शनिश्चरे/प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिका क्षेत्रमा अझै पनि ५ सय घरपरिवार शौचालयविहीन छन् । नगरका वडाहरुमा शौचालय निर्माण सम्पन्न नगरी नै खुला दिशामुक्त वडा घोषणा गरिएको थियो ।
नगरपालिकामा रहेको तथ्यांकले २ सय ७० घरमा शौचालय नभएको देखाउँछ । उता, वडाअध्यक्षहरुले संकलन गरेको तथ्यांक अनुसार करीब ५ सय घरधुरीमा शौचालय बनाउन बाँकी रहेको उल्लेख गरिएको छ । तर नगरपालिकासँग असुरक्षित शौचालयको तथ्यांक नै छैन । नगरपालिका र वडाअध्यक्षहरुसँगको तथ्यांक कूल शौचालयको तथ्यांक हो । वडा तथा समग्र नगरमा सुरक्षित र असुरक्षित शौचालयको यकिन तथ्यांक नभएको ३ नम्वर वडाध्यक्ष नवीन बरालले वताए । तर उनले आफ्नो वडामा ९८ घरधुरीमा शौचालय नै नभएको जनाए ।
‘असुरक्षित शौचालयको संख्या पनि धेरै छ ।’– उनले भने । आफुहरुलाई कसैले पनि कति शौचालय बनेपछि खुला दिसामुक्त क्षेत्र घोषणा गर्न मिल्छ भन्ने कुरा नवताएको जनाए । ‘९०, ९५ प्रतिशत पुगेपछि पाइन्छ भन्ने थियो र त्यही अनुसार त्यसबेला घोषणा भयो ।’– , तात्कालिन वडा नागरिक मञ्चका संयोजकसमेत रहेका वडाध्यक्ष बरालले भने । शौचालय नभएको वस्तीमा खोलाकिनारमा वस्ने सुकुम्वासी वस्ती रहेका छन् ।
दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसमेत असुरक्षितखाले शौचालयको तथ्यांक आफूहरुसँग नभएको उल्लेख गर्छन् । नगरपालिकाभरिका करिब २५ प्रतिशत शौचालय व्यवस्थित गर्नुपर्ने ओलीको अनुमान छ । उनले शौचालय वन्न वाँकी रहेका घरधुरी पनि रहेको जानकारी आएको वताए । साविकमा १९ वडा थिए । त्यो बेला वडाहरु खुलादिशामुक्त घोषणा भएका थिए । तर हाल सोही क्षेत्र समेटेर १० वडामा सिमित बनेको नगरपालिका नै खुल्ला दिसामुक्त घोषणा हुन सकेको छैन ।
सरसफाइ गुरुयोजना २०६८ अनुसार कुनै पनि इकाइ खुल्ला दिसामुक्त घोषणा हुनका लागि त्यसभित्रका सम्पूर्ण घरधुरीको सुरक्षित शौचालयमा पहुँच हुनु अनिवार्य हुनेगर्दछ । तर, दमक नगरपालिकाका तात्कालिन वडाहरु खुल्ला दिसामुक्त घोषणा हुँदा कुनै पनि वडाका सतप्रतिशत घरधुरीमा सुरक्षित शौचालयको पहुँच थिएन । स्थानीय तह पुनःसंरचना हुनुअघि खुल्ला दिसामुक्त घोषणा गरिएको साविक वडा नम्वर २ मा १८, ३ मा ७३, ४ मा १५ घरधुरी शौचालयविहीन थिए । हाल वडा नं. ९ मा गाभिएको तात्कालिन १५ नम्वर वडा खुला दिसामुक्त घोषणा हुँदा ५८ घरमा शौचालय थिएनन् ।
