धरान । मानव तस्करहरुले महिलालाई पासपोर्ट बनाउनेदेखि विदेश पुर्याउन पुरानै रुटमार्फत् नयाँ शैलीमा तस्करी गर्ने गरेका छन् । इराक पुगेकी धरान १७ की सीता खड्का तामागलाई सामना नेपालले एघार महिनापछि उद्दार गरेपछि तस्करको नयाँ शैलीबारे खुलेको हो । उनका अनुसार फोन कन्ट्याकमार्फत् पासपोर्टका बनाउनको लागि २० हजार रुपैयासम्म रकम दिने र पासपोर्ट बनेपछि पूर्वी नाका काकडभित्ता हुँदै दिल्ली पुर्याउँछन् । त्यसका लागि काठमाडौं, विर्तामोड, भारतको बागडुग्रा र दिल्लीमा एजेन्ट बस्ने गरेका छन् । ती एजेन्टले भाडामा लिएको कोठामा राख्ने र एक एक जना गर्दै काकडभित्ता नाकाबाटै प्रवेश गराउने गरेको पीडित तामागले बताइन् । आफूजस्ता ३९ जना महिलालाई तस्करीले विर्तामोडबाट दिल्ली पुर्याएको उनले बताइन् । उनलाई छिमेकी सर्मिला राईले काठमाडौं बौद्ध बस्दै आएकी पेमा शेर्पालाई सम्पर्क गराइन् । पेमाले झापा विर्तामोडका कृष्ण तामागलाई भेट गराइन् । कृष्णले गणेश जोगीमार्फत् दिल्लीमा दिल कार्कीलाई भेट गराएको पीडितले बताइन् । उनी २०७४ साउन २८ गते एजेन्टमार्फत् दिल्ली पुगेकी थिइन् । दिल्लीमा एक महिना राखेर दुबई हुँदै इराकको अर्बिन भन्ने स्थानमा पुर्याएको थियो । त्यहाँबाट बग्दादमा लगिएको थियो । जोगीले सीमा नाका प्रवेश गराउन एकजना बापत् १० हजार रुपैया लिने गरेको पीडित तामागको भनाइ छ । तस्करले सीमा नाकामा प्रवेश गराउने समयमा प्रहरी तथा मानवअधिकारकर्मीले सोधिहाले बागडुग्रामा आफन्तलाई भेट्न हिडेको बाहाना बनाउनको लागि सिकाउने गरेका छन् । ‘आफन्त को छ भनेर सोधिखोजी गर्यो भने सेटिग गराइरहेको कोही ड्राइभरहरु हुँदा रहेछन् । प्रहरी तथा मानवअधिकारकर्मीले फोन गरिहाले मेरो मान्छे हो भन्दा रहेछन् ।, सामनाकी अध्यक्ष चेतना श्रेरेग भन्छिन्, ‘सबै सेटिगमा चल्ने रहेछ । हरेक ठाउँमा तस्करीले सेटिग गरिरहेका हुने रहेछ ।, यस्ता मानव तस्करहरुको जालो तोड्न निकै कठिन हुने गरेको श्रेरेगको अनुभव छ । ‘हामीले पाँचजना भन्दा बढीलाई उद्दार गरिसक्यौं । तर पनि तस्करको सेटिग तोड्न सक्दैनौं ।, उनले भनिन्, ‘सरकारले यस्ता तस्करीको जालो तोड्नु पर्छ ।, तस्करले महिलाहरुलाई शरीरमा लगाएको एकसरो लुगामा मात्रै सीमा नाकाबाट प्रवेश गराउने गरेका छन् । झोला तथा पोका पन्तुरा बोकेको अवस्थामा बढी सोधीखोजी गर्ने भएकाले पनि तस्करहरुले शरीरमा लगाएको लुगा भन्दा अर्को लान नदिने गरेको पीडित तामागले बताइन । त्यसो गर्दा प्रहरी र मानवअधिकारकर्मीहरुले खासै चासो नदिने गरेको उनले बताइन् ।

