याङशिला । मोरङ जिल्लाको उत्तरी भेग पहाडी क्षेत्रमा फुटबलको अचम्मको क्रेज (आकर्षण) देखिएको छ ।

केराबारी गाउँपालीकाको अधिकांश भूभाग पहाडी क्षेत्रमा पर्छ । साविक याङशिला गाविस, पाटीगाउ गाविस, सिंहदेवी गाविस अहिले केराबारी गाउँपालिका भएका छन् । सो क्षेत्रमा फुटबलको क्रेज साँचै अचम्मको देखिएको छ । केराबारी गाउँपालीका वडा नं. ४ मा वडा खेलकुद विकास समितिले आयोजना गरेको फुटबल खेलमा पहाडी क्षेत्रका महिला पुरुष गरी ५० वटा टिमको सहभागीता रह्यो । यही जेठ १० गतेदेखि सुरु भएर १५ गते समापन भएको प्रतियोगितामा पुरुष फुटबल प्रतियोगितामा ४३ टिमले सहभागीता जनाएका थिए भने महिला फुटबलमा पनि ७ वटा फुटबल टिमले सहभागीता जनाएका थिए ।

फुटबल खेलमा सहभागीता जनाउन पहाडि क्षेत्र धनकुटाको सागुरीगढी गाउँपालीका, चौबिसे गाउँपालीका र मोरङको पहाडी गाउँपालीका केराबारीका विभिन्न स्थानबाट पुगेका थिए । केराबारी–४ को वडा खेलकुद विकास समितिका सचिव नगेन रानाले सानो बजेटमा थोरै पुरस्कार राशी राख्दा समेत पहाडी क्षेत्रका टिमहरु थामिनसक्नु गरी आएको बताए । उनले भने –‘मुस्किलले ५÷७ टिम होला भन्ने आशा गरेका थियौ तर फुटबल प्रतीयोगिता भनेपछि टिमहरु कति आए कति विस्तारै समावेश गराउदै जाँदा ४३ टिम पुगेछ, अरु पनि टिमहरु त आएका थिए र खेल नै अस्तव्यस्त होला भनेर समावेश गराएनौ ।’

पहाडी क्षेत्र न खेल मैदान राम्रो छ, न त यातायातको सुविधा तर पनि फुटबल प्रति स्थानीय बालबालिकाको ठूलो चाहाना देखियो पहिलो पटक आयोजना गरिएको फुटबल प्रतियोगितामा वडा खेलकुद विकास समितिका अध्यक्ष रुद्रबहादुर थापाले भने ‘पहाडको ठाउँ होटल त के चिया पसल समेत नभएको ठाँउमा ५ दिनसम्म चलेको प्रतियोगितामा खेलाडीलाई खुवाउन बसाउन धेरै समस्या प¥यो ।’ उनका अनुसार एउटा घरमा २७ जनासम्म खेलाडीलाई बस्ने व्यवस्था मिलाउनु परेको थियो ।

प्रतियोगिताको विजेता पुरुष टिमलाई नगद रु १८ हजार र उपविजेतालाई नगद रु १० हजार पुरस्कारको दिइएको थियो भने महिलाको विजेता टिमलाई ५ हजार र उपविजेता टिमलाई ३ हजार नगद पुरस्कार दिइएको थियो । विरलै आयोजना हुने फुटबल प्रतियोगितामा यतिको मोह देखेपछि केराबारी गाउपालिकाकी उपाध्यक्ष तथा खेलकुद विकास समिति केराबारीकी संयोजक शान्तिकुमारी भूजेलले जग्गाको व्यवस्था स्थानीयले गर्न सके त्यसलाई मर्मत सम्भार गरी फुटबल खेल्न सक्ने गरीको स्तरोन्नतीको लागी बजेट छुट्याउन सकिने बताइन् । उनले भनिन् ‘पहाडमा फुटबल खेल्दैनन् भन्ने आम बुझाइ आज यो प्रतियोगिता हेरेपछि फेरीएको छ । पहाडमा त झनै थामिनसक्ने गरी फुटबल खेलिदो रहेछ ।’ तराई क्षेत्रमा जस्तो ठूलो खेल मैदानमा फुटबल खेल्न नपाएपनि आफुहरुलाई फुटबल खेल्ने इच्छा धेरै हुने खेलाडी मिलन मगरले बताए । उनले भने ‘यहाँ फुटबलको प्रतियोगिता नै हुदै हुदैन तर फुटबल त हामी बाझो बारीमा, फाटीलो टारमा तथा साघुरो चौरीमा भएपनि खेल्छौ नी ।’

अझ महिलाहरुको पनि ७ वटा टिमले प्रतियोगितामा सहभागीता जनाएको देख्दा केराबारी ४ नं. वडाका वडाध्यक्ष चकित परे । उनले भने ‘फुटबल प्रतियोगिता गर्ने भन्दा खेल्न को आउला र जस्तो लागेको थियो तर अहिले यहाँ स्कुलका केटीहरुले समेत खेलेको देख्दा अत्यन्तै खुसी लागेको छ ।’ प्रतियोगितामा सहभागी खेलाडीहरुले सरकारले खेल मैदान निर्माण गरिदिए पहाडी क्षेत्रमा पनि फुटबल खेलको विकास हुने बताएका छन् । अधिकांश विद्यार्थीहरु उच्च शिक्षाकालागी तराई झरेपछि मात्र फुटबल खेल्न पाउने भएकोले पहाडमा फुटबल खेलको विकास हुन नसकेको बताउछन् । तर पहाडमा पनि फुटबल प्रतिभाशाली फुटबल खेलाडी जन्मनेमा भने विश्वास गर्छन् ।

धनकुटाबाट फुटबल खेल्न आइपुगेका दिवस मगरले भने धनकुटाकै किरण चेम्जोङ नेपालको राष्ट्रिय टोलीको उत्कृष्ट खेलाडी हुदै भारतमा समेत राम्रो फुटबल खेलि रहेको र इलामका नवयुग श्रेष्ठ अहिले राष्ट्रिय टोलीको उत्कृष्ट स्ट्राइकर भएको स्मरण गरेका छन् । उनले भने ‘यति हुँदा पनि सरकारले पहाडी क्षेत्रमा खेल मैदान निर्माण गर्न सक्दैन ।’

केराबारी–४ मा सञ्चालन भएको फुटबल प्रतियोगिताको फुटबल तर्फको उपाधी चम्पाखोली फुटबल टिम केराबारी–६ ले जितेको छ भने मोदी फुटबल टिम केराबारी–३ उपविजेता भएको छ । त्यस्तै महिलाहरुको विजेता खदम महिला फुटबल टिम केराबारी–७ भयो भने उपविजेता केराबारी–४ कै लामिटार महिला फुटबल टोली भएको छ ।