मोरङ/मोरङको पथरीशनिश्चरे नगरपालिकाले नगरको चौतर्फी विकासका लागि कसरी प्रभावकारी योजना वनाउने भन्ने विषयमा विज्ञहरुसँग छलफल थालेको छ ।
जस अन्तर्गत पहिलो पटक सोमवार लेटाङस्थित कृषि विकास वैंकको पूर्वाञ्चल क्षेत्रीय तालिम केन्द्रको हलमा प्रभावकारी योजना तर्जुमा सम्वन्धी एकदिने पहिलो कार्यशाला गोष्ठी सम्पन्न गरेको छ । कार्यशालामा नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहित नगर कार्यपालिका सदस्य, योजना र लेखाका कर्मचारीहरुको सहभागितामाझ योजनाविद् तारानाथ निरौलाले प्रभावकारी योजना तर्जुमाका बारेमा सहजिकरण गरेर मस्तिष्क तरंगित पारेका छन् । जो कोहीले सबैभन्दा पहिले आफुले आफैलाई वदल्नु पर्ने प्रसंग अघि सार्दै प्रभावकारी प्रस्तुतिका क्रममा उनले भने ‘स्वार्थ रहित बदलिएको भावनाले वैज्ञानिक तथा मानवपयोगी दीर्घकालिन योजना बनाएर अघि बढेमा स्थानीय सरकार प्रभावकारी वन्ने छ ।’ मानिसले प्रभावकारी काम गर्नका लागि जवसम्म उ भित्रको दृष्टिकोण सुध्रिदैन तवसम्म बानी व्यहोरा नसुध्रिने उदाहरण प्रस्तुत गर्दै सबैलाई उत्प्रेरित वनाए ।
‘योजना तर्जुमा तथा कार्यान्वयन र कर तथा राजस्व परिचालन’ नामक सो गोष्ठीको प्रस्तुतिका क्रममा उनले प्रभावकारी योजना तर्जुमाका विधिहरु प्रस्तुत गरे । उनले त स्थानीय सरकारको निर्वाचन भएलगत्तै कुर्सीमा बसाउनु भन्दा अघि काम, कर्तव्य र अधिकार तथा नीति, कार्यक्रम सम्वन्धी १ साताको कार्यशाला राख्नुपर्ने अवस्था रहेको सुनाए । ‘माथिल्लो निकायले त्यसो नगर्दा स्थानीय सरकारले सोचे अनुरुपको गति लिन नसक्दा कतिपय अधिकारहरु माथिल्लो निकायले अंकुश लगाउने ठाउँ समेत बन्दै गएको देखिन्छ । यसलाई अब तपाईहरुले चिर्नुपर्छ ।’– उनले अवस्था विष्लेषण गर्दै नयाँ मोडतर्फ उत्प्रेरित गरे ।
पथरी शनिश्चरे नगर प्राकृतिक स्रोत र साधनमा सम्पन्न भएकाले उसले वन, सिमसार पर्यटन तथा कृषिलाई जोड दिएर जाने सम्भावना समेत औंल्याए । उनले थपे ‘स्थानीय क्षेत्रको विकासका लागि कर संकलन कार्य प्रभावकारी हुनु पर्यो । कर संकलन प्रभावकारी हुन करलाई नगरवासीको सामाजिक सेवासँग जोडेर जान सक्नु पर्यो ।’ उनले कर तिरेवापतको गौरव नगरवासीलाई हुनेगरी नगरवासीसंगको सहकार्यमा कर संकलन गरी योजना अघि बढाउनु पर्नेमा जोड दिए । उनले वित्तिय समानिकरण तथा माथिल्लो सरकारी निकायबाट आउने अनुदानको भरमा नपरी आन्तरिक आम्दामी वढाउने कुरामा चिन्तन मनन् गर्नुपर्ने परिस्थिती सवैको सामु प्रस्तुत गरे । ‘त्यसका लागि उद्योग, व्यवसायको स्थापना, प्रवद्र्धन सहितका पक्ष नगरपालिकाले अघि बढाउनु पर्छ ।’– उनले प्रष्ट्याए ।
उनले कुनै भौतिक योजना बनाउनु भन्दा अघि भूउपयोगको नीति जोडिने भएकाले कुन ठाउँमा के योजना लानु भौगोलिक हिसावले पनि ठीक छ छैन भन्ने कुरा ख्याल गर्नुपर्ने सुझाए । त्यसपछि कहाँ शहर बनाउने, कहाँ कृषि क्षेत्रको व्यवसायिककरण गर्ने, कहाँ वस्ती वसाल्ने, प्राकृति सम्पदाको कसरी संरक्षण र व्यवस्थापन गर्ने, कसरी पर्यटकीय आकर्षक ठाउँ बनाउने भन्ने कुराको एकसँग अर्काे सम्वन्धित योजना जोड्दै जानुपर्ने जनाए । तात्कालिन अवस्थालाई नहेरी दीर्घकालिन रुपमा योजना बनाउनु आजको आवश्यकता भएको तथ्य अघि सारे । भौतिक र भौतिक पूर्वाधार योजनाको एउटा पाटो मात्र भएकाले शिक्षा, स्वास्थ्य, भाषा, कला, संस्कृति, सामाजिक सद्भाव, सामाजिक विकास, पर्यावरण सहितका कैयौं महत्वपूर्ण विषय र क्षेत्रमा अझ गम्भिर तरिकाले योजना बनाउनु आवश्यक रहेको स्मरण गराए ।
पहिलो अवस्थामा आवधिक योजना वनाएर विभिन्न विषय र क्षेत्रका समितिहरुमार्फत अव आउने वजेटलाई नविन प्रकारको बनाई नगरपालिकाको छुट्टै पहिचान दिलाउने नीति तथा कार्यक्रम बनाएर जान सुझाव समेत राखे । यी सवै प्रभावकारी तौरतरिका सहितको जीवन बदल्ने शुत्रहरुको प्रस्तुतिपछि कार्यक्रममा सहभागि कार्यपालिका सदस्य मैनादेवी फुयल आचार्यले भनिन् ‘हामी जनप्रतिनिधि भएर आएलगत्तै सरकारको माथ्लो निकायले यस्ता कुरामा अन्तरक्रिया गराएको भए हामीले यो १ वर्षमा केही न केही नयाँ गरिसक्ने रहेछौं । त्यसो नहुँदा १ वर्ष अन्यौल अन्यौल मै वितेकोमा आज निकै पछुतो भयो ।’ सँगै रहेका वडाध्यक्ष गोविन्दवहादुर भण्डारीले थपे ‘अवको चार वर्षमा प्रभावकारी योजना वनाएर काम गर्न सकिन्छ भन्ने कुरा सिकियो ।’
नगर प्रमुख राईले अवको आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा थप प्रभावकारी वनाउन विज्ञहरुसँगको कार्यशाला अघि बढाउने क्रममा यो कार्यशाला आयोजना गरिएको बताए । उनले भने ‘विज्ञहरुसँगको परापर्श र अन्तरक्रियाका आधारमा हामीले आगामी नीति, कार्यक्रम तथा योजना प्रभावकारी बनाएर नगरको फरक पहिचान दिने प्रयासमा छौं ।’ उनले सवै कुराको मसिनो योजना तथा विश्लेषणका लागि नगर प्रोफाइल निर्माण कार्य अघि बढेको पनि जनाए ।