१० मा गाभिएका तात्कालिन वडा नंम्वर १७ मा ३४, १८ मा ४० र १९ मा ३६ घरमा शौचालय नबन्दै खुला दिसामुक्त घोषणा भएको थियो । ‘९५ प्रतिशत घरधुरीमा चर्पी बनेमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्न पाइन्छ भन्ने थियो, त्यसै गरियो ।’–, सामाजिक शाखाका डम्बर बराल भन्छन्छन् ‘पहिले नै प्राविधिक विषय प्रष्ट थाहा पाएको भए पहिल्यै समस्या समाधान गरिन्थ्यो ।’ खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय झापाका प्राविधिक रुद्रबहादुर न्यौपानेले दमक नगरपालिकाभित्र रहेका सबै वडा नागरिक मञ्चका संयोजक र सामाजिक परिचालकहरुका लागि गोष्ठी सञ्चालन गरेरै खुला दिसामुक्त क्षेत्र घोषणाका सम्वन्ध प्रष्ट जानकारी गराएको दावी गर्छन् । ‘सबै घरधुरीमा शौचालय नबनिकनै खुला दिसामुक्त वडा घोषणा गर्नुभएको हो भन्ने कुरा धेरै पछिमात्र थाहा पायौं ।’– उनले भने । २०६८ को राष्ट्रिय जनगणनामा दमक नगरपालिकामा रहेका १८ हजार १ सय ४ घरधुरीमध्ये ५ हजार ७ सय ९४ वटा असुरक्षित र १० हजार ४ सय ७० सुरक्षित शौचालय रहेको देखिन्छ । यस तथ्यांकले ३५.६२ प्रतिशत शौचालय असुरक्षितखाले रहेको देखाउँछ । तर सम्वन्धित निकायका तथ्यांकहरु आपसमा मिलेका भनें छैनन् ।
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाको तथ्यांकमा दमकका १ सय १९ घरमा सुरक्षित शौचालय नभएको देखाउँछ । तथ्यांक नमिलेपनि नगरमा असुरक्षित शौचालयहरु रहेको कुरा भनें स्पष्ट हुन आउँछ । यसका साथै शौचालय नभएका घरपरिवारको संख्या पनि नामेट भएको छैन । ‘सबै वडा खुल्ला दिसामुक्त घोषणा भएको बेला नगरपालिका भरिमा ७ सय ४९ घरमा शौचालय नभएको अवस्था थियो ।’– नगरपालिकाका हालका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाले भने ।
त्यसपछि पनि नगरपालिकाको सहयोगमा ३ सय ८३ घरधुरीमा शौचालय बनेको तथा सोही अवधिमा ९६ घरधुरीले आफ्नै लगानीमा शौचालय वनाएको उनको भनाई छ ।
उता, दमक नगरपालिकामा आयोजना गरिएको छलफल कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षसमेत रहिसकेका ८ नम्वर वडाध्यक्ष पशुपतिराज गौतमले करिव २ हजार शौचालय मापदण्ड विपरितका असुरक्षित वर्गमा पर्ने वताए । वडा नं. १ को पूर्वी भेकको सुकुम्बासी बस्तीमा शौचालय नै छैन । वडा नं. ७ र ८ मा दर्जनौं घरधुरीमा चाँही शौचालय बनाउने जग्गा नै छैन । ५ नम्वर वडाको चर्पीको दिशा सिधै डाकिनी खोलामा खोलामा मिसाइएको छ ।
वडा नम्वर २ मा मात्र १ सय बढी घरमा शौचालय नभएको वडाध्यक्ष प्रजापति सापकोटाले वताए । वडा नं. १ मा हालसालैमात्र ८० नयाँ घर थपिएको र तीमध्ये अधिकांश घरमा शौचालय नभएको वडाध्यक्ष तारा अधिकारीको भनाइ छ । यी थपिएको घरमा शौचालय भए नभएको तथ्यांक नगरपालिकासँग छैन । तथ्यांक अनुसार वडा नं. १ मा मात्र ७५ घरधुरीमा शौचालय बन्न बाँकी छ ।