दमक (झापा) सम्झौता अनुरुप समयमा ठेक्का सम्पन्न नर्गने झापाका ठूला ठेकेदारको नाम नै गृह मन्त्रालयमा पुगेको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालका अनुसार समयमा काम सम्पन्न नर्गने ठेकेदारको नाम गृहमा पठाइएको बताए । ‘काम नगर्ने ठेकेदार पक्षको नामावली मन्त्रालय पठाएका छौं । त्यसपछि केही ठेकेदार सम्पर्क आएर काम गर्न थालेका छन् । वाँकी अरुको पनि खोजी गरिरहेका छौं ।’– उनले भने । जिल्लाका विभिन्न ठाउँमा रोकिएका काम र काम जिम्मा लिने ठेक्काको कम्पनीको नामको सूची मागेर जिल्ला प्रशासन कार्यालयले मन्त्रालय पठाएको उनले बताए । उनले जिल्लामा काम नर्गने ठेकेदारको नाम खुलाउन चाहेनन् ।

निर्माणको काम नगर्नेहरु उपर पक्राउ गरेर कारवाही गरिने चेतावनी दिइएपछि एक साता यता केही ठाउँको काम अघि बढेको उनले बताए । ठेक्का लिएर मोविलाइजेशनको रकम लिएर भागेका, काम सुस्त रुपमा गरेका र काम चालु गरेपनि भुक्तानी हुन वाँकी रहेर काम रोकिएको ३ प्रकारका समस्या देखिएको उनले सुनाए । ‘केहीमा ठेकेदार र कार्यालय प्रमुख मिल्यो भन्ने कुरा पनि आएको छ । हामीले त्यो पनि वुझ्दैछौं ।’– उनले भने ।

जिल्लाको डिभिजन सडक कार्यालयका प्रमुख राजेशकुमार यादवका अनुसार सम्झौताअनुरुप काम नगर्ने ८ वटा ठेक्का सम्झौताको ७ वटा कम्पनीका ठेकेदारको सूची कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस बुझाएको छ । ब्लाष्टलाई दिएको नाम तालिकाअनुसार लामा–मैनाचुली जेभी, रौताहा–सगरमाथा जेभी, प्रवेश–वशिष्ठ–बस्नेत जेभी, नागार्जुन कन्स्ट्रक्सन, अम्बिका–गौरी जेभी, सिद्धार्थ निर्माण सेवा र सगरमाथा–घिमिरे निर्माण सेवाको नाम प्रशासनमा बुझाएको छ । पूर्वपश्चिम मुख्य सडक अन्तर्गत कनकाई नदीको पुललाई सुरक्षित बनाउन ३ सय ५० मिटरको बा“ध निर्माण कार्यमा प्रवेश–बशिष्ठ–बस्नेत जेभीले ढिलासुस्ती गरेको छ । तीनमहिनामा सम्पन्न गर्नुपर्ने बाँधको ०७४ बैशाख २३ गते ठेक्का सम्झौता भएको हो । गत बर्ष निर्माणाधीन बा“ध भत्किएपछि कनकाई पुल र नदी किनारका करिब २ सय घरपरिवार कटानको उच्च जोखिममा परेका थिए । निर्माण कम्पनीले १ करोड ४६ लाख ९३ हजार ३८ रुपैया“ बा“ध निर्माणको ठेक्का पाएको हो ।

त्यस्तै, मेचीनगर नगरपालिकास्थित साविक धाइजन गाविस ३ र ४ नम्बर वडामा पर्ने हडिया खोलाको पुल ८ बर्ष पुग्दासम्म निर्माण सकेको छैन । एक सय मिटर लम्बाईको उक्त पुल लामा–मैनाचुली जेभीले २ बर्षमा निर्माण सम्पन्न गर्नेगरी ०६७ पुस २८ गते ठेक्का सम्झौता गरेको थियो । ०७२ असार २४ गतेसम्मका लागि संशोधित म्याद दिइएको थियो । तर, निर्माण कम्पनीले उक्त म्यादमा पनि काम गरेन । २५ मिटरका चार वटा स्पेनमध्ये निर्माण कम्पनीले ८ बर्षमा दुई वटा स्पेन मात्रै निर्माण गरी आधा काम पनि नगरेको पाइएको छ । ५ करोड ८७ लाख ५३ हजार ५ सय ६१ रुपैया“मा पुलको ठेक्का सम्झौता भएको थियो । पटक पटक लिखित एवं मौखिक जानकारी गराउदा समेत ठेकेदारले अटेरी गर्दै काम नगरेको डिभिजन प्रमुख यादवले बताए ।

गौरादह नगरपालिका १ स्थित किस्ने खोलाको ५० मिटरको पुल दुईवर्षमा निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि ढिलाई गरेपछि उदयपुरको रौताहा–सगरमाथा जेभीलाई कारबाहीका लागि सिफारिस गरेको छ । २ करोड ७९ लाख २४ हजार ७ सय २ रुपैया“मा निर्माणका लागि ०६८ फागुन ५ गते ठेक्का सम्झौता गरेको थियो । ६ बर्ष नाघिसक्दासम्म ४० प्रतिशत मात्रै काम भएको छ । का“कडभिट्टादेखि मावा खोलासम्मको ५५ किलोमिटर मुख्यसडक मर्मतको ठेक्का लिएको अम्बिका–गौरी र सगरमाथा–घिमिरे जेभी सम्पर्क विहीन अवस्थामा छ । अम्बिका–गौरीले ९५ तथा सगरमाथा–घिमिरेले ७८ प्रतिशत काम गरेर सम्पर्क विहीन भएको सडक कार्यालयको रिपोर्टमा उल्लेख छ । मेची राजमार्ग मर्मतको ठेक्का पाएको नागार्जुन कन्स्ट्रक्सन र सिद्धार्थ निर्माण सेवा पनि सम्पर्क विहीन भएका छन् । मेची राजमार्गमा नागार्जुनको दुइटा ठेक्का रहेको छ । उसले एउटामा ८४ प्रतिशत र अर्कोमा ९० प्रतिशत काम सम्पन्न गरिसकेको छ । सिद्धार्थले ८२ प्रतिशत काम सम्पन्न गरेको छ ।