बेलबारी/ तराईका मानिसहरु हिजोआज चिसो हावापानीको मोहका कारण पहाडमा जग्गा खरिद गर्नमा आकर्षण बढेको छ । पहाड तिर पनि बाटो र विजुली वत्तीको सुविधा भएपछि अहिले पहाडमा जग्गा खरिद गर्नेहरुको आकर्षण बढेको हो ।

मोरङको केराबारी गाउँपालिका वडा नं. २ र ३ अन्तर्गत पर्ने सिंहदेवी र भोगटेनीको भूगोल पनि पहाडी क्षेत्रमा पर्छ । पहाडी भूगोल भएपनि अहिले रामपुर सम्म टेम्पो र देखि मालवाहक ट्रक सहजै पुग्न थालेको छ । केराबारी देखि भोगटेनी र सिंहदेवी हुँदै साम्मेवा सम्म सडकको निर्माण कार्य भईरहेको छ । एसियाली विकास वैंकको लगानीमा पक्की सडकको वृहत योजना सहित बाटो निर्माणको क्रममा छ ।

चिसो हावा पानी र शान्त वातावरण रहेको यस भूभागमा मानिसहरुको आकर्षण बढेको छ । केराबारी ९ किलोमीटर उत्तर लागेपछि हावापानी नै बेग्लै रहेको छ । त्यसकारण पनि अहिले जग्गा खरिद गर्ने मानिसहरुको त्यसक्षेत्रमा आकर्षण बढिरहेको छ । अहिले प्राय जग्गा खरिद गर्न दिनहुँ जस्तो त्यहाँ पुग्नेगरेको स्थानीय वासिन्दाहरु बताउछन् ।

धरान,विराटनगर,ईटहरीका मानिसहरु अहिले त्यसक्षेत्रमा जग्गा खरिदका लागि चासो देखाईरहेका छन् । नजिकका शहरहरु बेलबारी, सुन्दरहरैंचाका मानिसहरुले त्यसक्षेत्रमा जग्गा खरिदका आईरहने रामपुरका शिक्षिका लक्ष्मी भट्टराईले बताईन् । तर अधिकांश मानिसहरु तत्काल जग्गा बेच्न कसैले मानेका छैनन् ।

पहाडमा यातायातको सुविधा नभएका कारण हिजोका दिनहरुमा मानिसहरु सुगमताको खोजी गर्दै तराई झर्ने चलन थियो । तर पहाडी क्षेत्रमा यातायात र विजुलीवत्तीको सुविधा हुन थालेपछि त्यो क्रम अहिले अलि रोकिएको छ ।

बाटो बनेपछि मानिसहरुको बसाईसर्ने क्रमपनि घट्दो रहेको छ । तसर्थ त्यसक्षेत्रमा जग्गा खरिद गर्न मानिसहरु ईच्छुक देखिएता जग्गाधनीहरुले जग्गा बेच्न मानेका छैनन् । भोगटेनीकै केहि स्थानहरुमा जग्गा व्यवसायीहरुले प्लटिङ समेत शुरु गरेका छन् । प्लटिङ गरेका जग्गाहरु निकै महँगोमा विक्री हुन थालेपछि स्थानीयहरु पक्की सडक बाटो बनेपछि मात्र बेच्ने सोंचमा रहेका छन् । कृषि र पर्यटनको हव जेफाले डाँडा प्रसिद्ध पर्यटकीय गन्तव्य बनिसकेको छ । आन्तरिक पर्यटक आकर्षण कै निम्ति केराबारी ३ भोगटेनीमा भीउ टावरको अवधारण ल्याउने तयारी गरिरहेका छन् । तराई देखि नजिकै रहेको भोगटेनीको डाँडा टावर बनाउनका लागि स्थानीय वासिन्दाहरु जग्गा समेत व्यवस्थापन गरिसकेको स्थानीय युवा समाजसेवी महेन्द्र मगरले बताए । अहिले गाउँपालिकाको लगानीमा पिकनिक स्पोर्ट निर्माण हुँदैछ । बाटो बनेसंगसंगै अहिले साना साना होटलहरुको शुरुवात पनि हुन थालेको छ ।

त्यसैगरी अहिले भोगटेनी र सिंहदेवी कृषि व्यवसायका लागि पनि आकर्षण बढ्दो छ । सिंहदेवीमा स्थानीय नारायण राईले लामो समय देखि चिया खेती गर्दै आएका छन् । चियाखेती लगायत अन्य अग्र्यानिक सागसब्जी खेतिको लागि अभ्यास शुरु हुँदैछ । अदुवा र अम्लिसो यहाँको मुख्य उत्पादन हो । अहिले पछिल्लो समयमा घर निर्माणका लागि बाँस पनि विक्री हुन थालेको छ ।

यहाँको बाँस हेटौडा काठमाण्डौ लगायत पूर्वका शहरहरुमा विक्री हुन थालेको स्थानीय कृषकहरु बताउछन् । पछिल्लो समयमा यसक्षेत्रमा कागती लगायत अन्य विभिन्न प्रजातिका विरुवाहरु लगाउन थालिएको छ । केराबारी गाउँपालिकाले पनि आगामी दिनमा नीति र कार्यक्रम बनाउदा कृषि र पर्यटनको विकासलाई प्राथमिकता दिने हो भने सिंहदेवी र भोगटेनी कृषि र पर्यटनको केन्द्र बन्ने संभावना प्रचुर रहेको छ ।