काठमाडौं/ नेकपा माओवादी केन्द्रका नेताहरुले सरकाको नीति तथा कार्यक्रम र बजेट प्रक्रिया अपादर्शी भएको भन्दै असन्तुष्ट जनाएपछि प्रधानमन्त्री केपी ओली त्यस विषयमा फेरी अर्थमन्त्री र माओवादी शीर्ष नेताहरु सहित विस्तृत छलफल गर्न तयार भएका छन्।

नीति तथा कार्यक्रम र बजेटबारे विस्तृत छलफल गर्न बिहीबार अर्थमन्त्री, मोआवादीका शीर्ष नेता लगायतको बैठक डाक्न प्रधानमन्त्री ओली तयार भएका हुन् । सरकारले एकलौटी ढंगबाट बजेट प्रस्तुत गर्न लागेको भन्दै आफ्ना पार्टीका नेताहरुले असन्तुष्ट जनाएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल त्यसबारे स्पष्ट हुन बुधबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।

स्रोतका अनुसार करिव तीन घण्टासम्म चलेको छलफलमा माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीको सोमबारको ट्विटबारे प्रश्न उठाएका छन् । र, त्यस विषयमा सबैभन्दा धेरै समय उनीहरुले खर्चिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार ‘हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं। आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ। लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ। किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।’ भन्ने ट्विट गरेका थिए।

हामी विकास र समृद्धिको एजेण्डामा हिंडिरहेका छौं।आफ्नो दुनो सोझ्याउन समीकरण फेरबदलमा मात्रै बानी परेकालाई यसप्रति अरुची हुन सक्छ।लोकतन्त्रमा जनता बलिया हुन्छन् र त्यसको प्रतिबिम्ब सरकारका काममा देखापर्छ।किनकी सरकारले जनताबाटै कार्यादेश लिएको हुन्छ । सार्वभौमसत्ता जनतामा थियो र छ ।

ट्वीट आफूप्रति लक्षित भएको आशंकामा माओवादी अध्यक्ष दाहालले ‘तपाईको हिजोको ट्विटको प्रति लक्षित थियो प्रश्न प्रधानमन्त्री ओली समक्ष तेर्साएका थिए।

जवाफमा प्रधानमन्त्रीले ओलीले ‘त्यो ट्विट मैले गरेको होइन, मैले एक ठाउँमा बोलेको कुरालाई आधार बनाएर मेरा कार्यालयका साथीले ट्वीट गरिदिएछन्। जुन तपाईहरुप्रति लक्षित होइन । साथीहरुबाट गल्ति भएको छ । दिन चाहेको को सन्देशलाई हामी प्रस्ट्याउने छौं।’

यस्तै दुवै दलको सहमतिमा निती तथा कार्यक्रम, बजेट लगायत अन्य सरकारी कामकारवाही अघि बढाउन पनि माओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाएका छन्।

‘चुनावी घोषणापत्र अनुसार नै हामीले बजेट ल्याउनुपर्छ । बजेटका प्राथमिकता र सिद्धान्तमा हाम्रो समझदारी हुनु पर्छ’, दाहाललाई उद्धिद गदैै स्रोतले भन्यो ।

जवाफमा प्रधानमन्त्री ओलीले समझदारीमै काम अघि बढाउन खोजिरहेको र त्यसमा शंका नगर्न माओवादी अध्यक्ष दाहाललाई आग्रह गरेका थिए।

बुधबारको छलफलमा पार्टी एकीकरणको विषयले भने प्राथमिकता पाउन नसकेको स्रोतका भनाई छ। प्रधानमन्त्री ओली र दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरिसकेपछि त्यसलाई गति दिनु पर्ने निचोडमा पुगेका छन्।

असमझदारी कायमै भएपछि ओली र दाहालले पार्टी एकीकरणलाई अघि बढाउन मुस्किल परेको स्रोत बताउँछ ।