धरान । दशवर्षको उमेरमा आमाको मायालु कोख उजाडिएपछि मोरङ बयरवन–६ का ज्ञानबहादुर माझीका सपनाहरू पनि टुँटे । आमाले संसार छाडेपछि उनका दुःखका दिन सुरु भए । ओठबाट हाँसोले सदाको लागि विदा लियो । जव बुबाले कान्छी आमा भित्रयाए । उनी त्यहीदिनदेखि तिरस्कृत बन्दै गए । बुबा र कान्छीआमाको कटुबचनले उनलाई बाख्रो गोठालो बन्न बाध्य बनायो । गाउँमै प्रतिमहिना १० रूपैयामा १७ वर्ष गोठालो बने । २०२८ सालमा आमाको निधनले पढाइ खोसियो, घर खोसियो । ५३ वर्षीय माझीलाई अहिले पनि आमाको भनाइ झलझलि याद आउँछ । भन्छन्, ‘मेरो छोराले के गरेर खान्छ भन्नुहुन्थ्यो ?’ किनकी उनले थाहा पाउँदा उनको दुबै हात चल्दैन थिए । अपाङ्ग झै थिए उनी । ‘बुबाले दोस्रो श्रीमती ल्याएपछि गाली गर्ने, कान्छीआमाकै कुरा सुनेर खानासमेत नदिने । त्यसपछि पेट पाल्नुको लागि पनि गोठालो काम गरेँ ।’ उनी विगत स्मरण गर्दै भन्छन् । घरको जेठो ज्ञानबहादुर लगभग अपाङ्ग जीवन भएकै कारण बुबा र कान्छीआमाको मायाबाट तिरस्कृत हुनु परेको थियो । त्यही तिरस्कारले उनलाई गोठाला बनायो । किताबकापी च्यापे उमेरमा उनी गोठाला जीवन बाँचे । उनको दैनिकी नै गाईबाख्रा चराउनु, गोठमा सुत्नु, खानु । उनको साथीसङ्गी पनि त्यही गाईबाख्रा नै हुन्थे । २०४५ सालसम्म उनी निरन्तर गोठाले जीवन व्यतित गरे । जतिखेर उनले मासिक ५० रूपैया महिना पाउँथे । त्यहीक्रममा माइला भाइ (भरत माझी) धरानमा मिस्त्री काम गर्थे । भाइ दशैंमा गाउँ गएका बेला धरान आउन सल्लाह दिए । धरान आए, एकसाता भाइको भाडाको घरमा बसे । ‘सधैभरी भाइको घरमा मात्रै बसेर नहुने । फेरि गाउँ नै गएँ ।’ उनी भन्छन्, ‘२०४५ साल मंसिरमा फेरि धरान आएँ ।’ धरान आएपछि धरानका महेश दाहालसँग परिचय भयो । दाहालले नै सुरु–सुरुमा काम लगाए । उनले पुस्तकहरू यतादेखि उता पुर्याउने काम दिए । ‘सकीनसकी पुर्याउँथे ।’ उनी भन्छन्, ‘पछि उनैले सेन्ट्रल बोर्डिङ (हालको कारमेल बोर्डिङ स्कुल) मा पियन काममा हालिदिएँ । एकमहिना गरेँ ।’ गाउँमा सुनसानमा बसेको मान्छे शहरको होहल्लामा वाक्कदिक्क भए । फेरि गाउँ नै गए । गाउँ गएको केही समयपछि धरान फर्किएको उनी अन्तत त्यही पियन जागिरले १२ वर्ष धरानमा टिकायो । अव ‘मेरो यही काम रै’छ’ भन्ने लागेर त्यही बोर्डिङ ७ सय रूपैया प्रतिमहिनामा काम गर्न थालेको उनी बताउँछन् । १२ वर्ष काम गरेपछि उनी पत्रिका बेच्न थाले । तत्कालीन समयमा विजुली अफिस छेउमा रहेको पत्रिकाको २० प्रति बोकेर दिनभरी डुले । दिनभरीमा एकप्रति मात्रै बिक्री भएपछि यसबाट खान नपुग्ने निचोड निकाले । त्यहाँबाट उनी ब्लाष्ट दैनिकको छापाखानामा आए । पत्रिका बेच्नको लागि कुरा गर्दा धरौटी राख्नुपर्छ भन्दै भनेपछि सुरुमा त उनी झस्किए । किनकी उनीसँग धरौटी राख्ने एकरूपैया थिएन । फेरि महेश दाहाल कै नाम लिएपछि अफिसले पत्रिका बेच्नको लागि अनुमति दियो । पहिलो दिन २० प्रति पत्रिका बेचे । क्षणभरमै पत्रिका बिक्न थालेपछि ३०, ५० हुँदै ३ सय प्रतिसम्म ब्लाष्ट बेचेको स्मरण गर्छन् । अहिले पनि पत्रिका बेचेरै गुजारा गर्छन् । तर, विगत ८ महिना यतादेखि उनको बायाँ हात भाच्चिएपछि पत्रिका बेच्ने काम पनि थाती राखेका छन् । हरेक नेपालीको एउटा सपना हुन्छ, जग्गा जोड्ने र घर बनाउने । धरानमा चिटिक्क परेका घर देख्दा उनलाई पनि लाग्थ्यो ‘मेरो पनि यस्तो घर भइदिए’ । ‘सपना देखेरै मात्रै के गर्ने ?’ उनले भने । पेट पाल्न धौ–धौ भएका बेला घरको सपना बुन्नु फगत झै लाग्थ्यो उनलाई । तर अहिले उनको सपनाको महल बनेको छ । चिटिक्कको घरमा बस्ने कामना पूरा भएको छ । पत्रकार जनकऋषी राईको सक्रियतामा उनको घर ठडिएको छ । ज्ञानबहादुरको सपनाको महल ठडिएको छ । उनी भन्छन्, ‘यस्तो घरमा बस्छु भन्ने सोच पनि थिएन । पत्रकारको कारणले आज सपनाको महल नै बनेको छ मेरो लागि ।’ १७ वर्ष गोठाले जीवन त्यागेर धरान हान्निएका उनले स्कुलमा पियन काम गर्दा र पत्रिका बेचेको २४ हजार रूपैयाले सुकुम्बासीबस्तीमा घडेरी जोडेका थिए । सातहजार रूपैयामा करिव १५ धुर जग्गा किनेर बाँसको घर बनाएर बसेका उनलाई पत्रकारहरूले निर्माण गरिदिएको नयाँ घर विश्व मजदुर दिवसको अघिल्लो दिन मात्रै हस्तान्तरण गरे । सातवर्षको उमेरमा आमाको निधनले उडेको हाँसो बल्ल उनको ओठमा पुनः देखिन थालेको छ । भन्छन्, ‘उहाँकै (आमा) आर्शिवादले होला म धरान आइपुगेको ।’ उनको जीवनमा पुनः हासो भित्रयाउनमा पत्रकार जनकऋषि राई, विकास चाम्लिङ राईलगायत पत्रकारले भूमिका खेले । जसले साढे ३ लाख रूपैयाको लागतमा घर निर्माण मात्रै गरिदिएनन् ४५ हजार रूपैया बैंकमासमेत जम्मा गरिदिएका छन् । कर्ममा विश्वास राख्ने माझी अहिले पनि काम गर्न पाउँ भन्ने धारणा राख्छन् ।