विजयपुर । मोरङको केराबारी गाउँपालिकाले कृषि, पर्यटन र स्वरोजगार कार्यक्रमलाई प्राथमिकतामा राखेर ‘खदम केराबारी, समृद्ध एवम् हरियाली’ अभियान शुरु गरेको छ । गाउँपालिका ‘गाउँ विकास योजना’ नै तयार गरेर विकास निर्माणमा लागिपरेको छ । मोरङ जिल्लाको सबैभन्दा ठूलो गाउँपालिकासमेत रहेको केराबारीलाई कृषि, पर्यटन र स्वरोजगार सिर्जना तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना बनाइएको गापा अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिए । केराबारी गापाको भौतिक, सामाजिक, आर्थिक स्तरोन्नति गर्दै सार्वजनिक सेवामा नागरिकको सहज पहुँच विस्तार गर्ने लक्ष्य लिइएको अध्यक्ष कार्कीले बताए । उनले विकास निर्माणको अभियानमा गाउँवासीसँग सहकार्य गरी अगाडि बढ्ने नीति लिइएको पनि बताए । दीर्घकालीन योजनाको विस्तार, आर्थिक समृद्धिका लागि स्वरोजगारमूलक कार्यक्रम सञ्चालन, आधुनिक कृषि प्रणालीको विकास तथा बजारको व्यवस्थापन, पर्यटकीय गन्तव्यको पहिचान र विकास, पिछडिएको क्षेत्र तथा निम्न वर्गका नागरिकहरूसँग दिगो विकासका योजनामा सहकार्य गर्ने जस्ता कार्यनीति गापाले लिएको छ । सबैका लागि सामान शिक्षा, स्वास्थ्यमा समान पहुँच तथा विद्युतीय सुशासन प्रणालीलाई आत्मसात् गर्ने नीति पनि गापाले लिएको छ । प्रत्येक वडामा सडक सञ्जाल विस्तार गर्ने, नागरिकमैत्री कर प्रणाली लागू गर्ने, शिक्षा र खेलकुदलाई उच्च महŒवका साथ अगाडि बढाउने, बाह्य लगानी भित्र्याउन पहल गर्ने, स्थानीयको आयस्तरमा सुधार गर्न कृषिमा आधुनिकीकरण गर्ने, पर्यटनको विकास गर्ने तथा युवालाई स्वरोजगार बन्न प्रेरित गर्ने, सार्वजनिक जमीनको संरक्षण तथा वन–जङ्गलको संरक्षण गर्ने नीतिलाई पनि प्राथमिकतामा राखिएको अध्यक्ष कार्कीले बताए । ‘प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेका क्षेत्रको पहिचान गर्ने र जोखिम न्यूनीकरणका लािग आवश्यक कार्य गर्ने गाउँपालिकाको कार्ययोजना रहेको छ’, अध्यक्ष कार्कीले भने, ‘पर्याप्त बजेटको अभावमा हामीले सोचेअनुसारको कार्य गर्न सकेका छैनौँ तर हाम्रो स्रोत र साधनले भ्याएसम्म आवश्यक काम गरिरहेका छौँ ।’ चुरे खदम क्षेत्रको विकासका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माण गरी क्रमिक रूपमा कार्यान्वयन गर्दै जाने गापाको सोच रहेको कार्कीको भनाइ छ । गापाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बूका अनुसार गाउँपालिकाले पूर्वाधार निर्माणतर्पm क्रमागत योजनालाई प्राथमिकता दिइएको बताइन् । उनले गापाको सडक निर्माण गर्दा मापदण्डलाई कडाइका साथ कार्यान्वयन गरिएको जनाइन् । स्थानीय स्तरमा सञ्चालन भइरहेका उद्योगलाई प्रोत्साहन गर्ने तथा महिला तथा युवाले सञ्चालन गर्ने उद्योगलाई प्राथमिकताका साथ हौसला प्रदान गर्ने नीति गापाको भएको उनले बताइन् ।