बेलबारी । पूर्व–पश्चिम राजमार्गमा जोडिए पनि विकासमा पछि परेको मोरङको सुन्दरहरैंचा नयाँ नगरका रुपमा उदाउँदै छ । २०७३ सालमा स्थानीय तह गठन भएसँगै कोशीहरैंचा र सुन्दरदुलारीलाई समायोजन गरी बनेको सुन्दरहरैंचाले नयाँ उचाइ प्राप्त गर्दै छ । हरैंचा मोरङको पुरानो गाविस हो । यही हरैंचा गाविस भौगोलिकरुपमा ठूलो भएपछि २०३१ सालमा इन्द्रपुर गाविस बनेको थियो । नेपाल सरकारले नगरपालिकाको संख्या बढाउने क्रममा ०७१ सालमा पुनः इन्द्रपुर, हरैंचा र मृगौलिया मिलाएर कोशीहरैंचा नगरपालिका बनेको थियो । जनसंख्या र भूगोलको हिसाबले मोरङकै ठूलो नगरपालिका मानिएको नगरपालिकामा विकासका योजनाहरु पनि तीव्र गतिमा भइरहेको छ । नगरको अहिलेको मुख्य नारा नै सुन्दरहरैंचा, विकासको बगैंचा भन्ने रहेको छ । नगरले आत्मसात गरेको नाराजस्तै विकासका कामहरु पनि अगाडि बढिरहेका छन् । उत्तरी मोरङको व्यापारिक केन्द्रको रुपमा विस्तार भएको यो शहर अहिले नमुना शहर बन्ने क्रममा छ । कुनै समयमा निकै पातलो बस्ती रहेकोमा हिजोआज बसाइ सरी आउनेको चाप बढ्दो रहेका कारणले सुन्दरहरैंचाको व्यापार–व्यवसाय पनि विस्तार हुँदै आएको छ । सुन्दरहरैंचाको विराटचोक र लोकमार्ग आसपास उद्योगी तथा व्यवसायीहरुको बाक्लो बसोबास रहेको छ । यहाँ सञ्चालित १७ वटा साना तथा ठूला उद्योगहरुमा एक हजारभन्दा बढी श्रमिकहरुले रोजगारी पाएका छन् । पिएलओ, खाद्यान्न,जुत्तालगायतका उद्योग सञ्चालित छन् भने अरु नयाँ उद्योगहरु स्थापना हुने क्रममा छन् । यहाँ धेरै सामग्रीहरुको थोक विक्रेता रहेको कारण पनि व्यापारिक केन्द्रको रुपमा सुन्दरहरैंचाको विराटचोक विकसित हुँदै गएको छ । विराटचोकबाट १ नम्बर प्रदेशको अस्थायी राजधानी विराटनगर जान छोटो दूरी पर्छ । विराटचोकलगायत समग्र सुन्दरहरैंचाको विकासमा यहाँका उद्यमी तथा व्यवसायीहरुको जागरुकता देखिन्छ । कुनै बेलाको सामान्य छाप्रे पसलहरु मात्र रहेको विराटचोक छोटो समयमै शहरमा रुपान्तरित भएको हो । यो शहरलाई नमुना शहर बनाउन नगरवासीहरु लागिपरेका छन् । अहिले पछिल्लो समयमा सुन्दरहरैंचाको विकासमा उद्योगी व्यवसायीहरुको अहम् भूमिका रहँदै आएको छ ।

