मोरङ/नेपाल र नेपाल बाहिर रहेका नेपाली भाषी साहित्यकारहरुको संगठन नेपाली साहित्य संसारले नेपाली भाषा र साहित्यको विस्तारमा विश्वव्यापी अभियानलाई थप व्यवस्थित गर्ने भएको छ ।   नयाँ अवधारणाको घोषणा सहित भूटानका भोलानाथ शिवाकोटी पुरानाघरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सन् २०१८ देखि २०२० सम्मको कार्यकालका लागि उपाध्यक्षमा रमेश भट्टराई ( पोर्चुगल), सचिवमा सिर्जन अविरल (नेपाल), उपसचिवमा उत्तम शर्मा ( साउदीअरब), कोषाध्यक्षमा मनिषा प्रसाई ( इजरायल) रहेका छन् । सदस्यमा, नारायण कँडरिया (नेपाल), अगिन्द्रा खुसी ( झापा, नेपाल),अजयसुगम खनाल ( अफ्रिका), सुमी पौडेल ( पोर्चुगल), सुनील वोहोरा ( नेपाल) र अर्जुन न्यौपाने ( भारत) रएको अध्यक्ष पुरानाघरेले जनाए । कार्यक्रम व्यवस्थापन र सहभागिता समायोजनका लागि अफ्रिकाबाट कार्यसमिति सदस्य अजयसुगम खनाल र नेपालबाट नारायण कडरिया कार्यक्रम निर्देशक रहने छन् ।समितिको संरक्षक र सल्लाहकार समिति १ महिनाभित्र निर्माण गरिने उल्लेख छ । मोरङको पथरीशनिश्चरे शिविरबाट हाल अमेरिकामा पुनर्वास भएका पुरानाघरेको अगुवाईमा ०७३ वैशाख २० मा स्थापना भएको अनलाइनमार्फत साहित्यिक गतिविधिमा विश्वमा नेपाली साहित्यलाई जोड्दै आउने महत्वपूर्ण गतिविधिमा सक्रिय छ । युरोपको डेनमार्कस्थित स्कन्दबोर्ग शहरबाट युवा सर्जक रमेश भट्टराईंको परिकल्पनामा साहित्य सन्ध्याको नामबाट अनलाइनमा अनौपचारिक रुपमा साहित्यिक गतिविधि शुरू भएको थियो । झापा घर भई इजरायललाई कर्मभूमि बनाएकी स्रष्टा मनिषा प्रसाईंले अहिलेसम्म सबै भन्दा बढी १ सय ५० माथि श्रृंखला सञ्चालन गरेर सर्वसक्रिय तथा प्रतिभावान सञ्चालक बनेकी छन् । अमेरिकाबाट साहित्यकार कृष्ण धराबासीले साप्ताहिक लिला लाइभ पनि नेपाली साहित्य संसारको साप्ताहिक सारथीका रूपमा सञ्चालन हुने छ । त्यसै गरी नेपालको राजधानीबाट त्रिविका सहायक प्राध्यापक महेश पौडेलले फेसबुकबाट सञ्चालन गरिरहेको लाइभ भिडियो कार्यक्रम पनि अझ व्यवस्थित गरी नेपाली साहित्य संसारको साप्ताहिक कार्यक्रमको गरिमामय स्तम्भमा स्थापित हुने उल्लेख छ । त्यस्तै, पारस आचार्य, रमेश भट्टराई, उत्तम शर्मा, अजय सुगम खनाल, सारदा पौडेल, सारदा राई, शुमी पौडेल, भावना न्यौपाने, खगिन्द्रा खुसी, एसबी क्षेत्री, लगायत दुई दर्जन जति स्रष्टाहरू संसारभरबाट पालै पालो कार्यक्रम सञ्चालन गर्दैछन् । साहित्य सन्ध्याका कार्यक्रमहरूमा नेपाल, भारत, बेलायत, अमेरिका, क्यानाडा, अष्ट्रेलिया, इजरायल, खाडिराष्ट्र लगायत विश्वका ५० भन्दा बढी मुलुकहरूबाट प्रत्यक्ष सहभागिता हुने गरेको छ । हालसम्म यस सञ्जालमार्फत पाँच सयको हाराहारीमा अन्लाइनमा कार्यक्रम उत्पादन तथा प्रत्यक्ष प्रसारण गरिसकेको छ । यस सञ्जालमा तपाईंको सिर्जना मेरो आवाज, तपाईंको सिर्जना तपाईंको आवाज, स्रष्टा परिचय, साझा प्रयास लगायतका विभिन्न नामबाट प्रसारित कार्यक्रमहरू लाखौं दर्शक र सहभागीहरूले अवलोकन गरिसकेको संस्थाको भनाई छ ।