भद्रपुर । धान छर्ने तथा हिलोमा धानको दाना रोप्ने मेसिन र सौर्य उर्जाबाट चल्ने पानी तान्ने पम्प ल्याएपछि झापाका धान किसानको लागत घट्ने भएको छ । कृषिमा यान्त्रिकीकरण मार्फत लागत घटाइ धानबाली उत्पादनमा आत्मनिर्भर बनाउन लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ (धान सुपरजोन) बनियानी झापाले यो वर्षबाट धानखेतमा सिधै धानको बिउ रोप्ने क्षमता रहेको ड्रमसिडर र विउ छर्ने( सिडड्रिल) मेसिनलाई कृषक माझ ल्याएपछि धान उत्पादनमा लागत घट्ने भएको हो । त्यसैगरि विद्युतीकरण पुग्न नसकेका खेतमा सौर्य पम्प जडान गर्न अनुदान समेत पाएपछि कृषको लागत कम भइ व्यवसायिक धान उत्पादनमा सहजता हुने भएको छ । झापामा पहिलो पटक यी दुइ उपकरण भित्रिएका छन् । ड्रमसिडर मेसिनले एक पटकमा ८ वटा प्वालमार्फत हिलो तयारी गरेको खेतमा धान छर्ने हुँदा उम्रिएको धान हातले रोपेकै जसरी आउने परियोजना कार्यान्वयन इकाइ प्रमुख तथा कृषि अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिए । मेसिनले छरिएको धान अन्यत्र हातले रोपेभन्दा कम नरहेकोले तिमल्सेनाले कृषिमा युवा वर्ग आकर्षित हुनु पर्ने बताउँछन् । एउटा मेसिनलाई १२ हजार रुपैया मुल्य पर्ने हुँदा सामान्य कृषकले पनि सहजै खरिद गर्न सक्ने छन् । कृषि मजदुरको अभाव हटाउन सक्ने सो मेसिन प्रयोग गर्दा धानको बिऊ उमार्नु पर्ने, रोपाहार चाहिने समस्या हल हुने उनको भनाई छ । त्यसैगरि छरुवा धान छर्ने मेसिनले बिउ उखल्ने , रोप्ने ,शुरुमा पानीको आवश्यक्ता लगायतका काम गर्नु नपरेका कारण मेसिनको प्रयोगबाट लागत मूल्य घट्ने उनको भनाई छ । उपकरणबाट सुख्खा खेतमा छरुवा धान प्रविधिको प्रयोगमा ल्याइएको उनले बताए । सरकारको नीतिनै मेसिनको प्रयोग गरि वा जसरी भएपनि जमिन बाझो नराख्ने उद्देश्य भएकोले सोही अनुसार झापाका विभिन्न जमिनमा धान खेतिको अभियान चलाइएको अधिकृत तिमल्सेनाले बताए । धान खेतिका विभिन्न प्रक्रिया मध्ये सुख्खा खेतमा धान छरेर गरिने खेति पनि प्रभावकारी हुने भएकोले किसानलाई खेति तर्फ उन्मूख हुन आफुले हर प्रयास गरिरहेको उनको भनाई छ । कामदार प्रयोग गरेर गरिने खेतिमा लागत बढी र उत्पादन कम हुने भएकोले अब मेसिनको प्रयोगबाट उत्पादन लागत घटाई उत्पादन बढाउन किसानलाई अनुरोध गरिरहेको उनले बताए । किसानहरु पुरानै ढङ्गबाट खेतिमा लागेका कारण प्रविधि प्रयोगमा बानी पर्न केही समय लाग्ने उनको भनाई छ । धान खेतिका लागी प्रधानमन्त्री कृषि आधुनिकिकरण धान सुपरजोन झापाले खेतिको बारेमा जानकारी गराएपछि उत्साहित भएर पहिलो पटक छरुवा धान खेति लगाएको याम वहादुर