बिर्तामोड । ब्यापारिक केन्द्रको रुपमा पहिचान बनाएको झापाको बिर्तामोड अहिले स्वास्थ्य उपचारको हब बन्दै गएको छ । सुविधासम्पन्न अस्पताल स्थापना तथा गुणस्तरीय उपचार हुने भएका कारण बिर्तामोड स्वास्थ्य उपचारको हब बन्दै गएको हो । सम्पुर्ण रोगको उपचार हुन थालेपछि बिर्तामोडमा बाहिरबाट उपचारका लागि आउने बिरामीको भिड लाग्न थालेको हो । मानसिक रोग, हाडजोर्नी, नसा, मुटु लगायतका जटिल उपचार बिर्तामोडमै हुन थालेको हो । अत्याधुनिक उपकरण तथा ख्यातीप्राप्त चिकित्सकको सेवाले बिर्तामोडमा उपचार गर्नका लागि बिरामी तानिरहेको अस्पतालको दावी रहेको छ । बिर्तामोडमा नेपाल सहित, भारतको पश्चिम बंगाल, आसाम, मनिपुर, नागाल्याण्ड, बिहार, सिक्किम लगायतका स्थानबाट उपचारका लागि बिरामीहरु आउने अस्पतालले जनाएका छन् । यतिसम्म कि बिर्तामोडको मेची आँखा अस्पतालमा कार्यरत कर्मचारीले समेत हिन्दी, आसामीज, बंगाली अंग्रेजी भाषा प्रयोग गर्ने गरेका छन् । भारतीय बिरामीको सुविधाका लागि कर्मचारीले ति भाषाको प्रयोग गर्नु परेको हो । दुई दशक अघिसम्म मेची आँखा अस्पताल बाहेक बिर्तामोडमा सीमित सङख्यामा क्लिनिकहरु ँ सञ्चालनमा थिए । त्यसयता यहाँ एक दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा आएका छन् । बिर्तामोडमा अस्पतालको भिड बढेसँगै सेवाग्राहीलाई उपचार सुविधा दिने होडवाजी पनि बढ्न थालेको छ । २०६१ सालमा डा सिपी यादवको सक्रियतामा कञ्चनजङ्घा अस्पताल स्थापना भएसँगै बिर्तामोडमा निजी एवम् सामुदायिक अस्पताल खुल्ने क्रम बढेको हो । गुणस्तरीय तथा सुविधासम्पन्न अस्पताल सञ्चालनमा आएपछि उपचारका लागि बिर्तामोड आउने क्रम बढेको हो । यससँगै अस्पतालमा निजी क्षेत्रको लगानी पनि बढेको छ । अस्पतालकै हाराहारीमा डायग्नोस्टिक सेन्टरले पनि चिकित्सक राखेर सेवा दिदै आएका छन् । बिर्तामोडमा उपचारका लागि दैनिक चार हजारभन्दा बढी बिरामी आउने गरेको संलग्न स्वास्थ्य व्यवसायी बताउँछन् । बिर्तामोडमा तीनसय शैयाको बिएन्डसी अस्पताल, कञ्चनजङ्घा, कनकाई, मनमोहन सामुदायिक पूर्वाञ्चल क्षेत्रीय अस्पताल, अञ्जली, मेडिका र बिर्तासिटी अस्पताल सञ्चालनमा छन् । मेची आँखा अस्पताल, दृष्टि आई हस्पिटल र बिर्तामोड आई हस्पिटलका साथै दाँतको उपचारका लागि मानव डेन्टल, अस्ट डेन्टल, मेची डेन्टल, प्रो पब्लिक डेन्टल, मकालु डेन्टललगायत आधा दर्जनभन्दा बढी अस्पताल सञ्चालनमा छन् । बिएण्डसीमा भारतको दार्जिलिङ, सिक्किम, पश्चिम बंगाल, बिहार लगायतका स्थानबाट उपचारका लागि आउने गरेका छन् । भारतका अस्पतालमा भन्दा नेपालमा सस्तो मुल्यमा उपचार हुने भएका कारण बिएण्डसीमा भारतीय बिरामीको चाप बडेको जनसम्पर्क अधिकारी प्रमिश गिरी बताउँछन् । त्यो हस्पिटलमा पेन्टेरो ९०० मेशिनबाट नशाको प्रभावकारी परिक्षण तथा उपचार हुने उनले बताए । मेडिकल कलेजको सम्बन्धन पाउँनका लागि प्रक्रियामा रहेको सो अस्पतालले १ सय १० जना प्रोफेसर डाक्टर सहित ८ सय जनालाई रोजगारी दिएको दावी गरेको छ । विएण्डसीले सुविधासम्पन्न क्यान्सर अस्पताल सञ्चालनमा ल्याउन लागेको छ । असोजदेखि पुर्वाञ्चल क्यान्सर अस्पताल समेत सञ्चालनमा ल्याउने गिरीले बताए । ‘बिएण्डसी रेफर सेन्टर जस्तो भएको छ, गिरीले भने–‘५० बेडको आइसियु, २५ बेडको एनआइसियु र २० बेडको पिआइसियु सञ्चालन गरेका छौं, धरानको घोपा र बिराटनगरको नोबेलबाट पनि बिरामी यहाँ रेफर हुँदै आएका छन् ।’ अन्यत्र भएका अस्पतालमा उपचार हुन नसकेका बिरामीहरु बिएण्डसी अस्पताल आउँने क्रम बडेको उनले बताए । फिजियोथेरापी र आयुर्वेद चिकित्सा प्रणालीको विकासमा सहयोग गर्ने लक्ष्य र उद्देश्यका साथ स्पार्क पूर्वाञ्चल अस्पताल, सुश्रुत आयुर्वेदिक अस्पताल सञ्चालनमा छन् । २०५३ सालमा आइकेयर फाउन्डेसन नेदरल्यान्डद्वारा सञ्चालित मेची आँखा अस्पतालमा दैनिक ६ सयभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । एकसय ७५ शैया रहेको अस्पतालमा आँखाको शल्यक्रियासमेत हुने अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले बताए । बरिष्ठ आँखा रोग विशेषज्ञले सेवा दिँदै आएको अस्पतालमा आधा भन्दा बढी भारत, बङ्गलादेश लगायतका बिरामी आउने गरेका छन् । अस्पतालमा छुट्टै पेडियाट्रिक वार्ड रहेको उनको भनाइ छ । अस्पतालमा गुणस्तरीय उपकरण र मापदण्ड अनुरुपको भौतिक संरचना रहेको अस्पताल स्रोतले जनाएको छ । २५ शैयाको कञ्चनजङ्घा अस्पतालमा गाइनो, अर्थोपेडिक, जेनेरल सर्जरी, फिजिसियन, प्लाथोलोजी ल्याब, भिडियो एक्स–रे, एम्बुलेन्स लगायतका सेवा रहेको अस्पतालका चिकित्सक सिपी यादवले बताए । २०६३ सालमा स्थापना भएको ५५ शैयाको कनकाई अस्पतालले दैनिक एक सयजनाभन्दा बढी बिरामीलाई ओपिडी सेवा दिने गरेको छ । यहाँ बालरोग विशेषज्ञसहित आधा दर्जनबढी पूर्णकालीन चिकित्सक छन् । अन्य अस्पतालसरह सेवासुविधा दिँदै आएको अस्पतालमा पाँचसय एमएमको कम्प्युटराइज्ड एक्स–रेसमेत रहेको अस्पतालका सञ्चालक खेमराज बानियाँले बताए । यस क्षेत्रको स्वास्थ्य आवश्यकतालाई पूरा गर्ने उद्देश्यले २०६८ सालदेखि सञ्चालनमा आएको सय शैयाको मनमोहन सामुदायिक पूर्वाञ्चल क्षेत्रीय अस्पतालमा थाइराइड, डाइबिटिज, हाडजोर्नी, नसा, गाइनो, रेडियोलोजी लगायतका सेवा उपलब्ध रहेको अस्पतालले बताएको छ । ६ शैयाको आइसियु सेवासमेत रहेको अस्पतालमा दैनिक चार÷पाँचवटा शल्यक्रिया हुने गरेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । बिर्तामोडमै २५ शैयाको मेडिका हस्पिटल सञ्चालनमा छ । अन्य अस्पताल सरह बाल रोग, गाइनो, जनरल सर्जन, अर्थोपेडिक, फिजिसियन लगायतका सेवा उपलब्ध रहेको अस्पतालका सञ्चालक हरिशचन्द्र बास्तोलाले बताए । अस्पतालमा अत्याधुनिक उपकरण भएको बताउँदै उनले उपचारका लागि यहाँका बिरामीले सिलिगुडी जानु नपर्ने बताए । बिर्तासिटी अस्पतालले १०० शैयाको सेवा सञ्चालन गरेको छ । अस्पतालको मापदण्डअनुसार भौतिक संरचना भएको अस्पतालले मिर्गौलाका बिरामीका लागि बिर्तामोडमै पहिलोपटक डाइलाइसिस, मानसिक रोग र बालरोग विशेषज्ञको पिआइसियु सहितको सेवा सुरु गरेको छ । अन्य सेवा भने अरू अस्पतालको झैँ प्लाथोलोजी, एक्स–रे, भिडियो एक्स–रे, इसिजी लगायतको सेवा चौबिसै घन्टा उपलब्ध रहेको अस्पतालका अध्यक्ष गोपालकुमार बस्नेतले जानकारी दिए । मुटु, न्युरो, बालरोग लगायतमा उत्कृष्ठ सेवा प्रदान गर्दै आएको उनले बताए । अस्पतालसँगै बिर्तामोडमा हिमालय, बजरङ्ग, अपूर्व, बिर्ता मेडिकल एन्ड डायग्नोस्टिक, आश्विन, साथी, कान्तिपुर लगायतका डायग्नोस्टिक सेन्टरले काठमाडौँ, विराटनगर, धरान लगायतका स्थानबाट विशेषज्ञ चिकित्सक ल्याएर दैनिकजसो सेवा दिँदै आएका छन् । प्रत्येक डायग्नोस्टिक सेन्टरमा दैनिक बिरामीको भीड लाग्ने गरेको छ । बिर्तामोडमा सञ्चालनका लागि दुईसय ५० मेडिकल दर्ता भएका छन् । प्रायः सबै मेडिकलमा चिकित्सक रहने गरेको बताउँदै प्रदिप फार्मेसीका सञ्चालक प्रदीप खरेलले चिकित्सकको सुविधा नदिए औषधि खरिद गर्न मात्र बिरामी मेडिकलमा नआउने बताए ।