निर्वाचित भइसकेपछि काम कसरी गर्नुभयो ? चुनावपछि हामीले असार २६ गते कार्यभार सम्हाल्यौँ । चुनावका बेला एमालेका तर्फबाट ४८ पेजको घोषणा–पत्र जारी गरेका थियौँ । जारी गरिएको घोषणा–पत्रमा मुख्य कुरो आर्थिक समृद्धि, सामाजिक न्याय र भौतिक पूर्वाधार, सुशासन र सामाजिक परिचालन बेलका नगरपालिकाको मूल आधार भनेका थियौँ । हामीले नगर र नगरवासीको आर्थिक समृद्धिलाई ‘टार्गेट’ गरेका छौँ । भौतिक पूर्वाधार पनि यही आर्थिक समृद्धिमै परिलक्षित हुन्छ । कुनै ठाउँमा हामीले बाटोको डिजाइन गर्दैछौँ भने त्यो बाटोले जनताको आर्थिक स्तर उकास्न के सहयोग गर्छ ? भन्ने कुरा आउँछ, त्यहाँको उत्पादन बजारमा जान्छ कि वा अन्तको उत्पादन त्यहाँ आउँछ कि बाटोले त्यहाँका मान्छेको रोजगारी सिर्जना गर्छ कि भन्ने कुरा हेरेर हामीले बाटो बनाउने काम ग¥र्यौँ । सामाजिक न्यायतर्फ भने अब कुनै गर्भवती महिलालाई अस्पतालसम्म पु¥याउन सकिन्छ । अपाङ्गता भएकालाई पूर्वाधारको सुविधा हुन्छ । बालबालिकालाई विद्यालय जान सजिलो छ । तसर्थ हामीले भनेको विकास निर्माण र सामाजिक न्याय समृद्धिमा आधारित छ ।
कस्ता नीति कार्यक्रम तपाईको प्राथमिकतामा रह्यो ? बेलका नगरपालिकाको पहिलो नगरसभा असोज १६ गते भएको थियो । नगरसभाले आर्थिक समृद्धिलाई जोड दिँदै विभिन्न नीति तथा कार्यक्रम पास ग¥यो र त्यहीअनुसार हामी काम गर्दैछौँ । हामीले समृद्धिका ४ खम्बाहरु निर्धारण ग¥र्यौँ । कृषिको विकास, पशुपालन विकास, पर्यटन विकास र उद्यमको विकास । कृषि क्षेत्रकै पनि ५ खम्बाहरु निर्धारण ग¥र्यौँ । माटोः जोसँग जमिन छैन, उनीहरुलाई जमिन लिजमा लिएर खेती गराउने वातावरण तयार गर्ने वा पर्ती रहेको जग्गामा सामूहिक खेती गराउने, जग्गा उपलब्ध गराउने । जसको जग्गा छ, त्यो त भई नै हाल्यो । दोस्रो पानी ः हामीले पानीमा अभियान पनि चलाइरहेका छौँ । हुनसक्ने ठाउँहरुमा बोरिङ गर्ने, पोखरी, आहाल खन्ने, सोलारबाट पानी तान्ने, स्रोत संरक्षण गर्ने, पुराना कुलोहरु मर्मत–सम्भार गर्ने, थोपा सिंचाइ योजना गर्ने अर्थात् हरेक तरहले सिंचाइ उपलब्ध गराउने । तेस्रो बीउः बीउमा आर्थिक सहायता गर्ने । अहिले हामीले बीउमा ५० प्रतिशत आर्थिक सहायता गरिरहेका छौँ । चौथो मलः मलका लागि गड्यौला पाल्न लगाउने, त्यसका लागि हामीले तालिम दिइरहेका छौँ । घरका फोहोरलाई व्यवस्थापन गरिनेछ । अर्को भनेको मेसिनरी औजारः यहाँ नगरपरिसरमा देखिरहनुभएको छ, यहाँ हामीले ५० प्रतिशत छुटमा किसानहरुको समूह,व्यक्तिहरुलाई मेसिन प्रदान गरिरहेका छौँ । अर्को भनेको प्रविधि र बजारः कृषकलाई तालिम प्रदान गरी बजारका लागि सङ्कलन केन्द्र स्थापना गरिदिने काम गर्दैछौँ । चिस्याउने केन्द्र निर्माणका लागि डीपीआर गरिसकेका छौँ । अर्को क्रस कटिङ भनेको त्यस्ता किसानलाई वित्तीय सहयोगका लागि समन्वय गराइदिने । बैङ्क, सहकारी वा नगरपालिका आफैले पनि किसानलाई बीउ पुँजीका रुपमा केही रकम उपलब्ध गराउने नीति कार्यान्वय गरिरहेका छौँ । आगामी वर्षलाई हामीले उत्पादनका वर्षका रुपमा घोषणा गर्दैछौँ ।
