शनिश्चरे । विदेशी भूमिमा पसिना वगाएर उताको विकासमा सहभागि वन्नु भन्दा आफ्नै देशमा पसिना वगाएर देश मलिलो वनाउने योजना युवाहरुले वनाउन थालेका छन् । त्यसमध्येका एक युवामा पर्छन् पथरीशनिश्चरे २ का प्रेम गुरुङ ।

२ वर्ष साउदी अरवमा पुगेर खेतीको काममा ज्यालादारी गरेपछि उनलाई आफ्नै देशमा केही गर्नुपर्ने रहेछ भन्ने कुरा बढी गढ्यो । ‘विदेशमा के के न हुन्छ भनेर जानु भन्दा आफ्नै देशमा व्यवसायिक वन्न सकिने रहेछ भन्ने त्यहाँ गएपछि शिक्षा पाएँ । त्यसपछि फर्किएर सामुहिक कृषि व्यवसायमा लागेको छु ।’– उनले मन्द हाँसोमा भने ।

उनले साउदी अरवमा कृषि क्षेत्रमा गरेको कामले कृषिमा ज्ञान र सीप वढायो । घर फर्किएपछि आफु जस्तै विदेश भोगेर केही चेतेका गाउँकै अरु ४ जना साथीहरुसँग सल्लाह गरेर उनी नै अध्यक्ष रहेर ‘नेपाल कृषि फर्म’ खोले । अनि ९, ९ लाख लगानी जम्मा गरेर वर्षको विगाहाको ६० हजारमा २ विगाहा जग्गा लिजमा लिए । ठूलो गोठ वनाए । घाँस पाले । ७ वटा गाई, वंगुरको एउटा माउ र ५ वटा पाठी पाठी ल्याए । २ वटा माछा पोखरी खन्ने योजना वनाए । त्यसबेला सरकारले युवा परिषदमार्फत उद्यमशील कार्यक्रम ल्याएको जानकारी पाएपछि त्यहाँबाट पनि आर्थिक बेजो थप हुन्छकि भनेर त्यहाँ प्रस्तावना पेश गरे । त्यहाँबाट ५ लाख रुपैया प्राप्त गएपछि मासुका लागि भैंसीका पाडा पालन कार्यक्रम अन्तर्गत ११ वटा पाडा ल्याए । कृषिका पाटोमा लगानी गरेर यसबाट राम्रै आम्दामी गर्ने योजना उनले सुनाए । उनले यो काम थालेको १ वर्ष हुँदैछ । त्यसबाट आम्दामी हुन थालेको छैन । ‘ स्थानीय सरकारले पनि कृषि क्षेत्रका लागि थप प्रोत्साहित गर्नुपर्यो । यस क्षेत्रबाट हामीले केही गर्न सक्छौं भन्ने लागेको छ ।’– उनले उत्साहित रुपमा भने ।

उनी र उनका समूहका साथीहरु मात्र नभएर यसबेला जिल्लाका विभिन्न ठाउँका युवाहरु सामुहिक रुपमा कृषि क्षेत्रमा लागेर त्यसलाई व्यवसायिक वनाउने अभियानमा छन् । त्यसमध्ये पर्छन् कानेपोखरी गाउँपालिका ५ जहदाका रामकुमार श्रेष्ठ । आफ्नो अगुवाईमा प्रगतिशील पाडा पालन समूह गठन गरी युवा परिषदले दिएको ५ लाख रुपैयाँबाट २ ठाउँमा गरी १४ वटा पाडा पाल्न थालेका छन् । उनी कतारमा १० वर्ष रोजगार गरेको भएपनि पैसा कमाएर वचाउँन नसकेपछि आफु जस्तै विदेश गएर फर्किएकाहरुलाई समेटी दीगो व्यवसायिक आम्दामीका लागि पाडापालनतर्फ योजना वनाएका हुन् । उनले भर्खरै पाडा किनेका छन् । ६ महिना र १ वर्षसम्म उमेरका पाडा छन् । डेढ देखि २ वर्ष उमेर भएपछि बेच्दा व्यवसायिक हिसावले उपयुक्त हुने जानकारीका साथ ६ हजारदेखि १२ हजार मुल्यसम्मका पाडाहरु किनेर पालेका छन् । अव बेच्दा ३० हजारदेखि ४० हजार गोटाले विक्ला भन्ने अनुमान छ । ‘कुल मुल्यको आधा भन्दा केही वढी नाफा होला भन्ने लेखाजोखा गरेर लगानी गरेका छौं ।’– उनले अनुमानित आम्दामी सुनाए ।

