भद्रपुर/स्थानीय जनप्रतिनिधि तथा कर्मचारीले खुल्ला दिसा मुक्त अभियानलाई चुस्त, दुरुस्त नबनाएका कारण झापा असफल बनेको छ । अभियान असफल भएसँगै झापालाई खुल्ला दिसा मुक्त जिल्ला घोषणा गराउने थप गरिएको अन्तिम मितिको म्याद पनि सकिएपछि अभियान असफल भएको हो ।
[caption id="attachment_82880" align="alignleft" width="468"] फायलफाेटाे[/caption]खुल्ला दिसा मुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तरगत झापाका ८ नगरपालिका र ७ गाउँपालिका गरी १५ वटा स्थानीय तहमध्ये अहिले सम्म चार वटा स्थानीय तह मात्रै घोषणा भएको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले जनाएको छ । कनकाई र शिवसताक्षी नगरपालिका, बुद्धशान्ति तथा कमल गाउँपालिका घोषणा गरिएको छ । ११ वटा स्थानीय तह अझै बाँकी रहेको जनाइएको छ । झापामा १ लाख ८२ हजार २ सय १५ घरधुरीमध्ये १ लाख ७७ हजार ३ सय २ घरमा शौचालय रहेको छ । ४ हजार ९ सय १३ घरधुरी शौचालय विहिन छ । अभियान शुरु भएपछि झापामा ३४ हजार ३ सय ३२ घरधुरीमा नयाँ शौचालय निर्माण भएको जनाइएको छ ।
समितिले बाह्दशी गाउँपालिकालाई बैशाख २, अर्जुनधारा नगरपालिकालाई बैशाख ५, हल्दिवारी गाँउपालिकालाई बैशाख ९, गौरीगञ्ज गाउँपालिकालाई बैशाख १५, दमक नगरपालिकालाई बैशाख १७ गतेको मिति तोकेको थियो । त्यसैगरी झापा गाँउपालिकालाई बैशाख २०, गौरदाह नगरपालिकालाई २६, बिर्तामोड नगरपालिकालाई बैशाख २९, कचनकवल गाँउपालिकालाई बैशाख २८, मेचीनगर नगरपालिकालाई बैशाख ३० र भद्रपुर नगरपालिकालाई बैशाख ३१ गतेको मिति तोकेको थियो । तोकिएको मिति अनुसार कुनै पनि गाउँपालिका र नगरपालिकाले खुल्ला दिसा मुक्त घोषणा गर्न सकेनन् । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाले बैशाख ३१ गते झापालाई खुल्ला दिसा मुक्त गर्ने घोषणाको मिति तोकेको थियो । तर, समितिले तोकेको मितिमा पनि झापा खुल्ला दिसा मुक्त घोषणा हुन सकेन । नेपाल सरकारले सन् २०१७ को मिति तोकेको थियो । समितिले यसअघि चैत २२ र त्यसपछि चैत मसान्त सम्मको मिति पनि तोकिसकेको थियो । त्यसअवधिमा अभियान सफल नभएपछि फेरी बैशाख ३१ तोकेका थिए ।
प्रधानमन्त्री ओली, काँग्रेसका प्रवत्ता शर्मा र सिटौला गृह नगर शौचालय निर्माणमा पछाडी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्मा र काँग्रेस नेता कृष्णप्रसाद सिटौलाको गृह नगर अहिले सम्म खुल्ला दिसा मुक्त हुन सकेन । प्रधानमन्त्री ओलीको दमक, शर्माको मेचीनगर र सिटौलाको भद्रपुर शौचालय निर्माणमा पछि परेको छ । भद्रपुर नेपालकै पुरानो नगरपालिकामा पर्छ, भने दमक र मेचीनगर झापाकै पुरानो नगरपालिकामा पर्छ । ओलीको गृह नगर दमकमा १५ हजार ४ सय २४ घरधुरी मध्ये १५ हजार ३ सय ५ घरमा शौचालय निर्माण भइसकेको छ, भने १ सय १९ घरधुरी अझै बाँकी रहेको छ । अभियान शुरु भएपछि ६ सय ५२ घरमा नयाँ शौचालय निर्माण भएको छ । काँग्रेस प्रवत्ता शर्माको गृह नगर मेचीनगरमा २५ हजार ७ सय ६३ घरधुरीमध्ये २४ हजार ८ सय २१ घरमा शौचालय निर्माण भएको छ, भने ९ सय ४२ घर शौचालय विहिन छ । त्यस्तै सिटौलाको गृह नगर भद्रपुरमा १४ हजार ६ सय १५ घरधुरीमध्ये १३ हजार ५ सय ७२ घरमा शौचालय निर्माण भएको छ, भने १ हजार ४३ घरधुरी शौचालय विहिन छ । भद्रपुर राप्रपाका महामन्त्री राजेन्द्र लिङदेनको निर्वाचन क्षेत्र र मेचीनगर माओवादी नेता सुरेन्द्रकुमार कार्की (राम)को निर्वाचन क्षेत्र समेत पर्छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापा र ग्लोबल स्यानिटेसन फन्डसहित सगरमाथा सामुदायिक विकास केन्द्र, साहारा नेपाल, विराट सामुदायिक अध्ययन केन्द्र र मानव विकास केन्द्रले झापालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियानमा जुटेको ग्लोबल स्यानिटेसन फन्डका कार्यक्रम संयोजक विनोद शर्माले जानकारी दिए । उनका अनुसार अहिले शौचालय निर्माण हुन बाँकी रहेका प्रत्येक स्थानीय तहमा सबैको साझेदारीमा अभियान मुलक कार्यक्रम भइरहेको जनाए ।