सुन्दरहरैंचामा ९ करोडको शौचालय व्यवस्थित शौचालय नहँुदा हिजोआज ठूला शहरहरु पनि आफैमा अधुरो शहरको रुपमा रहेका छन् । सुन्दरहरैंचामा सार्वजनिक शौचालयको आवश्यकतालाई मध्यनजर गरी अहिले आधुनिक शौचालयको निर्माणको क्रममा छ । उद्योग वाणिज्य सङ्घ सुन्दरहरैंचाको अगुवाइमा निर्माण हुन लागेको शौचालयको लागत ९ करोड हुने बताइएको छ । वाणिज्य सङ्घले आयोजना गरेको विराट एक्स्पोबाट सङ्कलित रकममा नगरपालिका र स्थानीय नागरिकको सहभागितामा शौचालय बन्न लागेको छ । तत्कालीन कार्यक्रम संयोजक भोला दुलालले एक्स्पो कार्यक्रमसँगै यो आधुनिक शौचालयको अवधारणा ल्याएका हुन् । योजनालाई नगरपालिकाले पनि नीति र कार्यक्रममार्फत् समेट्दै बहुवर्षीय कार्यक्रम अन्तर्गत त्यसलाई सम्पन्न गर्ने वडा नं. १० का अध्यक्ष राजेश थापाले बताए । सुन्दरहरैंचाको खोर्साने, विराटचोक, सलकपुर र हरैंचामा शौचालय बन्न लागेको हो । आधुनिक भनिएको शौचालयमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सुविधा सम्पन्न बनाइने बताइएको छ । शौचालय अपाङ्ग, महिला, बालमैत्री रहनेछ । त्यसैगरी शौचालयमा बाथरुम, स्मोकिङ जोन, सेनिटरी प्याड फेर्ने, मोबाइल चार्ज गर्ने, तौल मापन गर्ने ठाउँसहितको शौचालय बन्ने भएको अध्यक्ष थापाले बताएका छन् । शौचालयका लागि नगरपालिकाले २५ लाख विनियोजन गरेको छ ।

वाकिङ स्ट्रिट सुन्दरहरैंचालाई नमुना शहरको रुपमा विकास गर्न अहिले वाकिङ स्ट्रिट बनाउन लागिएको छ । अन्य विभिन्न मुलुकमा रात्रीकालिन वाकिङ स्ट्रिटहरु देखेपछि सुन्दरहरैंचाको विराटचोकलाई पनि नमुना शहरको रुपमा विकास गर्न वाकिङ स्ट्रिट बनाउन लागेको हो । स्थानीय ज्ञानु ढकालको संयोजकत्वमा बनेको निर्माण समितिले कार्य थालनी गरेको छ । वाकिङ स्ट्रिटको लागि नगरपालिकाले ५० लाख विनियोजन गरेको छ । अपरान्ह ४ बजेदेखि ११ बजेसम्म बजार लाग्ने र स्ट्रिटको वरिपरि सुन्दर बगैंचा, पानीको फोहोरा, आराम गर्ने स्थानलगायतको अवधारणा रहेको उद्योग वाणिज्य सङ्घ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागार्ईले बताए । आधुनिक शहरको विकास गर्न ती योजना ल्याइएको बताइएको छ । त्यहाँ साना निजी सवारी साधन भने सञ्चालन गर्न पाइने चापगाईंले बताए । वाकिङ स्ट्रिट निर्माण भएपछि नजिकका शहरहरु इटहरी, बेलबारी क्षेत्रबाट मानिसहरू किनमेलका लागि आउन सक्ने अपेक्षा गरिएको छ । पूर्वमा नयाँ प्रयोग हुने यो रात्रीकालिन बजारले सुन्दरहरैंचालाई नै नमुना शहर बनाउने अपेक्षा गरिएको छ ।

बैङ्क र सहकारीको नगर वित्तीय कारोबारको हिसाबले सुन्दरहरैंचालाई सहकारीको नगरको रुपमा पनि परिचित छ । मोरङकै सबैभन्दा धेरै सहकारी सुन्दरहरैंचामा रहेको जिल्ला सहकारी सङ्घको तथ्याङ्कमा उल्लेख छ । यहाँका आधादर्जन सहकारीमा दैनिक एक करोडभन्दा माथि कारोबार गर्ने सहकारीहरु छन् । यहाँका बासिन्दाहरुले सहकारीमार्फत् नै वित्तीय सेवा लिइरहेका छन् । त्यसैगरी सुन्दरहरैंचाको विराटचोक यतिखेर बैङ्कको शहर नै भएको छ । यहाँ स्थापना भएका २२ वटा निजी बैङ्कहरुले शाखा कार्यालय विस्तार गरेर वित्तीय सेवा दिइरहेका छन् ।