मिक्लाजुङ गाउँपालिका ८ तोरीवारीका युवाहरुले भनें सामुहिक तरकारी खेती थालेका छन् । १० जनाको साझेदारीमा तोरीवारी तरकारी खेती समूह वनाएर १ विगाहा जग्गा लिजमा लिई घिरौला, फर्सी, करेला, इस्कुस, बोडी लगाएका छन् । ती तरकारी पहिलो फसलका रुपमा उत्पादन हुँदैछन् । युवा परिषदबाट ५ लाख रुपैयाँ आएपछि आफुहरुले २०,२० हजार थपेर वर्षको ५० हजारमा जग्गा लिजमा लिएर तरकारी लगाए । उनीहरुले नै शेयर हालेर लघु कृषिको माध्यमबाट दुग्ध चिस्यान केन्द्र पनि खोलेका छन् । दैनिक १ हजार ६ सय लिटर दुध संकलन गरी विक्री गर्ने गरिएको छ । ‘युवा परिषदको समेत सहयोगमा युवाहरु गाउँमा व्यवसायिक वन्दै जान थाल्नु ज्यादै राम्रो कुरा हो ।’– ८ नम्वर वडाध्यक्ष नविन कार्कीले भने ।

केरावारीका विवेक भुजेलको अगुवाईको १० जना युवाको सृजनशील युवा समूहले युवा परिषदको ५ लाख रुपैयाको सहयोगबाट १० माउ वंगुर पाल्न थालेका छन् । वंगुरका वच्चा जन्मिएका छन् । सो समूहले पनि आफुहरु व्यवसायिक हुने सपना साँचेर अगाडि बढेको छ । युवा परिषदले जिल्लामा कृषि क्षेत्रका लागि युवाहरुलाई प्रदान भएको रकमको प्रगति अनुगमन्का क्रममा युवा परिषद जिल्ला युवा समिति मोरङ अध्यक्ष उत्साहित देखिएका छन् । सोमवारको अनुगमन्मा उनले भने ‘निर्वाहमुखी समेत हुन छोडेको कृषि क्षेत्रमा परिषदको सहयोगले युवाहरुमा कृषिलाई व्यवसायिक वनाएर लाने कुरामा उत्साह भरेको देखियो ।’ सरकारले गत वर्षदेखि परिषदमार्फत कम्तिमा कक्षा ८ उतीर्ण गरेको प्रमाणपत्र र नागरिकताको आधारमा निव्र्याजी रुपमा युवाहरुको एउटा समूहलाई ५ लाख रुपैयाँ उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । गत वर्षदेखि आएको यो कार्यक्रम अन्तर्गत गत वर्ष ९ वटा र यो वर्ष ६ वटा गरी १५ समूहका लागि ७५ लाख रुपैयाँ लगानी भएको थापाले जनाए ।

सहकारी संस्थामार्फत एकमुष्ठ रकम प्रदान गरी काम सुरु गरेको २ वर्षबाट सहकारीमार्फत नै रकम फिर्ता गर्न सुरु गर्नुपर्ने प्रावधान छ । पहिलो किस्तामा २०, दोस्रोमा ३० र तेस्रोमा ५० प्रतिशतका दरले ५ वर्षमा रकम फिर्ता गरिसक्नु पर्ने सरकारले प्रावधान वनाएको छ ।