धनकुटा । केहीदिन यता यहाँ खानेपानीको हाहाकार भएको छ । दुई हप्तायतादेखि खानपानीको हाहाकार नै मच्चिएको हो । बजारमा खानेपानीको अभाव सिर्जना भएपछि उपभोक्ताहरूले गएको मङ्गलबार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको कार्यालयमा धमिलो पानी बोतलमा लिएर शुद्ध खानेपानी नियमित पाउनुपर्छ भन्दै एक घण्टा धर्ना दिनुको साथै नाराबाजी समेत गरेका थिए । उनीहरूले खानेपानीको समस्याप्रति गम्भीर हुन सचेत गराउँदै खानेपानीमाथि खेलवाड नगर्न र खुवाउन नसक्ने पदाधिकारी एवम् सदस्यहरूको राजीनामा समेत मागेका थिए । खानेपानीको चरम अभाव भएपछि बिहीबार जिल्ला व्यवस्थापन समितिको बैठक समेत बसेको छ । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालको अध्यक्षतमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा समितिको पदाधिकारी र सरोकारवालाहरूबीच खानेपानी उपभोक्ता समितिका अध्यक्ष द्रोर्ण गुरागार्इंले खानेपानी आपूर्तिमा भइरहेको समस्याबार बताएका थिए । गुरागाईंले वैठकमा खानेपानी लिफ्ट सिस्टमबाट ल्याउनुपर्ने हुँदा पम्प (मोटर) बिग्रिरहने, भोल्टेज अफ –डाउन, खानेपानी मुहान क्षेत्रमा डोजरले मोटरबाटो खनेको कारण वर्षा हुँदा पानी धमिलो हुने गरेको बताए । उनले धमिलो पानीखोलामा आएपछि रिजर्भ ट्याङ्कमा जम्मा गरेर तान्दा पम्प बिग्रिने आदि समस्या भएकाले पानी नियमित आपूर्तिमा समस्या भएको बताए । खानेपानीका विषयमा यस्ता समस्या देखिएपछि यो वर्ष खानेपानी मुहान क्षेत्रमा अत्याधिकमात्रामा मोटरबाटो खन्न डोजर प्रयोग गरिएको कारण खानेपानीको पाइज काटिएको र सँगसँगै यो वर्ष वर्षा पनि समयमै भएकोले शुद्ध खानेपानी ल्याउन समस्या देखाइएको थियो । तर, बैठकमा सहभागीले खानेपानी योजना सञ्चालन भएको तीन वर्ष बित्दा यस्तो समस्याको पहिचान गरेर सामाधानतर्फ किन उपभोक्ता समितिले ध्यान नदिएको भन्दै जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष नगेन्द्र पोखरेलले प्रश्न गरे । विपद् व्यवस्थापन समितिको बैठकपछि शुक्रवार प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल, प्रहरीको टोली, पत्रकारहरूको टोली लिएर खानेपानी उपभोक्ता समितिका अध्यक्ष गुरागाईंले खानेपानीको मुहान निवुवा दोभान पु¥याएका थिए । टोलीले मुहानमा लेदो पानीवाहेक केहीपनि देखेनन् । निवुवा खोलाको लेदो पानी हेर्दै पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष खगेन्द्र घिमिरेले भने, ‘पानी त यस्तो छ के गर्ने ?’ प्रमुख जिल्ला अधिकारी खनालले पनि वर्षायाममा खोलामा धमिलो पानी आउँछ भन्ने थाहा हुँदाहुँदै किन रिजर्भ ट्याङ्की बनाइएन भन्दै प्रश्न गरेका थिए । त्यसैगरी अनुगमन टोली निवुवा दोभानवाट फेरी मुहान क्षेत्रको अनुगमनको लागि धनकुटा १ र २ मा पर्ने ओक्मालुङ र कैलेनीसम्म पुगेर डोजर हानेको मोटरबाटो र मुहान क्षेत्रको अवलोकन गरेर शुक्रवार साँझ फर्किएको छ । अनुगमन टोलीलाई खानेपानी उपभोक्ता समितिका अध्यक्ष गुरागार्इंले कहिलेसम्ममा पानी आउँछ त भनेर ग्यारेण्टी गर्न सकेन्न । उनले भने, ‘आकाशबाट पानी २ दिनसम्म परेन भने मात्र सफा पानी आउँछ ।’ उपचारमा समस्या, कारगार, प्रहरी, सेनाको व्यारेकमा पनि समस्या उस्तै पानीको समस्याले जिल्ला अस्पतालमा बिरामीको उपचारमा समस्या भएको छ । पानी अभावका कारण अस्पतालमा कार्यरत् डाक्टरले नुहाउन नपाएको, शौचालय जान, बिरामीको उपचारमा समस्या सिर्जना भएको अस्पतालका प्रमुख डा.फडिन्द्र बरालले बताए । ५० हजार लिटर पानीको ट्याङ्कीमा भएको रिजर्भ पानी सकिएको ४÷५ दिन भएको विकास समितिका अध्यक्ष सुनिल डङ्गोलले बताए । गर्मीको सिजन भएकाले बिरामीको चाप वढेको अवस्थामा अस्पतालमा पानीको अभाव भइदिँदा उपचारमा समस्या भएको रेकर्ड शाखामा कार्यरत् वीरेन्द्र श्रेष्ठले बताए । उता जिल्ला प्रहरी कार्यालय धनकुटामा पनि समस्या उस्तै रहेको कार्यालय प्रमुख सुरेन्द्रबहादुर गुरुङे बताए । गाडीमा ल्याएर पात्ले खोलाको पानीले दुःखले भात खानसम्म पाइएको उनको भनाइ छ । त्यसैगरी जिल्ला कारागारमा पानी नपुगेको १० दिन भएको इञ्चार्ज छविलाल भण्डारीले बताए । कारागारमा रहेको ६३ जना कैदीवन्दी र अन्य कर्मचारीलाई दैनिक ५ हजार लिटर पानी आवश्याक पर्ने गरेको बताए । ता सल्लेरीस्थित वरखगणका मेजर रिकेश केसीले पानी आएपनि धमिलो आउने गरेकोले बोतलको पानी किनेर खानुपर्ने बाध्यता भएको बताए । नगरपालिकाको ४, ५, ६ र ७ वडाका स्थानीयलाई बढी यस्तो समस्याले सताएको छ । तीन वर्षअघि साना सहरी खानेपानी आयोजना सञ्चालन हुँदा २४ घण्टा पानी खान पाइन्छ भन्दै समितिले स्थानीयसँग गरेको प्रतिबद्धता पूरा नभएको उपभोक्ताहरूको गुनासो छ । खानेपानी उपभोक्ता समिति कार्यालयका प्रमुख जीवलाल थेच्मीले अहिलेकै अवस्थामा तत्काल खानेपानी सुचारू गर्न नसकिने बताएका छन् ।