शैक्षिक केन्द्र सुन्दरहरैंचा हिजो साविक इन्द्रपुर गाविस हुँदैदेखि शैक्षिक केन्द्रको रुपमा विकास भइरहेको थियो । सुकुना विद्यालयको नामले इन्द्रपुरको चिनारीलाई उच्च पारेको थियो । पछि सुकुना क्याम्पसको स्थापना भएपछि सुन्दरहरैंचालगायत यस क्षेत्रको गौरव नै बनेको थियो । सुकुना क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त क्याम्पस हो, अहिले यहाँ ४ वटा विषयमा स्नातकोत्तरसम्मको अध्यापन हुने क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईले बताए । सुकुना पूर्वकै नमुना क्याम्पस हो । निजी विद्यालयतर्फ पनि मोरङकै उत्कृष्ट विद्यालयहरु यहाँ रहेका छन् । सुन्दरहरैंचालाई शैक्षिक केन्द्रको रुपमा विकास गर्न पूर्वाञ्चल विश्वविद्यालयलाई सुदृढ गर्न जरुरी छ । अहिले पूर्वाञ्चल विश्वविद्यालयमा नर्सिङको कक्षा सञ्चालन भइरहेको र अब चाँडै जिपी फाउण्डेसन स्थापना गरी अन्य कक्षाहरु पनि सञ्चालन गर्न केन्द्रमा पहल भइरहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष तथा सांसद् लोकप्रसाद सङ्ग्रौलाले बताए ।

कृषि र पर्यटन सुन्दरहरैंचाभित्र धेरै पर्यटकीय, धार्मिक र साँस्कृतिक स्थलहरु पनि रहेका छन् । हसिना सिमसार यस क्षेत्रको मुख्य आकर्षक पर्यटकीय क्षेत्र हो । सिमसारको विकासको लागि नगरपालिकाले चालु आर्थिक वर्षमा पनि लगानी गरेको छ । सिमसारमा सिसी क्यामरा जडान, जीवजन्तु संरक्षणका लागि कटेज निर्माणमा रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ । यस सिमसारको अलावा बाघझोडा पोखरी, भुल्के सिमसार, कालीमन्दिर, विभिन्न धार्मिक, साँस्कृतिक पार्कहरु छन् । त्यसैगरी बेलबारी र सुन्दरहरैंचा नगरपालिकाले चुरे संरक्षण कार्यक्रममा संयुक्त लगानी गरेर बाघझोडा, सुकुना, किस्ती(वासुकी) पोखरीको बाँध निर्माण कार्य भइरहेको छ । यो बाँधले पानीको स्रोतलाई स्थिर राख्ने र यसक्षेत्रको जलासयलाई पर्यटनसँग जोड्ने कार्यक्रम रहेको छ । त्यसैगरी सुन्दरहरैंचाले आधुनिक कृषि प्रणालीलाई प्रवद्र्धन गर्न विभिन्न कार्यक्रम गरिरहेको छ । यहाँ मत्स्यपालन, केराखेती, सब्जीखेती, गाई–भैंसीपालन कार्यक्रमहरु भइरहेको छ । सुन्दरहरैंचामा लामो समयदेखि दुग्धसंस्था सञ्चालित अवस्थामा छ । आगामी नीति तथा कार्यक्रममा कृषि र पर्यटनको क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि थप कार्यक्रमहरु ल्याइने नगरले जनाएको छ । उद्योग, व्यवसाय, पर्यटन र कृषि विकासको प्रवद्र्धन गर्न आगामी दिनमा नीति तथा कार्यक्रममार्फत् नगरले नमुना शहरको रुपमा विकास गर्ने लक्ष्य पनि लिएको छ ।