धरान । चुरेभावर, भित्री मधेस, शिवालिक तथा दून उपत्यकालाई यातायात सञ्जालमा जोड्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडकको पूर्वी खण्डको निर्माण कार्य रोकिएको छ। जिल्ला समन्वय समिति अन्तर्गतका ठेकेदारले ग्राभेल निकाल्न अवरोध गरेपछि बेल्टार–गाईघाट खण्डमा काम रोकिएको हो। सडक निर्माणका लागि मन्त्रिपरिषद्ले नै निर्णय गरेर बरुवा लगायतका विभिन्न खोलाबाट गिटी, बालुवा र ग्राभेल निकाल्ने अनुमति दिए पनि ठेकेदारले अवरोध गरेपछि काम अवरुद्ध भएको निर्माण कम्पनीले जनाएका छ। मन्त्रिपरिषद्को निर्णयमा सडक निर्माणका लागि आवश्यक पर्ने ढुंगा, गिट्टी, बालुवा तथा ग्राभेलका लागि जिल्ला समन्वय समितिसँग समन्वय गर्ने भनिएको छ। सोही निर्णय अनुसार समन्वय समितिले आयोजनाका लागि लक्ष्मीपुर क्षेत्रको बरुवा खोलावाट ढुंगा, गिट्टी, बालुवा तथा ग्राभेल निकाल्ने ब्यवस्था मिलाएको थियो। तर, समन्वय समिति मार्फत खोलाको ठेक्का पाएका ठेकेदारले गाभ्रेल निकाल्न अवरोध गरेको पूर्वी खण्ड सडक निर्माण गर्न ठेक्का लिएको कम्पनी जेडआइइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले बताए। ‘समन्वय समितिले ठेक्का दिएको क्षेत्रबाट ग्राभेल निकाल्न पाइँदैन भन्दै ठेकेदारले अवरोध गरेपछि काम रोकियो,’ उनले भने, ‘ठेकेदार र सडक आयोजनालाई एकै ठाउँबाट ग्राभेल निकाल्ने अनुमति दिएकाले यस्तो भयो।’ समस्या समाधान गरेर काममा सहजता प्रदान गर्नुपर्ने निकायले पनि तोकिएको परिणाम निकालिसकेको र थप निकाल्न वातावरणीय असर प्रभाव मूल्यांकन गर्नुपर्ने वताएपछि अन्योल सुरु भएको पाखरेलले बताए। ‘समन्वय समितिका ठेकेदारले आफ्नो क्षेत्रबाट गिट्टी, बालुवा र ग्राभेल निकाले कर तिर्नुपर्ने बताएका छन्, तर मन्त्रिपरिषद्को निर्णयअनुसार नै निर्माण कम्पनीले समन्वय समितिमा अग्रिम कर तिरेको छ,’ पोखरेलले भने, ‘थप परिमाणमा निस्केको भए रकम थप्न पनि हामी तयार छौं ।’ स्थानीय विकास अधिकारी शिवप्रसाद हुमागाईंले भने दुवै पक्षले आपसी सहमति गरेर ग्राभेल निकाल्नुपर्ने बताए। उनले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरे पनि थप परिमाणमा ग्राभेल निकाल्नुपर्ने भए वातावरणीय असर प्रभाव मूल्यांकन गरेर मात्रै अघि बढ्नुपर्छ।’ सरकारको करिब २२ अर्बको लगानीमा भइरहेको सडकको निर्माण कार्य २०७३ मंसिरमा ठेक्का लागेको हो। सडकको निर्माण कार्य ३ वर्ष्भित्र सक्नुपर्ने सम्झौता छ। उदयपुरको बसाहास्थित वीरेन्द्रचौकदेखि सिन्धुलीको भिमानसम्म १ सय ३५ किलोमिटरलाई पूर्वी खण्ड र भिमानदेखि हेटौंडासम्मको १ सय १५ किलोमिटरलाई पश्चिम खण्डमा विभाजन गरी काम भइरहेको छ। पूर्वी खण्डको सडक, पुल र कल्भर्ट निर्माण गर्न उदयपुरको गाईघाटमा आयोजना कार्यालय स्थापना गरिएको छ। हेटौंडादेखि धरानसम्म ३ सय १८ किलोमिटर लम्बाइ र ११ मिटर चौडाइको यो सडकको निर्माण कार्य पूर्वी खण्डमा बेस र सबबेस हाल्ने अवस्थामा पुगेको छ। प्रोजेक्ट म्यानेजर पोखरेलका अनुसार बैसाखको पहिलो सातासम्म सडक निर्माणको काम ३५ प्रतिशतभन्दा बढी सकिएको छ। पूर्वी खण्डमा पुलको ३० प्रतिशत र सडकतर्फ २६ दशमलव ५ प्रतिशतले आर्थिक प्रगति भएको सडक आयोजना कार्यालय गाईघाटले जनाएको छ। पूर्वमा ४३ वटा पुल निर्माण हुनेछन्। सुनसरीमा १८ दशमलव ८ किलोमिटर, उदयपुरमा १ सय ८ दशमलव ५ किलोमिटर, सिन्धुलीमा १ सय ३५ किलोमिटर र मकवानपुरमा ४९ दशमलव ३५ किलोमिटर फैलिएको यो सडकमा बिपी राजमार्गले १८ किलोमिटर र बसाहदेखि धरानसम्म नडाहा–रुपनगर सडक आयोजनाले ४८ किलोमिटर भेटेको छ। बिपी राजमार्ग अन्तर्गतको १८ किलोमिटर र नडाहा–रुपनगर सडकको ४८ किलोमिटर कालोपत्रे तथा विस्तार गर्ने जिम्मा सडक विभागले लिएको छ। सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोड्ने यो सडकलाई पूर्व–पश्चिम राजमार्गको विकल्पको रुपमा हेरिएको छ, जसले चुरे तथा पहाडी क्षेत्रका बासिन्दालाई पूर्व–पश्चिम यात्राका लागि सहज हुनेछ ।