योनिको गन्ध प्रत्येक व्यक्तिको आ–आफ्नै किसिमको स्वाभाविक गन्ध हुन्छ । विशेष गरेर किशोरावस्थामा पुगेपछि हाम्रो छालामा भएका पसिना ग्रन्थिहरूको श्राव तथा त्यसमा जीवाणुका क्रियाकलापका कारणले यस्तो गन्ध उत्पन्न हुन्छ । विशेष गरेर किशोरावस्थामा ग्रन्थि हाम्रो काखीमा तथा यौनाङ्ग क्षेत्रमा पाइन्छ र यी नै हाम्रो शरीरको गन्धका लागि प्रमुख रूपमा जिम्मेवार हुन्छन् । त्यसबाहेक हाम्रो खाना, स्वास्थ स्थिति, हामीले सेवन गरेका केही औषधिले पनि हाम्रो शरीरको गन्धमा प्रभाव पार्छन् । तपाईंले याद गर्नुभएकै होला, पुरुष र महिलाको शरीरको गन्धमा पनि भिन्नता हुन्छ । समाधान के होला ? योनि तथा यौनाङ्ग क्षेत्रलाई सफा राख्ने । हल्का किसिमको साबुन–पानीले योनिको बाहिरी भाग प्रत्येक दिन धुने । दिसा–पिसाबपछि टिसु पेपरले पुछ्नहुन्छ भने अगाडि (योनि) तिरबाट पछाडि (मलद्वार) तिर लगेर पुछ्ने । पछिल्तिरबाट अघिल्तिर ल्याएर पुछ्दा मलद्वारमा भएका जीवाणु योनिमा सर्न सक्छन् । भित्री पहिरन (अन्डरवेयर) धेरै कसिलो तथा नाइलन, पोलिस्टर वा रेयोनले बनेको हुनु हुँदैन । बरु सुतीले बनेको मात्र प्रयोग गर्ने । यौनाङ्ग क्षेत्रलाई ओभानो राख्नुपर्छ । धेरै गर्मी वा धेरै ओसिलो भए जीवाणुको संक्रमण हुने सम्भावना हुन्छ । सफा गर्न भनेर धेरैले योनिमा डुस दिन्छन् । स्वस्थ योनिले आफूलाई सफा गर्ने आफ्नै प्राकृतिक विधि हुन्छ । डुस दिने, कडा किसिमको साबुन वा डिओडेरान्टको प्रयोगले योनिको प्राकृतिक अवस्थामा असन्तुलन ल्याउँछ र संक्रमणलाई बढावा मिल्छ । भित्री पहिरन (अन्डरवेयर) दिनहुँ फेर्नुपर्छ । पर्याप्त मात्रामा पानी पिउनुपर्छ जसले गर्द पिसाब सफा होस् । अत्यधिक सुगन्धित साबुन, टेम्पोन, प्याड, स्प्रे वा बबल वाथ जस्ता कुरा प्रयोग नगर्दा संक्रमणको सम्भावना कम हुन्छ । यौनसम्पर्कका कारणले नै योनि तथा प्रजनन अङ्गमा संक्रमण हुन सक्ने भएकाले यसलाई कन्डमको प्रयोगबाट सुरक्षित बनाउनुपर्छ । यदि यौनसम्पर्क राख्नबाट परहेज गर्न सकिँदैन भने यौनरोग लागे–नलागेको निदान गरेर यौन साथीसहित आफ्नो पनि पूर्ण उपचार गर्नुपर्छ ।