उत्पादनका दृष्टिले प्रत्यक्ष लाभको अवस्था कस्तो छ ? अहिले यहाँ दूधको उत्पादन धेरै छ । त्यसै कारणले भाउ पनि घटेको छ । अब हामीले सिधै धरान लगेर वा चतरा, विराटनगर लगेर दूध बेच्ने अवस्थामा छौँ । २७ सय घरपरिवारलाई अहिले च्याउको खेती गराएका छौँ । च्याउमा हामी आत्मनिर्भर छौँ । धरान र विराटनगरमा यहाँको च्याउ गइरहेको छ । दोस्रो पशुपालनः पहिलो बैठककै निर्णयबाट हामीले कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन गरेका छौँ । गाई, भैंसी, बाख्रा र बङ्गुरमा कृत्रिम गर्भाधानबाट उन्नत जातका पशुहरु उत्पादन गरिरहेका छौँ । ३ र ८ नम्बर वडामा बाख्राको स्रोत केन्द्र स्थापना भइसकेको छ । उत्पादन भएका दूधलाई चिस्याउन चिलिङ सेन्टर २ वटा सञ्चालनमा छ । अर्को घाँस खेतीः घाँसमा हामी आत्मनिर्भर छौँ । हामीले उत्पादन गरेका घाँसका बीउ अरुलाई बेच्छौँ । हामीले किन्न जानु परेको छैन । हाल १० युवा १ रोजगार कार्यक्रम चलिरहेको छ । यसैअन्तर्गत एउटा दूधको उद्योग पनि चलिरहेको छ ।
उद्यमको लागि कस्तो रणनीति छ तपाईको ? हामीले उद्यम विकास रणनीति बनाएका छौँ । उद्यम विकास शाखा हामीले मुलुकमै पहिलोपटक खोलेको दाबी गर्छौँ । हामीले यो वर्ष १ सय ५० जनालाई उद्यमी बनाउने लक्ष्य लिएका छौँ । तालिम मात्र दिएर छाड्ने होइन । यो वर्ष हामीले १ हजार जनालाई तालिम दिने लक्ष्य पूरा गर्न लागेका छौँ । तालिम लिएका मध्येबाट हामी आफैले १५० जनालाई उद्यमी बनाएर उद्योग नै दर्ता गर्ने रणनीतिमा अघि बढेका छौँ । उद्यमअन्तर्गत कृषि, पशु, पर्यटन र वन, उद्यमशील संस्कृति बेलका नगरपालिकाको समृद्ध जीवन भन्ने हाम्रो ‘मेन थिम’ छ । हामी कृषिमा आधारित, पशुमा आधारित, पर्यटनमा आधारित र वनमा आधारित उद्यम चलाउँछौँ । जसलाई हामीले एकीकृत उद्यमका रुपमा अगाडि बढाउँछौँ ।
अहिले हामीले एकल महिलालाई स्वेटर बनाउने तालिम दिइरहेका छौँ । आगामी वर्ष उनीहरुले उत्पादन गरेका सबै स्वेटर हामी किनिदिन्छौँ । जसलाई हामी जाडो मौसममा शीतलहर प्र्रभावितलाई वितरण गर्छौँ । पोषण कार्यक्रमअन्तर्गत बालबालिकालाई हामीले सर्वोत्तम पिठो बाँडिरहेका छौँ । अर्कातिर महिलाहरुलाई सर्वोत्तम पिठो बनाउने तालिम दिएर उनीहरुका उत्पादन किनिरहेका छौँ । तालिम लिएकाहरुको उत्पादन बिक्रीका लागि नगरपालिकाले बिक्री केन्द्र स्थापना गर्दैछ । हरेक महिना हामीले ५० जनालाई तालिम दिइरहेका छौँ । अहिले बाँसका सामग्री निर्माण गर्ने तालिम चल्दैछ भने १० गतेबाट प्याराग्लाइडिङ सम्बन्धी प्रशिक्षण हुँदैछ । नगरपालिकामाथि ६ बिघा जग्गामा हामी फूल खेती गर्दैछौँ । नगरपालिकाकै कर्मचारीले त्यहाँ खेती गर्छन् । नगरपालिकाकै तलतिर ‘ड्रेमोस्ट्रेड प्लट्स’ देख्न सकिन्छ । नगरमा काम लिएर आउने मान्छेले पनि फुर्सदमा यहाँ टनेल खेती गरिरहेको देख्छ । थोपा सिंचाइ आयोजना देख्छ । मौरीपालन देख्छ । नगरलाई कार्यालयसँगै लर्निङ सेन्टरका रुपमा विकास गरेका छौँ ।
