मोरङ/नेकपा (एमाले) र माओवादी (केन्द्र) बीचको एकीकरणले झापा र मोरङमा पनि उत्साह ल्याएको छ ।

बिहीबार राजधानीमा दुवै पार्टी एकीकरण भई ‘नेपाल कम्यूनिष्ट पार्टी’ बनेपछि झापा र मोरङका नगर र गाउँमा साँझ उत्साहका साथ नेता, कार्यकर्ता र सुभेच्छुकले दीपावली गरी दर्विलो एकताको निरन्तरताको चाहना राखेका छन् ।

तात्कालिन एमालेका पूर्व जिल्ला उपाध्यक्ष एवम् पूर्व सांसद दीपक कार्कीले पार्टी एकीकरणले लोकतन्त्र सुदृढ हुँदै जाने र राजनीतिक स्थीरता कायम हुने कुराले वढी खुसी दिलाएको प्रतिक्रिया दिएका छन् । उनले नेपाली कम्यूनिष्टहरुको योगदानलाई बलियो बनाउन यो एकताले ठूलो भूमिका निर्वाह गर्ने जनाउँदै झापामा पनि यसको उत्साहपूर्वकको प्रभाव छाएको उल्लेख गरेका छन् । ‘एकीकरण हुँदा पार्टीमा कहाँ परिन्छ भन्ने कुरातर्फ नसोचेर समग्र कम्यूनिष्ट आन्दोलन बलियो वन्छ भन्ने कुरामा जिल्ला र गाउँतहसम्मका नेता कार्यकर्ताले प्राथमिकता दिनुपर्ने हुन्छ ।’– उनको सुझाव छ ।

बिहीबार साँझ गौरादह नगरपालिका क्षेत्रमा एमाले र माओवादीका नेता कार्यकर्ताहरु एक भएर दीपावली गर्दै आत्मियताका साथ परिवर्तनका लागि अघि बढ्नु पर्ने सन्देश दिएका थिए । तात्कालिन माओवादी केन्द्रका गौरादह अध्यक्ष हुकुम नेपालीले सबैको कसिलो सहकार्यमा समग्र विकासमा जुट्नु पर्ने धारणा राखेका थिए ।

पार्टी एकताका विषयमा ब्लाष्टसँगको कुराकानीका क्रममा तात्कालिन माओवादी केन्द्रका दमक नगर उपाध्यक्ष तीर्थराज बस्नेत शंकरले एउटा दलले मात्र परिवर्तन गर्न सम्भव नहुने बुझेपछि बढेको एकीकरणको आवश्यकताले परिवर्तनको अनुभूति गर्न पाउने अवस्था सिर्जना हुने जनाए । उनले थपे ‘ यो एकताले संघीयतालाई संस्थागत गर्न सहज बन्छ ।’

यो एकीकरणले सहिदहरुका बलिदानीलाई सम्मान गर्दै जनतालाई परिवर्तनको अनुभूति दिलाउन गुट उपगुटको राजनीति पनि यहीँ अन्त्य हुनुपर्ने आवश्यकतामा पनि उनले जोड दिएका छन् । उनले चाँडोभन्दा चाँडो वडातहसम्मको एकीकरणको अभियान सञ्चालन भएमा भावनात्मक एकता बलियो बन्ने विश्लेषण गरेका छन् ।

तात्कालिन एमालेका मोरङ जिल्ला सचिवालय सदस्य टंक भण्डारीले यो एकताले जुटेर अगाडि बढ्ने ढोका खुलाएको र कम्यूनिष्ट एक हुनुपर्ने वर्षाैंदेखिको आवश्यकता एवम् चाहना पुरा हुनुका साथै मुलुक समृद्धिको दिशामा अघि बढ्ने कुरामा कार्यकर्तामा उत्साह छाएको जनाएका छन् । बहुदलीय जनवादका प्रणेता एवम् तात्कालिन एमालेका तात्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औं स्मृति दिवशकै दिन पार्टी एकता भएकोमा मदन र जीवराजलाई गुमाउनु परेपनि उनीहरुका सपना पुरा भएको दिनका रुपमा समेत कार्यक्रम भएका छन् । मोरङको पथरीशनिश्चरेमा युवा संघ नेपालले रत्नचोक क्षेत्रमा मदनप्रति श्रद्धाञ्जली अर्पण गरेपछि पार्टी एकीकरणको खुसीयालीमा दीपावली गरिएको सचिव नविनजंग कार्कीले बताए ।

एकताको खुसीयालीमा झापाको बिर्तामोड, दमक, गौरादह, भद्रपुर, काँकरभिट्टासहित चन्द्रगढीको लेखनाथ चोक, सगरमाथा चोक, पृथ्वीनगर दीपावली गर्दै एकापसमा शुभकामना व्यक्त गरेका थिए ।

