पानवारी । गत जेठ ५ गते चितवनमा देखिएको बर्डफ्लुले मुलुकभरीका कुखुरा पालन किसान तथा व्यवसायीलाई त्रसित बनाएको छ । चितवनमा देखिएको बर्डफ्लु काठमाडौमा समेत फेलापरेपछि मुलुकभरी कुखुरापालन गर्ने किसान र त्यसको व्यवसाय गर्ने व्यवसायीहरुलाई त्रसित बनायो ।
तर धरानमा भने भिन्न रुपमा त्यसको प्रभाव परेको छ । वर्डफ्लुको त्रास देखाएर व्यवसायीहरुले किसान तथा उपभोक्ताहरुलाई ठगी गरिरहेका छन् । व्यवसायहीहरुले किसानबाट सस्तो मुल्यमा कुखुरा किनेर उपभोक्तालाई महंगोमा विक्रि गर्न संगठित रुपमा नै लागी परेका छन् । इटहरीमा गत जेठ ११ गते पोल्ट्री व्यवसायीहरुको भेलाले कुखुराको मासुको मूल्य घटायो उनीहरुले जिउदो कुखुराको मूल्य १ सय ६० कायम गरे भने तयारी कुखुराको मुल्य २ सय २० कायम गरे र विभिन्न सञ्चार माध्यममा त्यसको प्रचार भयो । सो प्रचार भएपछि धरानमा पोल्ट्री व्यवसायीहरु (डिलर)ले गत जेठ १३ गते वैठक बसी धरानमा कुखुराको मूल्य समायोजन गर्नुको सट्टा धरानमा अन्यत्रको कुखुरा प्रवेशमा रोक लगाए ।
जेठ १३ गते पशु प्राविधिकहरुको भनिएको ‘गरिबी निवारणकोलागी स्वयम सेवकहरुको प्रयास सञ्जाल नेपाल’ नामक संस्थाले कुखुरापालन गर्ने किसानहरुलाई समेत सहभागी गराएर धरानमा बाहिरको कुखुरा प्रवेशमा रोक लगाए । संस्थाका अध्यक्ष दिलकुमार लामिछानेको अध्यक्षतामा बसेको बैठकले धरानमा अन्यक्षेत्रको कुखुरा जनय बस्तु ल्याउने रोक लगाउने भन्दै व्यवसायी ओम कटुवालको संयोजकत्वमा त्यसको अनुगमन गर्ने गरी स्टेरीङ कमिटि समेत गठन गरेको थियो । लगत्तै इलाका प्रहरी कार्यालय धरानलाई चिठि लेखेर धरान बाहिरको कुखुरा धरान प्रवेशमा रोक लगाउन अनुरोध गरेको थियो । त्यसपछि धरानमा बाहिरको कुखुरा भित्रिन दिइएको छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले भने– ‘हिजो एउटा गाडी आएको रहेछ सोधपुछ गर्दा पानवारीको भन्ने पत्ता लाग्यो त्यसलाई छोडिदियौ त्यसबाहेक बाहिरको कुखुरा आएको छैन ।’
बर्डफ्लुको जोखिम भए प्रशासनले अध्ययन गरी रोक लगाउनु पर्नेमा पहुचवाला व्यापारीले एउटा चिठि लेखेको भरमा यसरी सिण्डिकेट लगाउन प्रहरीले सहयोग गरेको भन्दै धरानका उपभोक्ता आश्चर्यमा छन् । ‘बाहिरको कुखुरा आएमा धरानमा बर्ड फ्लु आउछ र सबै कुखुरा मारिन्छन्’ भन्ने त्रास किसानलाई देखाइयो एक कुखुरा पालन गर्ने किसानले बताए । उनका अनुसार २ सय २० देखि २ सय ४० रुपैयासम्मको मूल्यमा किसानले बेचेको कुखुराको मुल्य घटाएर १ सय ५० देखि १ सय ६० मा झारे तर उपभोक्तालाई भने विक्री मुल्य घटाइएन । पहिला पनि उपभोक्तालाई ३ सय रुपैयामा बेचिन्थ्यो अहिले पनि कुनै कुनै पसलमा २ सय ८० ले बेचिन्छ नत्र सबैतिर ३ सय रुपैया नै उपभोक्ता मूल्य छ । अहिले धरानका अधिकांश मासु पसलमा कुखुराको मासुको मुल्य ३ सय नै कायम छ भने केही केही मा २ सय ८० पनि छ ।
धरान–१५ का बमबहादुर खड्काले भने –‘२ सय भन्दा कम मूल्यमा कुखुरा बेच्नु प¥यो भने हामी किसानलाई घाटा लाग्छ । अहिले दानादेखि लिएर भुस, औषधी सबैको भाउ बढेको छ ।’ उनले कुखुराको मुल्य सधै एकरुपता कायम हुन नसक्दा त्यसैमा खेलेर व्यवसायीहरुले फाइदा उठाउने गरेको गुनासो गरे । स्थानीय सरकारले समेत किसानको पीडा नदेखेको भन्दै उनले भने व्यवसायीले जथाभावी बजार मुल्य राख्दा खोइ सरकारले त्यसको अनुगमन गरेको ?’
धरानका किसानका कुखुरा सस्तोमा किनेर महंगोमा बेच्ने अनि धरान बाहिरबाट आउने सस्तो मुल्यका कुखुरा समेत धरानमा भित्रिन नदिएर कुखुराका डिलरवालाहरुले सिण्डिकेट चलाएको धरानकै एक मासु व्यवसायीले बताए । उनले आक्रोस पोख्दै भने –‘हामी बाहिरबाट कुखुरा सस्तोमा ल्याएर बेच्नेलाई बर्डफ्लु आउछ भनेर रोक लगाए र उनीहरुले किसानलाई मारेर सस्तोमा किने अनि उपभोक्तालाई महंगोमा बेच्दैछन् त्यो पनि प्रशासनको सहयोगमा ।’ यस्तो कार्यलाई धरान उपमहानगरपालिकाले अध्ययन गरी रोक्नु पर्ने समेत उनले बताए ।
मासु व्यवसायी ओम कटुवालले भने ‘अहिले बर्डफ्लुको त्रासले कुखुराको मूल्य घटेको छ हामीले कुखुरामा सिण्डिकेट लगाएको नभइ प्रशासनलाई त्यसबारे सचेत मात्र गराएका हौ र बाहिरको कुखुरा धरान ल्याउन रोक लगाउने कुरामा त्यसलाई पूर्ण रुपमा रोक नलगाई कुखुराको स्वास्थ्य जाँच गराएर ल्याउन अनुरोध गरेको हौ ।’