ हजार १ सय ९० र हिउँदे ७ सय ९० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती हुने गरेको कार्यालयको तथ्याङ्क छ ।