भद्रपुर नगरपालिकाको गेट अगाडि आयोजित कोण सभामा नेकपाका नेताहरु चन्द्रमाया श्रेष्ठ, डिल्ली घिमिरे (हिक्मत), माधव विद्रोहीले पार्टी एकीकरणमा नेपाली जनतालाई साथ दिन आग्रह गरेका थिए । लेखनाथ चोकमा आयोजित कार्यक्रममा नेकपाका नेताहरु विष्णु शिवाकोटी, अशारु राजवंशी, ब्रम्हलाल ढुङ्गाना र नरेश सञ्जेलले शुकामना व्यक्त गरेका थिए ।

झापा दमकका प्राध्यापक एवम् साहित्यकार शि रेग्मी प्रणतले एकताले कम्युनिष्टहरुको प्रतिक्षाको दिन पुरा भएको प्रतिक्रिया दिएका छन् । चलचित्र वितरक एवम् पाथीभरा चलचित्र मन्दिर दमकका प्रमुख चैतन्य वरालले एकताको मुठ्ठी जनभावनामा केन्द्रीत हुनुपर्ने सुझाव दिएका छन् । कुनै पार्टीको एकीकरणमा कोही सुखी र कोही दुःखी हुने भन्दा पनि देश र जनताको भावनामा केन्द्रीत हुनुपर्ने प्रतिक्रिया दिन्छन् ।

५६ वर्षअघि फुटेको थियो

००६ सालमा कोलकातामा कम्यूनिष्ट पार्टी स्थापना हुँदाका संस्थापक पुष्पलालसहित निरञ्जनगोविन्द वैद्य, शम्भुराम श्रेष्ठ र मोतीदेवी श्रेष्ठ थिए । कतिपयले मोतीदेवीलाई संस्थापक मानेका छैनन । ००६ देखि ०१९ सम्म १३ वर्ष पार्टी केही आन्तरिक विवादका बावजुद एकै धारमा अगाडि बढ्यो । अनि, ०१९ मा फुट्यो ।

गठन भएको दुई वर्षपछि अर्थात् ००८ देखि नेकपामा गुटबन्दी सुरु भयो । त्यसबीचमा पहिलो महाधिवेशनबाट मनमोहन अधिकारी र दोस्रोबाट महाधिवेशनबाट डा. केशरजंग रायमाझी महासचिव निर्वाचित भएका थिए । ९ माघ ००८ मा जनता दलका नेता डा. केआई सिंहले गरेको सत्ता कब्जाको कदमलाई समर्थन गरेपछि १० माघमै कम्युनिस्ट पार्टीमाथि सरकारी प्रतिबन्ध लागेको थियो । तर, नेकपाका महामन्त्री मनमोहन अधिकारीका नाममा संवैधानिक राजतन्त्र स्वीकार गरिएको विज्ञप्ति जारी भएपछि ४ वैशाख ०१३ मा प्रतिबन्ध हटेको प्रा. डा. सुरेन्द्र केसीले पुस्तक ‘नेपाल कम्युनिस्ट पार्टीको इतिहास’मा लेखेका छन् ।

यसपछि नेकपामा दुई लाइन संघर्ष चर्कियो । तर, पार्टी विभाजनकै स्थितिमा भने पुगेको थिएन । १ पुस ०१७ मा राजा महेन्द्रले प्रत्यक्ष शासन सुरु गरेपछि तत्कालीन महासचिव केशरजंग रायमाझीले शाही कदमको समर्थन गरे । त्यतिबेला उनी मस्कोमा थिए । रायमाझीको यही निर्णय नै पार्टी फुटको कारण बन्यो । ०१८ मा भारतको दरभंगामा बसेको पार्टी विस्तारित बैठकमा रायमाझीले संसदीय प्रणाली पुनर्स्थापना हुनुपर्ने प्रस्ताव गरे । उनको पक्षमा पार्टीभित्र रहेको १७ मत थियो जुन अल्पमत थियो । संविधानसभाको निर्वाचनमा जानुपर्छ भन्ने प्रस्तावको पक्षमा बहुमत थियो । तर, यो पनि कार्यान्वयन भएन ।

विवादबीच ४–१५ वैशाख ०१९ मा भएको तेस्रो महाधिवेशनले महासचिव रायमाझीलाई पार्टीबाट हटायो । तर, उनले आफ्नो समूह पुनर्गठन गरे । तेस्रो महाधिवेशनबाट तुलसीलाल अमात्य महासचिव निर्वाचित भए, तर संस्थापक पुष्पलालबीच मतभेद चुलिएर पार्टी फुट्यो । पुष्पलालले निर्वाचित ६ जना केन्द्रीय सदस्य लिएर आफ्नो समूहको अलग्गै सम्मेलनमार्फत नयाँ केन्द्रीय समिति बनाए ।

पार्टी फुटेपछि पूर्व कोसीप्रान्तीय कमिटी नामको अर्को समूह पनि उदायो । त्यतिवेला रायमाझी र अमात्य समूह रुसमा लेनिनले गरेको क्रान्तिको पक्षधर थियो । तर, पुष्पलाल समूह चिनियाँ क्रान्तिको पक्षधर थियो । कोसीप्रान्तीय कमिटीलगायत समूह चिनियाँ क्रान्तिको पक्षधर थिए । त्यसपछि श्रेष्ठ, अमात्य र रायमाझी समूहभित्रै अनेकौँ फुट पैदा भए ।