भद्रपुर । झापाको साविक जलथल गाविस ५ हाल हल्दीबारी गाउँपालिका ४ मा धेरैको सङ्ख्यामा रहेका मेचे समुदायको जीवनशैलीमा परिवर्तन आउन थालेको छ । वर्षाैदेखि घरेलु मदिरा उत्पादन गरी व्यापार गर्दै आएका समुदायले पछिल्लो पटक हाते सीपतर्फ आकर्षित बनेका हुन् । गाउँपालिकाको ऐनाबारीमा यो समुदायको बाक्लो वस्ती छ । यो वस्तीका मानिसको खेतीपाति र अध्ययन थोरै भएकोले पुर्खादेखि घरेलु मदिरालाई नै व्यापारको एकमात्र विकल्पको रुपमा अङ्गाल्दै आएका छन् । पछिल्लो समय कोही वैदेशिक रोजगार, उद्योग तथा कलकारखना, सिकर्मी, डकर्मी सिलाइ–कटाइ लगायतको पेशातर्फ रुचि बढाएका छन् । आमाबुबाले सदियौंदेखि गर्दै आएको मदिरा व्यापार आफूले पनि एक वर्षजति बिक्री वितरण गरेको ऐनाबारी ४ कि मिना मेचे बताउँछिन् । मदिरालाई प्रायः भारतमा लगेर बिक्री गर्नु परेकोले भारतीय प्रहरीले सारै दुःख दिने गरेको उनले सुनाइन् । घरबाट मदिरा लिएर गएपनि बिक्री गरेर आउनेमा कुनै निश्चित नभएको घटना उनले सुनाइन् । धेरैपटक नेपाल तथा भारतका प्रहरीले खोसेर नष्ट गरिदिने, हप्काउने, तल्लो नजरले हेर्ने लगायतका व्यवहारले आफैलाई पेशाप्रति घृणा लागेर आएको उनले बताइन् । ‘के गर्नु जति नै दुःख दिएपनि अर्को आम्दानीको बाटो नभएकोले बाध्य भएर व्यापार गर्नुपरेको छ’, उनले गुनासो पोखिन् । बल्लतल्ल प्रहरीको आँखा छलेर बिक्री गरिहालेमा खर्च कटाएर ५ सय रुपैयाँ बचत हुने भएपनि घरायसी खर्च पुर्याउन धौ–धौ हुने गरेको उनको कथन छ । सबैतिरबाट झन्झट भएपछि यो व्यापारलाई छाडेर अहिले सिलाइ–कटाइको तालिम लिइरहेको उनले बताइन् । दक्ष सीप हासिल गरेर यही पेशालाई आफूले निरन्तरता दिने र अरुलाई पनि यसतर्फ आकर्षित गराउने उनको भनाइ छ । सो क्षेत्रमा हाल २० जना महिलाले सिलाइ–कटाइ सम्बन्धी तालिम लिइरहेका छन् । तालिमलाई उषा धिमालले प्रशिक्षण दिइरहेकी छिन् । सोही वस्तीकी ७३ वर्षीया राघुनी मेचेले मदिराको व्यापार गरेको ४० वर्ष भएको सुनाइन्् । १२ जनाको परिवारलाई मदिरा बेचेरै हुर्काएको उनको भनाइ छ । उत्पादन गरेको मदिरालाई हिँडेर गोलधाप, चन्द्रगढी साथै भारतका विभिन्न स्थानमा लगेर बिक्री गरेको उनको भनाइ छ । एकदिनमा ४० लिटर मदिरा बेचेर घर आउने गरेको उनी बताउँछिन् । पढाइ–लेखाइ केही थिएन, सन्तान धेरै भएकोले मदिरा नै मुख्य आम्दानीको स्रोत भएको उनले बताइन् । अहिले पनि कहिले काही अलिअलि बेच्दै आएको भएतापनि अब दाउराको अभाव, जङ्गल पस्न नपाउने, छोराछोरीले अर्कै पेशा गर्न थालेपछि मन मर्दै आएको उनले सुनाइन् । शुरुशुरुमा यो पेशा बाध्य बनेपनि पछिल्लो समय यसको व्यापार घट्दै गएको पूर्व वडाअध्यक्ष विशु मेचेले बताए । आफूले थाहा पाउँदा बुबा आमाले मदिरा बेचेकोले पनि यही पेशा अङ्गालेको उनले बताए । घर व्यवहार चलाउन पुख्र्यौली पेशा नै अपनाउनुभन्दा अरू विकल्प नरहेको उनको भनाइ छ । मदिरा बेचेर जग्गा किनेपछि घर बनाएको र ६ जनाको परिवार पालेको उनले बताए । १० वर्ष मदिरा बेचेर गुजारा चलाएको स्मरण गर्दै उनले १० वर्षसम्म नै वडाध्यक्षको पद समेत चलाएको उनले बताए । यो जाति शिक्षामा कमजोर भएकोले लगानी गरेर व्यापार गर्ने आँट नआएको उनी बताउँछन् । मदिरा व्यापारमा पैसा कमाएपनि दिगो पेसा नभएकोले अब यसको भविष्य नरहेको उनको धारणा छ । सबैको नजरमा मदिरा बेच्ने त हो भनेर अर्कै दृष्टिले हेर्ने भएकोले आजभोलि पेशाप्रतिको आर्कषण घटेर गएको पूर्व गाविस अध्यक्ष सन्तलाल मेचेले बताए ।