पर्यटनलाई सुदृढ बनाउने नगरका नीति कस्ता छन् ? हामीले पर्यटन नीति बनाइसकेका छौँ । पर्यटन विकास बोर्ड गठन भइसकेको छ । अहिले विज्ञ राखेर पर्यटनको सम्भाव्यता अध्ययन गराइरहेको छु । यहाँका ३२ वटा पर्यटकीय तस्बिरहरु खिचेर राजधानीलगायतका प्रदर्शनीमा राखेको छु । कोशी टप्पु वन्यजन्तु छेउमै रहेको छ, तपेश्वरी–१ र २ त्यहाँ खाली रहेको ५३ सय बिघा जग्गामा एयरपोर्ट बनाउनका लागि प्रस्ताव गरेको छु । भर्खरै ‘प्रिभिजिविलिटी स्टडी’ गराएर पठाएको छु । त्यहीँ खाली जग्गामा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि पनि प्रस्ताव गरेको छु । वराहक्षेत्र नगरपालिकाको पनि ६ र ९ नम्बर वडा पर्छ । त्यहाँ मेयरसा’बसँग पनि दुई नगर मिलेर जग्गाको उपयोग गरौँ भनेको छु । त्यहाँ गल्फ कोर्स पनि निर्माण गर्न सकिन्छ ।
त्यहाँ क्रिकेटको अन्तर्राष्ट्रिय मैदान, गल्फकोर्ससँगै विराटनगरको अल्टरनेटिभ एयरपोर्ट निर्माण गर्न सकिन्छ । यो एयरपोर्टबाट उत्रने बित्तिकै मान्छे, अर्ना हेर्न जान्छ, घडियाल गोही हेर्न जान्छ, हात्ती सफारी गर्न जान्छ । संसारभरि नपाइने चरा हेर्न जान्छ । यहाँ पर्यटनका हिसाबले, अझ ठूला–ठूला धार्मिकस्थल छन्, वराहक्षेत्र, रामधुनी आदि जान सक्छ । अहिले बोट चलिरहेको छ । दुई घण्टामा त मान्छे भोजपुर, खोटाङ पुगिसकेको हुन्छ । विराटनगरबाट उत्रेर २ घण्टामा त मात्र धरान आइपुग्छ । अर्को कुरो, फ्लाइटमा कम पैसा लाग्छ । यदि मलाई सरकारले अनुमति दिन्छ भने म दुई हजारमा काठमाडौं फ्लाइट गराइदिन्छु ।
मैनामैनी क्षेत्रको विकासका योजना ? सुगाचरीमा गिद्ध संरक्षण क्षेत्र बनाएर अघि बढाउँदैछौँ । मैनामैनीको कोलुङ झरनालाई पर्यटकीय क्षेत्रका रुपमा विस्तार गर्दैछौँ । रानी छाँगालाई पनि त्यसरी नै विकास गर्दैछौँ । बबलाको टङ्केला गुफा सम्भवतः विश्वकै लामो गुफा हुनुपर्छ । ६०० मिटरभन्दा लामो हुनुपर्छ । मैनामैनी दरबार, मन्दिर, महाङ्काल मन्दिर, कार्की दलिन पोखरी त्यहाँ चिल्ड्रेन पार्क बनाउन खोजिरहेका छौँ । हामीले नेचर डेकोरेसनलाई पनि प्राथमिकता दिएका छौँ ।
पुग नपुग एक वर्षलाई फर्केर हेर्दा कस्तो अनुभव हुन्छ ? यी समृद्धिका चार पिल्लरलाई विकास गरेर हामी आर्थिक समृद्धिमा अघि बढ्दैछौँ । एक वर्षमा के गर्नुभयो भनेर तपाईंले सोध्नुहुन्छ भने म आत्मसन्तुष्ट छु । सर्पदंशका बिरामी बढेकाले तुरुन्तै सर्पदंशको उपचार केन्द्र स्थापना गर्र्यौँ । बसपार्क थिएन, बसपार्क व्यवस्थापन ग¥र्यौँ । यहाँ कलेज थिएन, अहिले कलेज सञ्चालन गरिरहेका छौँ । आयुर्वेदिक अस्पताल भोलि–पर्सीदेखि नै शुरु हुँदैछ । शहरी स्वास्थ्य केन्द्र मैनामैनी र तपेश्वरीमा सञ्चालनमा ल्यायौँ । जनताको सहजताका लागि वडालाई विभाजन गरेर सेवा केन्द्र सञ्चालनमा ल्यायौँ । सपोर्ट अन द स्पट भन्ने हाम्रो योजना छ, कानूनी प्रक्रिया पछि पूरा गर्ने तर तत्काल जनताको सेवा गर्ने जस्तो अस्ति नै मात्र एउटा बच्चालाई बँदेलले घाइते बनायो । उनको अभिभावकले पनि चाल नपाई उपचार गराउन पठायौँ । भन्नुको अर्थ ‘जहाँ अभर त्यहाँ नगर बनाएका छौं ।’ म चाहिँ के ठान्छु भने ‘लेट सपोर्ट इज नट सपोर्ट ।’
–प्रस्तुतिः विजय राई