तेह्रथुम । म्याङलुङ नगरपालिका १० तम्फुलामा रहेको शारदा आधारभुत विद्यालयका विद्यार्थीको पढाई पिउने पानी अभावमा प्रभावित हुने गरेको छ । गाउँ हुदै विद्यालय सम्म ल्याएको पानी नियमित नहुदा विद्यार्थीले पिउने पानीको समस्या झेल्दै आएका हुन् ।
तम्फुला खानेपानी आयोजनाको पाईपबाट विद्यालय सम्म ल्याईएको पानी मुहान क्षेत्र र गाउँमा अवरुद्ध नहुदा विहान केही समय मात्र आउछ । सिमित समय आएको पानीले विद्यालयमा रहेको रिजर्भ ट्याङकी भर्न नपाउदा विद्यार्थीलाई पिउनका लागि वर्षभरी नै पानीको समस्या हुने गरेको प्रध्यानाध्यापक थालेश्वर गुरागाईले वताए ।टिफिनका लागि केही समय छोडेका विद्यार्थी पिउने पानी खोज्दै गाउँ पस्ने र फर्किएर आउदा ढिला गरी आउने भएकाले त्यस पछिको पढाई समय प्रभावित हुने गरेको उनले वताए । सानो पाईपबाट गाउँसम्म ल्याएको पानी पनि प्रयाप्त नभएकाले गाउँमा समेत पिउने पानीको समस्या छ । थोरै समय आएको पानी ५ सय लिटर क्षमताको हिलट्याङकमा जम्मा गरेर विद्यालय भवन भित्र सानो कोठामा चावी लगाएर राखीएको छ । ५ सय लिटर क्षमताको उक्त हिलट्याङक अहिले सम्म भरीन पाएको छैन् ।
विहान जम्मा भएको २ सय लिटर जती पानीले आधा विद्यार्थीलाई पनि पुग्दैन् । साना विद्यार्थीलाई पालोमा राखेर पानी पिउन दिदा दिदै सकिने गरेको र ठुला विद्यार्थीलाई कहिले पनि पानी नपुग्ने गरेको शिक्षक ईन्दु सुवेदीले बताईन् । चावी लगाएर राखेको पानीले नपुगेपछि ठुला विद्यार्थी जती नजीकको गाउँतर्फ लाग्छन् । गाउँमा पनि प्रयाप्त पानी नभएकाले कहिले कांंही आधा घण्टा टाढा सम्म पिउने पानी दिने घर खोज्दै पुग्नु पर्ने छात्रा रस्मी पौडेलले वताईन् । गाउँमा गएर पानी पिएर आउदा पढाई शुरु भएर धेरै पटक घण्टी नै छुटेको उनले दुखेसो पोखीन् । विहान सिमित समय आउने पानीलाई अरुले चोरेर लाने डरले हिलट्याङकमा जम्मा गरेर कोठामा चावी लगाएर थुनेर राख्ने गरीएको विद्यालय प्रशासनले जनाएको छ । ‘पानी चोरी भए विद्यार्थीलाई खुवाउन सकिन्दैन्’ प्रअ गुरागाईले भने ‘जती पानी आउछ त्यसलाई जोगाएर राख्ने हो ।’
विद्यालयले विद्यार्थीलाई पिउनेपानीको जोहो गर्नकै लागि प्रत्येक दिन अपरान्ह ४५ मिनेट छुट्टी दिन्छ । एकै पटक धेरै विद्यार्थी पानी खोज्दै गाउँ पस्ने भएकाले गाउँले अभिभावकलाई पनि यी विद्यार्थी समस्या वनेका छन् । मुस्कीलले जोहो गरेको पानी सवै विद्यार्थीले पिईदिने गरेकाले विहान वेलुका खाना पकाउन समेत पानी अभाव हुने गरेको अभिभावक चक्र खड्काले वताए । पानी माग्दै विद्यार्थी गाउँभरी छरीने गरेको उनले वताए । विद्यालय समय भन्दा अघि विहान केही समय मात्र पानी आउने र विद्यालय समयमा पानी नआउने गरेको विद्यालयले जनाएको छ । विद्यालय आसपास पानीका मुहान र धारा कुवा नभएकाले अभिभावक र विद्यार्थी सवैलाई यो गाउँमा पानीको समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष फौद सुवेदीले वताए । टाढाबाट स्थायी रुपमा विद्यालयमा पानी ल्याउन साविक नगरपालिका, खानेपानी तथा सरसफाई सवडिभिजन कार्यालय लगायतका सरकारी तथा अन्य गैरसरकारी संघ संस्था संग हारगुहार गर्दा पनि सुनुवाई नभएको अध्यक्ष सुवेदीले वताए ।
कक्षा ८ सम्म पढाई हुने यो विद्यालयमा ६० जना विद्यार्थी छन् । शिक्षक सुवेदीका अनुसार ०११ सालमा स्थापना भएको यो विद्यालयले ०३९ साल देखी निरन्तर पिउने पानीको समस्या झेल्दै आएको छ । पानी पिउन गाउँ पसेका अधिकाशं विद्यार्थी टिफिनको समय पछि फर्किएर नआउने गरेकाले त्यस पछिका घण्टीमा सवै कक्षामा विद्यार्थी संख्या घट्दै जाने गरेको शिक्षकको गुनासो छ । पहिले गाउँमा रहेका कुवा तथा मुलहरु सुकेर गएकाले पानीको हाहाकार भएको शिक्षक सुवेदीले वताईन् । पिउने पानीकै अभाव भएपछि गाउँका पुन्य पैसाद रेग्मी, कमल कार्की, महेन्द्र डांगी, राम प्रसाद गुरागाई पुर्वी तराई तर्फ वसाई गैसकेका छन् । वडा नं. ४ का चन्द्र वहादुर सुवेदी, हर्क वहादुर सुवेदी, नरेश थापा, डिल्ली प्रसाद गुरागाई, नन्द वहादुर भण्डारी लगायतका गाउँले पनि वसाई जाने तयारीमा छन् । पानी अभावमा गाउँलेहरु आफ्नो उर्भर जमिनमा वर्षको एक वाली मात्र कमाई लगाउछन् ।