पानवारी । सुनसरीमा यसै वर्षदैखि वैज्ञानिक वन व्यवस्थापन सुरु भएको छ । ‘वनको वैज्ञानिक वन व्यवस्थापन, राष्ट्र समृद्धिको मूल आधार’ भन्ने नाराका साथ विगत ६ वर्षअघिदैखि नेपाल सरकारले लागु गरेको वैज्ञान वन व्यवस्थापन सुनसरीमा पहिलो पटक सुरु भएको छ ।

जिल्ला बन अधिकृत राजेन्द्रप्रसाद निरौलाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सबै जिल्लामा लागु गरेर इमान्दार भइ वनबाट काठ निकाल्न सके विदेशबाट काठ आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । धरान चक्ला वनको ३३ सय ७५ हेक्टर क्षेत्रफल मध्ये २४ सय हेक्टरमा वैज्ञानिक वन व्यवस्थापनको काम सुरु भएको हो भने बाँकी वनमा भने पुरानै प्रणालि छनौट प्रणालि अपनाएर वन व्यवस्थापनको काम भइरहेको सुनसरीका जिल्ला वन अधिकृत राजेन्द्र प्रसाद निरौलाले जानकारी दिएका छन् । वैज्ञानिक वन व्यवस्थापनमा अपनाइने इरेगुलर सेल्टरउड सिस्टम विशेष गरी प्रकाश चाहिने साल प्रजातिहरु पाइने वनमा गरिन्छ ।

धरान चक्ला वनमा २४ सय हेक्टर क्षेत्रफलको जंगललाई ८० वर्षे चक्रिय प्रणाली अपनाएर वन व्यवस्थापनको कार्य भइरहेको सहायक वन अधिकृत सुरज निरौलाले जानकारी दिएका छन् । उनका अनुसार धरान चक्ला वनलाई ७ वटा  कम्पार्टमेन्टमा विभाजन गरी काम अघि बढाइएको छ । जसमा एउटा कम्पार्टमेन्टमा परम्परागत प्रणाली अपनाएर वन व्यवस्थापन गरिने छ भने बाँकी ६ वटा कम्पार्टमेन्टमा वैज्ञानिक वन व्यवस्थापन गरिनेछ ।

सहायक वन अधिकृत निरौलाले भने –‘सुनसरीको धरान चक्ला वनमा यसै वर्षदेखि सुरु भएको वैज्ञानिक वन व्यवस्थापन कार्यले वनलाई मात्र नभएर राष्ट्रलाई नै फाइदा पुग्नेछ । ६ वटा कम्पार्टमेन्टमा लागु हुने गरी सुरु भएको बन वैज्ञानिक वन व्यवस्थापन कार्यबाट वन क्षेत्रमा भएका रुखहरुको व्यवस्थापनका साथै सरकारको आम्दानीमा समेत वृद्धि हुन्छ ।’ उनले प्रत्येक सब कम्पार्टमेन्टलाई १०/१० वटा कुपमा विभाजन गरी कम्तिमा एक कुपमा ५ हेक्टर क्षेत्रफल हुने र प्रत्येक वर्ष एउटा कुपमा वैज्ञानिक वन व्यवस्थापन गरिने बताए ।

प्रत्येक कुपमा प्रतिहेक्टर १५ देखि २० वटा माउ रुख, पोल साइजमा भएका रुख र लाथ्रा साइजमा भएका रुखहरु राखेर ६० सेमि भन्दा बढी व्यास भएका सबै रुखहरु कटान गरि वन व्यवस्थापन गरिनेछ । यसरी वन व्यवस्थापन गर्दा वनमा भएका पुराना, बुढा रुखहरु वनबाट हट्ने र नयाँ रुखहरुको उत्पादन क्षमता बढ्ने भएकोले वनको उत्पादन क्षमता अत्याधिक रुपमा बढेर जाने निरौलाले बताए ।

उनले बाहिर हल्ला भएजस्तो सबै रुख काटेर वन सखाप पार्ने नभइ वनको चरणवद्ध ढंगले एउटा निश्चित क्षेत्रलाई ८० वर्ष लगाएर व्यवस्थापन गरिनु नै वैज्ञानिक वन व्यवस्थापन भएको भन्दै यसबाट सबैलाई फाइदा पुग्ने बताए । उनले वनको उत्पादन क्षमता बढ्नुका साथै पुराना रुखहरु हटाउदा निस्कने काठबाट सरकारले समेत राम्रो आम्दानी लिनसक्ने उनको दाबी छ । साथै एक वर्षमा कुनै एक कुप करिब ५ हेक्टर क्षेत्रमा मात्र वैज्ञानिक वन व्यवस्थापनको काम हुने भन्दै बाकी क्षेत्रमा नियमित जस्तै गरी वन संरक्षणको काम हुने बताए ।

सुनसरीमा पहिलो पटक सुरु भएको वैज्ञानिक वन व्यवस्थापन यस वर्षबाट राष्ट्रिय वनमा सुरु भइसकेको र सामुदायिक वनहरु मध्ये पाँचकन्या सामुदायिक वन र पानवारी सामुदायिक वनमा समेत यसैवर्षदेखि वैज्ञानिक वन व्यवस्थापनको काम सुरु हुने बताइएको छ ।