पानवारी/ सुनसरीको सामुदायिक वनमा पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको कार्य सुरु भएको छ ।

सुनसरीमा नै पहिलो पटक यसै वर्षदेखि सुरु भएको वैज्ञानिक वन व्यवस्थापन सामुदायिक वनहरुमा समेत सुरु भएको छ । यस वर्ष सुनसरीका पाँचकन्या सामुदायिक वन र पानवारी सामुदायिक वनबाट सुरु हुने वैज्ञानिक वन व्यवस्थापनको काम अर्काेवर्ष अन्य सामुदायिक वनमा समेत विस्तार हुने सहायक वन अधिकृत सुरज निरौलाले बताएका छन् ।

यसैवर्ष सुनसरीको राष्ट्रिय वन धरान चक्ला वनमा समेत वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु भइसकेको छ भने सामुदायिक वनमा समेत सो कार्यक्रम सुरु भएको छ । वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत यस वर्ष पाँचकन्या सामुदायिक वनमा ४ हेक्टर क्षेत्रफलमा रहेको वर्किङ युनिट (निश्चित क्षेत्रफल) मा कार्य गरिने पाँचकन्या सामुदायिक वनका अध्यक्ष कर्णबहादुर कार्कीले जानकारी दिएका छन् ।

पाँचकन्या सामुदायिक वनमा कुकाठ तथा काठको प्रयोजनमा नआउने प्रजातिका रुखहरु धेरै रहेकोले वैज्ञानिक वन व्यवस्थापनको कामले वनको उत्पादन क्षमता बढ्ने सेक्टर वन कार्यालय धरानका प्रमुख ज्ञानकुमार लामाले बताएका छन् । लामाका अनुसार यसवर्ष काम गरिने वर्किङ युनिटमा भएका त्यस्ता रुखहरु हटाएर साल प्रजातिको रुखको विउ छरेर विरुवा बढाउने योजना रहेको छ ।

वैज्ञानिक वन व्यवस्थापन गदा ८० वर्षको चक्रमा एउटा वनलाई व्यवस्थापन गरिन्छ । पाँचकन्या सामुदायिक वनको सम्पूर्ण क्षेत्रलाई एउटा कन्पार्टमेन्ट मानेर ८ वटा सब कम्पाटमेन्ट र एउटा सव कम्पाटमेन्टलाई १० वटा वर्किङ युनिट क्षेत्रमा छुट्याएर जम्मा ८० वटा वर्किङ युनिट बनाइएको छ । ति ८० वटा वर्किङ युनिटलाई प्रत्येक वर्ष एक वर्किङ युनिटमा पुनर्उत्पादन कटान कार्य गरिने कार्य योजना रहेको सहायक वन अधिकृत सुरज निरौलाले जानकारी दिएका छन् ।

प्रत्यके वर्ष वर्किङ युनिटमा प्रति हेक्टर १५ वटा माउ रुख राख्ने साथै लाथ्रा र पोल साइजका रुखहरु समेत राखेर ६० सेमि भन्दा बढी व्यास भएका रुखहरुलाई कटान गरिने र सो वर्किङ युनिटमा साल जातको विउ ल्याएर सालको वनको विकास गरिने अध्यक्ष कार्कीले बताए । उनका अनुसार सामुदायिक वनमा यस वर्ष बनाइएको ५ मिटर चौडा तथा २.५ किलोमिटर लम्बाइको फायर लाइन र ४ हेक्टरको वर्किङ युनिटका रुखहरु कटान गरिन्छ । यसरी कटान गर्ने कामलाई नै पुनर्उत्पादन कटान भनिने र कटान गरिएको क्षेत्र (वर्किङ युनिट) लाई तार जालिले घेराबारा गरेर विरुवा सुरक्षित गरिने कार्कीले बताएका छन् । पुनर्उत्पादन कटान गर्दा निस्कने दाउरा तथा काठ सामुदायिक वनका उपभोक्ताले नै प्रयोग गर्ने र यदी उपभोक्ताले प्रयोग गर्ने भन्दा बढी भएमा टेण्डर गरेर विक्रि गर्न सकिने सेक्टर वन कार्यालय धरानका प्रमुख ज्ञानकुमार लामाले बताए ।

पाँचकन्या सामुदायिक वनमा वन व्यवस्थापन कार्यको लागी सरकारले ५ लाख सहयोग गरेको र अन्य खर्च सोही काठ तथा दाउरा विक्री गरी गरिने अध्यक्ष कार्कीले जानकारी दिएका छन् । कार्कीका अनुसार वन व्यवस्थापनमा चाहिने जनशक्ति सामुदायिक वनको कार्य समितिको निगरानीमा दैनिक ज्याला मजदुरहरुलाई काम लगाइने समेत कार्कीले जानकारी दिएका छन् ।