श्रेष्ठले बताए । उनले गरिमा जातको धानको बिउ लगाएको बताए । धानखेति लगाउदा वार्षिक ४५ हजार रकम खर्च हुने र ४५ मन धानपनि नहुने भएपछि दुइ वर्षदेखि बाझै राखेको उनले सुनाए । यो प्रविधिबाट सन्तुष्टी भएमा बाझो रहेका र अन्य जमिनलाई समेत मेसिनबाट खेति लगाउन आफुले सल्लाह दिने उनले बताए । ग्रामीण कृषि क्षेत्रमा विद्युतीकरण विस्तारमा लागत तथा समय बढी लाग्ने देखिएपछि सुपर जोनले स्थीर विद्युतीकरण र दीर्घकालिन लागत घटाउने प्रविधि सौर्य उर्जालाई कृषकका खेतबारीमा यस वर्षबाट ल्याएको उनले बताए । यो प्रविधिका लागि ५ लाख प्रति बोरिङ खर्च हुने र सुपरजोनले कम्तीमा २ बाली व्यवसायिक खेती गर्ने कृषक समूह वा कृषि सहकारीलाई छनौट गरी लागतको ८५ प्रतिशतसम्म अनुदान दिने गरी यस प्रविधिलाई कृषक समक्ष ल्याइएको उनी बताउँछन् । धान रोप्ने मजदुरको अभाव अन्त्यका लागि यी दुइ मेसिन ल्याएर कृषकलाई थप सहज यान्त्रिकरणको वातावरण बनाइ दिएको उनले बताए । सुपरजोनले अघिल्लो वर्ष धान रोप्ने मेशिन, धान काट्ने मेशिन ल्याएर कृषिमा लागत घटाइ व्यवसायिक प्रतिष्पर्धात्मक कृषिको वातावरणको जग सुरु गरेको उनको भनाई छ । यस वर्ष सिञ्चाइ र धान रोपाँइ अझ सहज बनाउन धान छर्ने मेशिनमार्फत लागत कम गराई भूमिगत पानी तान्न आधुनिक सौर्य उर्जा प्रविधि पछिल्लो नयाँ विधिको सुरुवात गरेको जनाइएको छ ।

परियोजनाले धान छर्ने र रोप्ने अत्याधुनिक मेसिन ल्याएर मजदुर समस्या हल गर्न अर्को फड्को मारेको छ । ग्रामीण कृषि क्षेत्रमा सुपर जोनले स्थीर विद्युतीकरण र दीर्घकालिन लागत घटाउने प्रविधि सौर्य उर्जालाई कृषकका खेतवारीमा लगेसँगै व्यवसायिक उत्पादनमा युवा पुस्ताको आकर्षण बढ्ने देखिन्छ । सिडड्रिलबाट भद्रपुर, साविकका गाविस वनियानी,वालुवाडी र पथरिया गरि २५ विगाह क्षेत्रफलमा खेति लगाइसकिएको उनले जनाए ।

पछिल्लो समय लगातार वर्षा भएकोले अलिक कठीन भएको उनको भनाइ छ । आगामी वर्षबाट यसको माग ह्वात्तै बढ्ने सम्भावना देखिएको उनले बताए । यो मेसिनले गहुँ र मकै समेत छर्न मिल्ने भएकोले माग बढ्ने उनले बताए । त्यसैगरि ड्रम सिडरलाई झापा गाउँपालिका, साविक हल्दीबारी,गोलधाप,केचना गाविस र हाल कलवलगुरी कृषि सहकारी लगायतका स्थानमा प्रयोग भई १० विगाह जमिनमा खेति लगाइसकिएको उनले जनाए । उल्लेखित स्थानहरुमा रन्जीत, गरिमा,स्वर्ण स्ववाम लगायतका उन्नत जातको धान लगाइएको उनको भनाइ छ । विद्युत् नआउने क्षेत्र कचनकवल गाउँपालिका केही वडाहरुमा सौर्य उर्जामार्फत बोरिङ् गाडिएको सुपरजोन सञ्चालन समितिका सचिव भगिरथा पयाकुरेलले जानकारी दिइन् ।