मोरङ । मोरङको पथरीशनिश्चरे १० ऐयावारीस्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहमाथिको आरोप प्रत्यारोपले उपभोक्ताहरु अन्यौलमा परेका छन् ।

केही व्यक्तिहरुले वन समूहले लिएको कटान आदेश भन्दा वढी काठ काटेको टिका टिप्पणी गर्दै पत्रकार सम्मेलन गरेको तथा समूहले भनें आदेश अनुसारको कटान भएको कुरा गरिरहँदा उपभोक्ताहरु अन्यौलमा परेका हुन् ।

यसखाले टिकाटिप्पणीले वन उपभोक्ता समितिले मानसिक तनाव व्यहोर्नु परेको छ । समिति अध्यक्ष इश्वर चौहान र सचिव मैनादेवी फुयल आचार्यले अनाहकमा आफुहरुमाथि तनाव सिर्जना गरिएको वताएका छन् । अध्यक्ष चौहानले कटान आदेशको कागज देखाउँदै भने ‘हामीले २ पटकको कटान आदेश अनुसार जंगलबाट ढलेपढेका काठ संकलन गरेर घाटगद्दी गर्दै गरेका हौं ।’

जिल्ला वन कार्यालयको ०७४ फागुन २५ गतेको निर्णय अनुसार २६ सय ७१ दशमलव ३४ क्यूविक फिट र ०७४ चैत ८ गते सेक्टर वन कार्यालय उर्लावारी मंगलवारेको निर्णय अनुसार १७ सय ६२ दशमलव ६७ क्यूविक फिट काठको कटान आदेशपत्र रहेको छ । जिल्लाको पहिलो कटान आदेश अनुसार काठ संकलन गरिरहेको अवस्थामा थप रुखहरु ढलेका तथा खोल्सा खोल्सी र खोलामा रही लगत छपान गर्न छुट्न गएका सालको १९ र कर्माको एउटा रुखको थप कटान आदेश दिइएको तारणिप्रसाद चौधरीद्धारा हस्ताक्षरित आदेशपत्रमा उल्लेख छ । सो आदेशपत्रमा ढलेका रुखहरु छपान गरी संकलन गर्न मात्र आदेश दिएको र अर्काे आर्थिक वर्षमा मात्र प्रक्रिया पुर्याएर उपभोक्तालाई सो काठ वितरण गर्न सकिने उल्लेख छ ।

उता, वडाध्यक्ष सागर राईका साथै खेम भट्टराई, बालकुमार तामाङ र ज्ञानेन्द्र राईले गत वैशाख २५ गते वन समूहको हलमा स्थानीय केही पत्रकारहरुमाझ पत्रकार सम्मेलन गरेका थिए । उनीहरुले २६ सय ७१ क्यूविक फिट काठको मात्र जिल्ला वन कार्यालयको कटान आदेश रहेकोमा त्यस विपरित ५२ सय क्यूविक काठ काटेको आरोप लगाए । उनीहरुले अर्काे कटान आदेश नभएको जिकिर गरेका थिए । अर्काे आदेश भए त्यो वन कार्यालयसँगको मिलेमतो भएको आरोप लगाए । साथै उनीहरुले वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्दै छानविन गरी कारवाहीको माग गरेको निवेदन पत्रकारहरुलाई वितरण गरेका थिए । सो पत्रकार सम्मेलनको समाचार चित्तबुझ्दो र सवै सञ्चारमाध्यममा नआएको भन्दै पुन सोही पक्षले मंगलवार विराटनगरबाट राष्ट्यि सञ्चारमाध्यमका पत्रकारहरु मात्र बोलाएर पत्रकार सम्मेलन गर्दै काठ अनियमितता गर्नेहरुमाथि कारवाही हुनुपर्ने कुरा दोहोर्याएको छ । त्यहाँ सहभागि पत्रकारहरुले टेलिफोनमार्फत वन समूह अध्यक्ष चौहानसँग सम्पर्क गरेको र चौहानले पछि ढलेपढेका रुखहरु नष्ट हुने अवस्था हुँदा संकलन गरी संरक्षणका लागि घाटगद्धीका लागि सेक्टर वन कार्यालयले समेत आदेश दिनसक्ने वन ऐनमा उल्लेख भएकाले सोही अनुरुप आदेश लिइएको जवाफ दिएका छन् ।

वडाध्यक्ष राई र सोही वडाकी सदस्य एवम् वन समूह सचिव आचार्यबीचको राजनीतिक टकरावका कारण यसखाले आरोपप्रत्यारोपले घर गरेको स्थानीयहरुको विश्लेषण छ । केही समय अघि सोही वन क्षेत्रको जग्गा किनवेच गरी घर वनाउने तयारी भएको विषयमा वन समूहले रोकेपछि त्यसको प्रतिसोधका रुपमा लहरो तान्ने काम भएको पनि जानकारहरुका बुझाई छ । वडाध्यक्षले समस्या समाधानका लागि मध्यस्तता गर्नुपर्नेमा घटना उचाल्न लागको पनि टिप्पणी भएको छ । उता वडाध्यक्ष राईले भनें आफुले घटना उचालेको नभई छानविन गरी कारवाही गर्न सम्वन्धित निकाय लाग्नु पर्ने जवाफ दिन्छन् । वडा सदस्य आचार्य पनि आफुहरुले गल्ती गरेको भए कारवाही भोग्न तयार रहेको भन्दै घटनालाई राजनीतिककरण गरी जनप्रतिनिधिलाई जनप्रतिनिधिले नै कमजोर पार्ने हिसावले तनाव दिने काम भएको जिकिर गर्दै त्यसो नगर्न आग्रह गर्छिन् ।

स्थानीय सामाजिक अगुवा अर्जुन भट्टराईले वडाको यसखाले आरोप प्रत्यारोपले आफुहरु अन्योलमा परेको वताउँदै वडामा कुनै समस्या आए जनप्रतिनिधिले समाधानमा भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा आरोप्रत्यारोपमा नमुछिन आग्रह गर्छन् ।

जिल्ला वन कार्यालयमा समेत उजुरीको वोधार्थ गएपछि उसले स्थलगत रुपमा घटनाको अनुसन्धान थालेको छ । जिल्ला वन कार्यालय सहायक वन अधिकृत सरोजा कोइरालाले समूह विरुद्ध उजुरी परेपछि काठका सम्वन्धमा आफुहरुले अध्ययन अनुसन्धान गरिरहेको वताइन् ।