तेह्रथुम । पुख्र्यौली पेशाको रुपमा भेडा पालन गरी राडीपाखी उत्पादन गर्दै आएका पुर्वी पहाडका भेडा कृषकलाई पछिल्लो समय चरन समस्या भएको छ । भेडा पालक कृषक पर्याप्त चरन क्षेत्रको अभावमा यो व्यवसाय छोड्ने अवस्थामा पुगेका हुन् । तेह्रथुम सहित संखुवासभा र ताप्लेजुका उच्च पहाडी तथा कछाड क्षेत्रमा पुस्तौँ देखि व्यवसायीक रुपमा पालिएका भेडालाई बढ्दो सामूदायीक वन र घट्दो चरिचरनका कारण चरन क्षेत्र अभाव भएको किसानको भनाई छ ।
चरन क्षेत्र साँघुरीएकाले पुराना भेडापालक किसानहरु समेत यो व्यवसाय छोडेर अर्को व्यवसायमा लाग्न थालेको तेह्रथुम लालिगुराँस नगरपालिका सुङनामका भेडापालक किसान छुमी गुरुङले बताईन् । पुर्वी पहाडमा ओखलढुंगाको रुम्जाटार पछि भेडा पालनका लागि प्रख्यात मानिएका यी जिल्लाका दश वर्ष अघिको तुलनामा अहिले भेडा पालन गर्ने कृषको संख्य ९० प्रतिशतले घटेको छ । ‘यहि गतिमा भेडापालन गर्न सबैले छोड्दै गए भने अबको पाँचवर्ष भित्रमा यहाँ भेडा भेट्न मुस्किल छ’ किसान गुरुङले भनिन् । एक दशक अघिसम्म साना र ठुला गरी यी तिन जिल्लामा ९ सयको संख्यामा रहेका भेडीगोठको संख्या पनि घटेर अहिले तिन सयको हाराहारीमा आईपुगेका छन् ।
कृषक गुरुङका भनाईमा यी बाँकी रहेका भेडीगोठमा पनि भेडाको संख्या अत्यन्तै थोरै छ । पुस्तौँ देखि भेडा चराउँदै आएका पुराना चउर र खर्कहरु सामुदायीक वनमा परिणत हुन थालेपछि भेडा चराउन खर्कको अभाव भएकोे छ । जिल्ला वन कार्यालयले प्रकृतिक रुपमा रहेको वनलाई स्थानीय जनतालाई संरक्षण गरी उपभोग गर्ने सम्मको अधिकार दिएर सामुदायीक वनको रुपमा समूहलाई जिम्मा दिएपछि बाँकी रहेका यी भेडीगोठका भेडालाई पनि कहाँ लगेर चराउने भन्ने चिन्ता कृषकलाई परेको छ । वन कार्यालयले समूदायलाई हस्तान्तरण गरेका ३ सय २० वटा सामुदायीक वनमा कुनै पनि सामुदायीक वन उपभोक्ता समितिले भेडा चराउन दिँदैनन् ।
पहिले भेडी गोठालाले तलुकदार वा जमिनदारलाई निश्चित कर बुझाएपछि लामो समयसम्म भेडा चराउन पाउँथे । बसन्तपुर टुटेदेउरालीका कृषक छिरिङ लामा चरन क्षेत्रमा पु¥याएका भेडालाई सामुदायीक वन, स्थानीय क्लबले चन्दा मागेर हैरान पार्ने गरेको बताउँछन् । जिल्ला वन अधिकृत देवी चन्द्र पोख्रेलले सामुदायीक वनमा भेडा चराए बापत कर लिने नलिने अधिकार स्थानीय वन समूहलाई नै भएको बताउछन् । भेडा पालनका लागि प्रसिद्ध मानिएका संखुवासभा नुनढाकी, सिद्धकाली, सिद्धपोखरी, जलजला, नुम, हटिया, चेपुवा, सभापोखरी, तामाफोक, बाह्रविसे तेह्रथुमका श्रीजुङ, मोराहाङ, सुङनाम र सोल्माका माथिल्लो क्षेत्र तथा ताप्लेजुङका हाङपाङ, चाँगे, ढुङगेसाँघु, निगुरादिन, फाकुम्बा, थिङलाबु लगायतका क्षेत्रमा पनि भेडा पालन गर्नेको संख्या घटिरहेको छ । मेन्छुयायेम गाउँपालिका मोराहाङका भेडापालक कृषक रामबहादुर गुरुङ भेडाका लागि चरन क्षेत्रनै मासिएपछि बाध्य भएर भेडा मास्नु परेको बताउँछन् ।
चरन क्षेत्रको अभावमा दिन दिनै ओरालो लागेको भेडापालन व्यवसायमा हालसम्म कुनै उन्नत प्रविधि भित्रिएको छैन । भेडालाई समय समयमा लाग्ने विभिन्न रोग, महामारी, जुका, नाम्ले जस्ता आन्तरिक तथा बाह्य परजीविका बारेमा समेत भेडीगोठालालाई कुनै जानकारी छैन । भेडापालक किसानहरु परम्परागत औषधिमुलोबाट नै भेडाको उपचार गर्दै आएका छन् । भेडा चराउन स्थान र आसपासका ईलाकाहरुमा पशुस्वास्थ्य कार्यालयहरु अहिले सम्म स्थापना भएका छैनन् । जसले गर्दा भेडामा कुनै रोग लागेमा वा महामारी फैलिएमा भेडापालक कृषकले ठूलो क्षति व्यहोर्नुपर्ने बाध्यता रहेको संखुवासभा मावादिन गाविसका भेडापालक कृषक सुरेन्द्र घिसिङले बताए ।
राडीपाखी घरमा आएका पाहुनालाई सत्कार गरेर ओछ्याईदिने, कोसेली तथा उपहार दिने र विक्रि गरेर नगद आम्दानी गर्ने राडीपाखी अहिले भेडापालनको गिरावट सँगै लोप भएर जाँदैछ । राडीपाखीका लागि प्रमुख कच्चा पदार्थको रुपमा रहेको भेडाको उन नै पाउन मुस्किल भएपछि राडीपाखी बनाउने व्यवसाय पनि लोप हुन थालेको यसको व्यवसायमा संलग्नहरु बताउँछन् । संखुवासभा नुनढाकीकी राडीपाखीकी अनुभवी उद्यमी डोमा लामा कच्चा पदार्थ भेडाको उन अभावमा मागेजति राडी उत्पादन गर्न नसकेको बताउँछिन् । उनका अनुसार राडीपाखीको माग अत्याधिक भए पनि उनको अभावमा चाहीएजति उत्पादन गर्न सकिएको छैन । सामान्य व्यक्ति देखि पर्यटक सम्मले खरिद गरेर लाने राडीपाखीका लागि उनको अभाव भएपछि यहाँका प्रत्येक घरमा संचालन भइरहेका चर्खा, राटा, उन फर्काउने, कात्ने, डल्याउने, तान लगाउने, बुन्ने, राडी माड्ने, लगायतका कामहरु समेत बन्द हुने अवस्थामा पुगेको उद्यमी लामाले बताईन् ।
आफ्नै मौलिक परम्परागत सीप र प्रविधि प्रयोग गरेर बनाईएका राडीपाखीहरु बिक्री गरेर घर व्यवहार चलाउँदै आएका महिलाहरुको समेत उन पाउन छोडेपछि रोजगारी गुमेको छ ।