पानवारी । नेपाल खानेपानी संस्थान धरान शाखाले धरानमा संञ्चालित एकिकृत शहरी विकास आयोजना (आइयुडिपी)को खानेपानी आयोजना असफल बनाउन कृत्रिम अभाब गराएको आरोप लागेको छ । संस्थानले आयुडिपीको खानेपानी आयोजना असफल बनाउन बिग्रिएका मेसिनहरु मर्मत नगर्ने र खानेपानी अभाव भएको भन्दै गुनासो गर्न संस्थानको कार्यालय पुग्ने उपभोक्तालाई नगरपालिका गएर गुनासो पोख्नु भन्ने जवाफ दिएर फर्काउने गरेको पाइएको छ । धरानमा वितरण हुने खानेपानी तान्न प्रयोग हुने मेसिनहरु मर्मत नगर्नु र नयाँ मेसिन समेत खरिद नगरी पानीको कृत्रिम अभाव सिर्जना गर्ने गरेको पाइएको छ । धरान–१६ विद्युत प्राधिकरणलाइन निवासी गंगा राईले भने –‘संस्थानले पानी तान्न प्रयोग गर्ने सबै मेसिनहरु पुराना भएको अवस्थामा बर्षमा ३ पटकसम्म बिग्रने मेसिनहरु मर्मत नगर्नु र नयाँ मेसीनहरु थप नगर्नुको कारण भनेको अर्को आयोजना असफल बनाउने नियत हो ।’ राईले भने ‘खानेपानी जस्तो संबेदनशील कुरामा खेलबाड गर्नु राम्रो होइन, मेसीनहरु चुस्त बनाउने जिम्मेवारी संस्थानकै हो । ‘मैले पत्रपत्रिकाबाट पाएको जानकारी अनुसार संस्थानले धरान खानेपानी बोर्डलाई सम्पती र दायित्व हस्तानतरण गरिसक्नु पर्नेमा अहिलेसम्म गरेको देखिएन, यो संस्थानको लार्पबाही पुर्ण काम हो’ उनले भने । धरान–१ का मोहन तामाङले खानेपानी संस्थानले बिगतमा पनि लार्पबाही पुर्ण तरिकाले पानी बितरण गर्ने गरेको र धरानबासीलाई पर्याप्त खानेपानी दिन नसकेको बताए । हामीले बुझाएको खानेपानीको महसुलले नै धरानको प्रयाप्त खानेपानी वितरण गर्न पुग्छ तर संस्थानले धरानबाट उपभोक्ता सँग उठाएको रकम काठमाण्डौमा खर्च तामाङले भने ‘धराने जनताबाट संस्थानले उठाएको रकम धरानमै खर्च हुनु पर्छ । संस्थानले गत आर्थिक बर्षमा करिब ८ करोड अर्थात ७ करोड, ९६ लाख १५ हजार ९ सय ५८ रुपैया महसुल उठाएको छ भने चालु आर्थिक बर्षको बैशाख मसान्त सम्ममा ६ करोड,५७ लाख १७ हजार रुपैया महसुल संकलन गरेर केन्द्रिय कार्यालय काठमाण्डौ पठाएको छ । तामाङले धरान उपमहानगरपालिकाले पनि आफ्ना जनतालाई खानेपानीको प्रबन्ध गर्न नसकेको भन्दै आलोचना गरे । खानेपानी संस्थानले उपभोक्तालाई समेत गैरजिम्मेवार जवाफ दिने गरेको पाइएको छ, धरानबासीलाई खानेपानी उपलब्ध गराउने जिम्मेवारी लिएपछि पुरा गर्नु उसको दाईत्व हो धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य सुवास राईले भने ‘कि सम्पती र दायित्व धरान खानेपानी बोर्डलाई हस्तान्तरण गुर्नु प¥र्यो, उपमहानगरले पानी खुवाउने प्रबन्ध मिलाउछ । चारकोशे झाडिमा संस्थानका ६ वटा पानी तान्ने वेल छन् । ति मध्ये दुई वटा बिग्रीएर थन्किएका छन् भने बाकी चार वटा कुन बेला बिग्रने हो पत्तो हुदैन, संस्थानकै एक अधिकृतले भने ‘मेसीन बनाउन र नियमीत पानी तान्ने ब्यबस्था मिलाउन हाकिमहरु गम्भिर छैनन । धरान खानेपानी बोर्डका सदस्य आनन्द श्रेष्ठले संस्थानले आयोजना सुरु भएदेखिनै नियतबस कमजोरी गर्दै आएको बताए । संस्थानले आयुडिपी आयोजना सुरु हुनु भन्दा अगाडी सुख्खा याम मा नयाँ धारा जडान गर्दैन थियो, नयाँ धारा जडान गर्न झण्डै छ महिना लाग्थ्यो तर आइयुडिपी सुरु भएपछि जुनसुकै बेला नयाँ धारा जडान गदैै आएको छ यो धरान खानेपानी आयोजनालाई गरेको असहयोग हो श्रेष्ठले भने । पहिले धारा जडान गर्न नगरपालिकाको सिफारीस अनिबार्य माग्ने गरेको थियो, अहिले उसले बिना सिफारीस धारा जडान गर्छ बोर्डका सदस्य श्रेष्ठले भने ‘संस्थानका अहिलेका प्रमुख र अधिकृतहरु गलत नियत लिएर काम गरि रहेका छन् । संस्थानले पानी तान्ने ठाउमा राखेको जेनेरेटर बिग्रेको बर्षौ भएको छ तर अहिलेसम्म बनाएको छैन उनले भने ‘यदी लोडसेडिङ हुने हो भने संस्थानले पानी तान्न सक्दैन । मेसिन नथप्नु र जेनेरेटर नबनाउनु भनेको पानीको अभाब गराएर स्थानीय सरकारप्रति जनता आक्रोसित पार्ने खराब नियत राख्नु हो श्रेष्ठले भने । २०७४ चैत्र १२ गते नै सेउतीको जंगलका सबै पम्प बिग्रिएपछि आयुडिपीको पम्पबाट पानी ल्याएर संस्थानले बितरण गरेको थियो । संस्थानले आफ्ना पम्पहरु बिग्रिएपछि हामीलाई गुहारेर १५ दिन पानी खुवाएको थियो आयुडिपी धरानका प्रमुख राजु पोख्रेलले भने ‘अहिले फेरी संस्थानको पम्प बिग्रिएको कुरा सुनेको छु उनले भने । नेपाल खानेपानी संस्थान धरानका प्रमुख रामकुमार श्रेष्ठले आफुहरुले नियतबस खानेपानीको अभाब गराएको नभएर प्राबिधिक समस्या परेको बताए । उनले संस्थानले सुख्खायाममा धरानमा पर्याप्त पानी खुवाउन सक्ने क्षमता नभएको समेत उनले स्वीकार गरे । उनले धरानमा दैनिक साढे ३ करोड लिटर पानीको आवश्यक्ता भएपनि आफुहरुले त्यो पुरा गर्न नसकेको बताए । मेसिन बिग्रने र जेनेरेटर नचल्ने समस्या आईरहेको भन्दै उनले संस्थानको स्वामित्व र सम्पती हस्तान्तरण गर्ने कुरा आफुमा नरोकिएको र मन्त्रालयमै रोकिएको बताए । पछिल्लोपटक सेउतीपुल नजिकैको चारकोशे जंगलमा रहेको संस्थानको डिप ट्युवेबाट पानी तान्ने दुवै पम्पको मोटर बिग्रेको भन्दै खानेपानीका लागि वैकल्पिक उपाय खोज्न सार्वजनिक सूचना जारी गरेको थियो । संस्थानको पम्पबाट दैनिक ५० लाख लिटर उत्पादन गर्दै आएको थियो । धरानमा अहिले १९ हजार ५ सय धारा छन् ।