मोरङ/मोरङको पथरीशनिश्चरे नगरपालिका क्षेत्रको प्रोफाइल (पाश्र्वचित्र) तयार गर्नका लागि तथ्याङ्क संकलनको काम सुरु भएको छ ।

कमन इन्टरनेशनल मिडिया प्रालि विराटनगरमार्फत प्रत्येक वडाका २,२ जना गणकहरुबाट काम थालिएको संस्थाका निर्देशक धर्मराज ढकालले बताए । गणकहरुका लागि संस्थाले प्रारम्भिक अभिमुखीकरण तालिम प्रदान गरेर वडा-वडामा खटाएको छ । तथ्याङ्क कार्यालय मोरङका तथ्याङ्क अधिकृत सुमन श्रेष्ठ, प्राध्यापक डाक्टर सोम खतिवडा सहितले तालिम प्रदान गरेका थिए ।

पारिवारिक, वैवाहिक, जनसांख्यिक, आर्थिक, शैक्षिक, कृषि, व्यबसाय, उद्योग, स्वास्थ्य, घर संख्या सहितका तथ्याङ्कहरु संकलन गरी नगरको समग्र वस्तुस्थितीको प्रोफाइल तयार गरिने छ । यस भित्र घर क्रम संख्या, पारिवारिक क्रम संख्या, घरको जियोकोड, परिवारको मातृभाषा, शैक्षिकस्तर, १ वर्षभित्र मृत्यु भएका सदस्यको विवरण, मृत्युको कारण, खानेपानीको स्रोत, खाना पकाउन प्रयोग गर्ने मुख्य इन्धन, बत्तीको मुख्य स्रोत, शौचालयको प्रकारको तथ्याङ्क संकलन हुनेछ । यस्तैगरी, रेडियो, मोवाइल, टेलिभिजन, इन्टरनेट, कम्प्युटर, रेफ्रिजेरेटर, मोटरसाइकल, कारको विवरण पनि संकलन हुनेछ ।

परिवारले कृषि कार्यका लागि प्रयोग गरेको जग्गाको क्षेत्रफल, वार्षिक बाली उत्पादन तथा विक्री, पशु पंक्षी, माछा, मौरी, र रेशम पालनको विवरण पनि फारममा संकलन हुनेछ । आफ्नो उत्पादनले खान पुग्ने समय, विगत ३ वर्षमा परिवारका सदस्यले व्यवसायिक तालिम लिएको अवस्था, बैंक वा वित्तिय संस्थामा खाता, परिवारको सरदर वार्षिक आम्दामी र खर्च, घरको जग कस्तो छ, भवन मापदण्ड अनुसारको छ कि छैन साथै भूकम्प प्रतिरोधि छ कि छैन भन्ने हिसावले पनि जानकारी राखिने छ ।

यसका साथै नगरपालिकाले संस्थागत तथ्याङ्क फारम छुट्टै भर्नुपर्ने हुन्छ । त्यसमा नगरपालिका कार्यालयमा भएका विभिन्न विषय र क्षेत्रका विवरण उल्लेख गर्नुपर्ने हुन्छ ।

पथरी, शनिश्चरे र हसन्दह गाविस मिलेर वनेको नगरपालिकामा १० वटा वडा रहेका छन् । ०७१ सालमा पथरी र शनिश्चरे गाउँविकास समिति मिलेर पथरीशनिश्चरे नगरपालिका वन्न पुग्यो । त्यसपछि ०७३ फागुन २७ गते हसन्दह गाविस समेत गाभिएर उही नामको नगरपालिकामा एकीकृत भएको हो ।

०६८ को जनगणना अनुसार नगरको जनसंख्या ६३ हजार रहेको भएपनि हाल १ लाखको हाराहारीमा नगरमा बसोवास गर्नेको संख्या पुगेको अनुमान छ । पथरी बजार क्षेत्र रहेको वडा नम्बर १ वाहेकका अन्य ९ वडा कृषिमा आधारित छन् । ३ वटा स्वास्थ्य चौकी, एउटा शहरी स्वास्थ्य क्लिनिक, २८ वटा सामुदायिक र ३४ वटा संस्थागत विद्यालय नगरमा छन् । यहाँ दर्ता भएका सहकारी संस्थाको संख्या ६८ छ । बैंक तथा वित्तिय संस्थाहरु १ दर्जन छन् । पूर्वपश्चिम लोकमार्गसँग ४ किलोमिटर र दक्षिणमा १३ किलोमिटरको क्षेत्रमा ७९ दशमलव ८१ वर्गकिलोमिटर क्षेत्रफलमा नगरपालिका फैलिएको छ । नगरमा कृषि र वन तथा सिमसारयुक्त पर्यटनको सम्भावना प्रवल छ ।

पथरी चोकबाट लेटाङको जाँते हुँदै पूर्वको प्रचुर पर्यटकी सम्भावना बोकेको ऐतिहासिकस्थल मिक्लाजुङसम्म जोडिने बाटो तथा दक्षिणमा भारतसम्म जोडिने मनमोहन गान्धीमार्ग र पथरी डाइनियाँ सडक मुख्य रुपमा नगरलाई अन्यत्र विकासको गतिमा जोड्ने सडक हुन् । यी र यस्तै विभिन्न विषय र क्षेत्रको तथ्याङ्क अद्यावधी गर्नुपर्ने टड्कारो आवश्यकता अनुसार नगरपालिका कार्यालयबाट १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरको समग्र अवस्थाको तथ्याङ्क सहितको मसिनो विश्लेषण आएपछि त्यसका आधारमा योजना बनाएर जान सजिलो हुने नगर प्रमुख दिलीपकुमार राईले वताए ।