यसरी उम्किन्छन् तस्करी उद्दारपछि पीडितहरु तस्करका विरुद्ध उजुरी नदिँदा अधिकांस तस्करहरु उम्किने गरेका छन् । अध्यक्ष श्रेरेग भन्छिन्, ‘पीडितहरुको भावना चाहिँ तस्करीलाई उजुरी दिने हुँदैन् ।, उद्दारपछि धरान आएकी तामागले पनि तस्करमा संलग्नहरुलाई उजुरी दिन खासै चासो देखाएकी छैनन् । परिवारमाथि तस्करहरुले मार्नेसम्मको धम्की दिने कारण पनि पीडितहरु तस्कर विरुद्ध उजुरी नदिने श्रेरेगको भनाइ छ । ‘धम्की दिने कारणले पनि पीडितहरु बोल्न चाहादैनन् ।, उनी भन्छिन् । तामागको परिवारमाथि पनि पेमाले मार्नेसम्मको धम्की दिएको उनले बताइन् । पीडित तामागको परिवारले मानव बेचविखनमा मुद्दा दर्ता गर्न खोजे पनि अहिले सीताले नै उजुरी दिन आनाकानी गरिरहेकी छन् । उजुरी नदिएकै कारणले धेरै तस्करहरुलाई सहज हुने गरेको धारणा सामनाकी सचिव सारदा मास्के बताउँछिन् । ‘मानव बेचविखन हो । थाहा छ । उजुरी नदिँदा उनीहरुलाई खुल्ला भइहाल्यो नी । उनीहरुले त फेरि पनि यस्तै काम गर्ने भइहाले नी ।, उनी भन्छिन् । संस्थाले मात्रै धेरै चासो देखाउँदा आरोप प्रत्यारोप हुने कारणले पनि संस्थाले उद्दारसम्म गरिदिने गरेको उनको भनाइ छ । ‘पीडितले नै नबोलेपछि के गर्नु ।, उनले भनिन् । यसअघि पनि सामनाले २०७३ साल भदौं २४ गते इराकको कुर्दिस्तानबाट उद्दार गरी ल्याएको सरस्वती साह आचार्यको मुद्दामा पनि प्रभावकारी कदम चाल्न सकेन ।

१५ हजार डलरमा बिक्री गरियो इराकको अर्विन भन्ने स्थानमा पुर्याएकी तामागलाई दुईपटक गरी १५ हजार अमेरिकी डलरमा बिक्री गरिएको थियो । पीडित तामागका अनुसार सुरुमा आफूलाई साढे ७ हजार डलरमा बिक्री गरिएको थियो । उनलाई पहिलो कम्पनीले घरेलु कामदारको रुपमा फरक फरक घरहरुमा बिक्री गरेको थियो । केही समयपछि आफू बिरामी भएपछि सुरुको एजेन्टलाई दोस्रो एजेन्टले ‘कि मेरो साढे सात हजार फिर्ता दे, कि मेरो मान्छे ले भन्दै भनेपछि आफू बेचिएको भन्ने बारेमा जानकारी पाएको बताइन् । उनले आफू बिरामी भएपछि काम गर्ने घरमा भन्दा बढी कार्यालयले यातना दिने गरेको बताइन । उनले भनिन्, ‘तलाई समुद्रमा फालिदिन्छु । मारिदिन्छु भन्दै धम्क्याउँथ्यो ।,

सामनाको दबाबपछि उद्दार स्थानीय एजेन्टदेखि दिल्लीको एजेन्टसम्मलाई दवाव दिन थालेपछि मात्रै तामागको उद्दार सम्भव भएको सामनाकी अध्यक्ष श्रेरेग बताउँछिन् । ज्यानै जाने अवस्था आएपछि मात्रै भिडियो कलमार्फत् स्थानीय एजेन्ट सर्मिला राईको नाम बताएपछि मात्रै दवाव दिन सहज भएको उनी बताउँछिन् । ‘सुरुमा एजेन्टको नाम नै नभन्ने ।, उनले भनिन्, ‘जव आफ्नो ज्यानै जाने अवस्था आएपछि मात्रै हामीलाई भिडियो कलमार्फत् एजेन्टको नाम भनिन् ।, तर, स्थानीय एजेन्ट सर्मिला राईले भने आफूहरुले नाताले सोल्टिनी पर्ने पेमालाई फोनमार्फत् कन्ट्याकमात्रै गराएको दाबी गरिन् । ‘कन्ट्याक गराइदेउ बिदेश जान्छु भनेर हत्ते गरेपछि मैले मेरो फोनबाट कन्ट्याक मात्रै गराइदिएको हो ।, उनले फोनमा भनिन्, ‘यस्तो हुन्छ भन्ने भएको भए म कन्ट्याक नै गराउने थिइन ।, उनले आफूले नपठाएको जिकिर गर्दै भनिन्, ‘दिनदिनै सोधीखोजी गरेपछि मेरो मान्छेले पठाउँछ भनेर मात्रै मैले जानकारी दिएको हो । यसमा मेरो कुनै संलग्नता छैन् ।, यता पेमालाई उनको फोन नम्बरमा सम्पर्क गर्दा फोन लागेन । पेमा काठमाडौंको वौद्धमा बस्दै आएकी छन् ।