मधुमल्ला । उर्लाबारी नगरपालिकाको निर्णयमा छिमेकी गाउँपालिकाको भू–भागमा रहेको सयौं रुखहरु ‘सर्पट’ कटान गरेको छ । मिक्लाजुङ गाउँपालिका–९ मा अवस्थित नर्सरीका सयौं रुख र बाँसहरु रातारात काटिँदा नियमक निकाय वन कार्यालय मुकदर्शक बनेको छ । यस संगै बाषौं देखी बायोइन्जिनियरीङ बाटा नियन्त्रण हुँदै आएको मावा नदीको जोखीम बढेको छ । मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधिहरु उर्लाबारी नगरपालिकाको ‘हेपाहा प्रवृति’प्रति आक्रोशित बनेका छन् । साविक मधुमल्ला गाविसको ७, ८ र ९ नम्बर वडाहरु स्थानीय तहको क्षेत्र निर्धारण गर्दा उर्लाबारी नगरपालिकामा गाँभिएपनि मधुमल्लाको ६ नम्बरका केही भू–भाग पनि उर्लाबारी नगरपालिकाले आफ्नो दाबी गर्दै आएको छ । हाल रुख कटान भएको नर्सरी मिक्लाजुङ –९ मा अवस्थित छ । रुख कटानको अनुगमनमा भेटिएकी गाउँपालिकाकी उपाध्यक्ष सरला राईले प्रतिप्रश्न गरिन् –‘क्षेत्र निर्धारणको कुरा आफ्नो ठाउँमा छ, ऐलानी जग्गाको रुख कटान गर्न मिक्छ ?’ उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो र वडा नं. १ का वडाध्यक्ष मचिन्द्र कार्कीको ‘मिलेमतो’मा खेलमैदान बनाउने भन्दै मिक्लाजुङ गाउँपालिकाको भू–भागका रुखहरु कटान भएको हो । ब्याक लोडर (जेसीबी) प्रयोग गरी जराहरु उखेलिएका छन् भने रुख कटान भएको स्थानमा हाँगा, पोथ्रा र बाँसहरु असरल्ल छन् । ३ लाख रुपैयाँ बजेट विनियोजन गरी खेलमैदानका लागि रुख कटान गरेको वडाध्यक्ष कार्कीले स्वीकार गरेका छन् । रुख कटान गर्दा वनको स्वीकृति लिए ÷ नलिएको विषय भने उनले केही खुलाउन चाहेनन् । यता इलाका वन कार्यालय मधुमल्लाका प्रमुख जगदिश्वर देवले भने नर्सरी फडानी भएको सम्बन्धमा अनभिज्ञता जाहेर गरे । यद्पि, आफू विराटनगरमा रहेको भन्दै उनले मातहतका कर्मचारीलाई नर्सरीका रुख कटानका बिषयमा बुझ्न निर्देशन दिएको बताए । तत्कालिन मधुमल्ला गाविसका अध्यक्ष काशीनाथ पौडेलको अग्रसरतामा मावा खोलाको जोखिमबाट बस्ती जोगाउन नर्सरी लगाइएको थियो । वायोइन्जिनियरिङ पद्धतिद्वारा खोला किनारामा लगाइएको नर्सरीका कारण कालान्तरमा स्थानीयले राहत महशुस गर्दै आएका छन् । सो नर्सरीकै कारण उर्लाबारी–मधुमल्ला सडक खण्ड पनि जोखिमरहित बनेको छ । नर्सरी कटान हुन थालेपछि स्थानीयमा चिन्ता थपिएको छ । मिक्लाजुङ ९ का वडाध्यक्ष सोमनाथ अधिकारी भन्छन्न ‘उसैपनि साविक मधुमल्लाले बर्सेनी बाढीको बबण्डर खेप्नु परेको छ, तटबन्धको काम गरिरहेको नर्सरी सखाप पार्ने कार्य हामीलाई सह्य हुँदैन ।’ मिक्लाजुङ र उर्लाबारी सीमावर्तीको नर्सरीका रुख कटान हुँदा सबैभन्दा क्षति उर्लाबारीले नै ब्यहोर्नु पर्ने वडाध्यक्ष अधिकारीको कथन छ । यसैबीच रुख कटान स्थलगत अनुगमन गरी गाउँपालिकाकी उपाध्यक्ष सरला राई नेतृत्व टोलीले सोमबार नै सम्बन्धित निकायहरुलाई घटना बारेमा जाहेर गरेको छ । टोलीमा वडाध्यक्ष सोमनाथ अधिकारी, वडा नं. ६ , ७ र ८ का वडाध्यक्ष क्रमशः बृद्धिलाल निरौला, सुशीलराज चौहान र नविन कार्की सम्लित थिए । उनीहरुले जिल्ला वन कार्यालय, जिल्ला प्रशासन कार्यालयलगायत निकायमा घटनाको प्राकृतिक मुचुल्कासहित जानकारी दिएका हुन् । साथै नगरपालीकाले आफ्नो सिमानाको बोर्ड समेत निर्धारीत सिमा भन्दा करीब ५०० मिटर भन्दा बढी माथी राखेको छ भने मिक्लाजुङ गाउँपालिकाले भर्ने निधारीत सिमाना भनिएकै ठाउँमा आफ्नो सिमा क्षेत्रको बोड टाँस गरेको छ । यस अघी पनी सिमाना विबादमा आए पनी नर्शरीको विरुवा कटान संगै विवाद सतहमा आएको हो ।