पानवारी । धरानका सार्वजनिक पार्किङ स्थलमा रातो नम्बर प्लेटका सवारीको जगजगी बढेको छ । निजी प्रयोजनको लागी खरिद गरिएका रातो प्लेटका सवारीले पार्किङबाट यात्रुहरु उठाउँदै लाने गरेका छन् । नीजि सवारीले लुकिछिपी यात्रु बोकेर हिड्ने गरेको भएपनि आजभोली भने सहरका मुख्य चोक–चोकमा स्टेण्ड लगाएरै भाडाको मोलमोलाइ गरी यात्रु ओसार–पसार गरीरहेका छन् । विशेष गरी पछिल्लो समय एकदमै चर्चामा रहेको स्कारपियोदेखि लिएर पहिलादेखि चलिआएको मारुती भ्यानसम्मले रिजर्व गएर यात्रु बोकिरहेका छन् । धरानको भानुचोकमा रहेको लोकतान्त्रिक चौतारी उत्तरतर्फ यस्ता नीजि सवारीहरु रिजर्व जानको लागी स्टेण्ड लगाएर बसिरहेका हुन्छन् । त्यस्तै गरी धरान–१८ स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मुख्य गेट अगाडी, धरान–१५ स्थित सदन स्कुलको अगाडी, छाताचोक स्थित पुरानो हस्पिटलको हाता भित्र र बरगाछीमा नीजि सवारीहरु स्टेण्ड लगाएरै यात्रु पर्खिएर बस्ने गरेका छन् । सहरमा पुरै रातो प्लेटका सवारीहरुले भाडामा यात्रु बोक्नेदेखि लिएर १०–१५ दिने रिजर्व समेत जाने गरेकोले रातो प्लेटको एक प्रकारको जगजगीनै भएको छ ।

धरान उपमहानगरपालिकाले भाडाका ट्याक्सीहरुको स्टेण्ड भनेर भानुचोकको लोकतान्त्रीक चौतारीको उत्तरपट्टी तोकिदिएको छ तर सो स्थानमा सबै नीजि सवारी बसेका छन् । रातो प्लेटमा यात्रु बोक्नेलाई कारबाही ट्राफिक प्रहरीले गर्नुपर्ने भन्दै धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत खगेन्द्र खतिवडाले रातो प्लेटवाला सवारी बिल्कुल नीजि प्रयोजनको लागी मात्र हो उनीहरुले यात्रु बोक्ने र रिजर्व जान पाउँदैनन् यसो गरे ट्राफिक प्रहरीले कारवाही गर्न सक्छ ।

अहिले नीजि गाडीहरुलाई भाडामा लिएर चढ्नेहरुमा सबैभन्दा बढी भिआइपीहरु रहेका छन् । भानुचोकमा स्टेण्ड राखेरै नीजि सवारी चलाउने एक चालकले भने –‘सबै भिआइपीहरु हाम्रै रातो प्लेट गाडी चढ्छन् । पुलिसका हाकिमदेखि ठुला पदका कर्मचारी र ठुला नेताहरु सबै हाम्रो गाडीमा चढ्छन् ।’ भानुचोकमा नै ३ वर्षअघिदेखि स्टेण्ड राखेर नीजि सवारी भाडामा चलाउने अर्का सवारी धनी समेत रहेका चालकले भने –‘कालो प्लेट बनाएर के गर्नु रुट परमिट भएन भने ट्राफिकले फाइन हान्छ । बेलाबेलामा खुवाइरहनुपर्छ बरु रातो प्लेट भयो भने खासै चेकिङ पनि हुदैन फाइन पनि लाग्दैन ।’

रातो प्लेटवाला नीजि ट्याक्सी यात्रु बोकेपछि सार्वजनिक ट्याक्सीहरु भने मारमा परेको गुनासो गर्छन् । धनकुटा घर भई विगत ८–९ वर्षदेखि धरानमा ट्याक्सी चलाउने धनकुमार राईले भने –‘रातो प्लेटवालाहरुले खुलेआम स्टेण्ड लगाएर बस्दा समेत प्रशासनले केही गर्दैन, उल्टै उनीहरुको दादागिरी छ ।’

वास्तवमा नीजि सवारीले यात्रुलाई यातायात सेवा दिन पाउदैन । नीजि सवारी बिल्कुलै नीजि प्रयोजनको लागी मात्र गर्नुपर्छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद २ को दफा ८ (२) मा ‘नीजि सवारी यातायात सेवाका लागि प्रयोग गर्न पाइने छैन’ भनिएको छ । सोही ऐनको दफा १२ (१) मा ‘कुनै एक प्रयोजनको निम्ति दर्ता भएको सवारी अर्काे प्रयोजनको निम्ति प्रयोग गर्न पाइने छैन’ भनिएको छ । यदि अन्य प्रायोजनमा प्रयोग गरेको पाइए ५ सय देखि २ हजारसम्म जरीवाना हुने व्यवस्था छ ।

जनशक्तिको कमी र स्थानीय प्रशासनबीच समन्वय नहुँदा नीजि सवारीको स्टेण्ड हटाउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर होमराज दाहालले बताए । उनले धरान उपमहानगरपालिकामा फिल्डमा काम गर्ने नगर प्रहरी नहुँदा र सरकारी निकायसँग उचित समन्वय नहुँदा नीजि सवारीलाई प्रभावकारी अनुगमन गरी कार्वाही गर्न नसकेको बताए ।

धरानका यातायात सिण्डिकेटका बोर्डहरु हटायो ट्राफिक प्रहरीले