बिर्तामोड । कृषिथोक बजार बिर्तामोडमा ब्यापारीले मनोमानी मुल्य राखेर उपभोक्ता ठगी गर्दै गरेको पाइएको छ । खुद्रा बिक्रेताले होलसेल भन्दा ४ सय गुणा बढी मुल्य राखेर बिक्रि गर्दै उपभोक्तालाइै ठगी गरेको पाइएको हो । मनसुन शुरुवातको हरेक सिजनमा ब्यापारीले तरकारी र फलफुलमा चर्काे मुल्य बढाउँदै आएका छन् । बिर्तामोडको कृषि बजारभित्रै रहेको होलसेल पसलमा भन्दा खुद्रा बिक्रेताले ४ सय गुणा भन्दा बढी मुल्य राखेर कारोबार गरेको पाइएको छ । कृषि उपज बजार स्थलको कार्यालयमा रहेको रेकर्डमा चर्काे मुल्य असुलेको देखिएको छ । सम्बन्धित निकायको बेवास्ताका कारण ब्यापारीले आफुखुसी मुल्य राखेर ब्यापार गर्दा उपभोक्ता मारमा पर्ने गरेका छन् । सम्बन्धित निकायले प्रभावकारी अनुगमन र नियमन नगर्दा ब्यापारीले मनोमानी मुल्य तय गरेपछि उपभोक्ता ठगिमा परेका छन् । कृषि उपज बजार स्थल बिर्तामोडको तथ्यांकका आधारमा हेर्दा सामान्यतया १ सय प्रतिशतदेखि ५ सय प्रतिशतसम्म मुल्य बढी असुलेको पाइएको छ । होलसेल ब्यापारीबाट खरिद गरेर कृषि उपज बजार स्थलमै रहेका खुद्रा बिक्रेताको पसलबाट खरिद गर्दा समेत त्यो अन्तरको मुल्य रहेको भेटिएको छ । बिर्तामोडको कृषि बजारमा ३ सय भन्दा बढी खुद्रा ब्यापारी रहेका छन् । उनीहरुले सञ्चालन गरेको पसलको भाडा समेत न्युन रहेको छ । उनीहरुलाई ढुवानी खर्च तथा कुनै प्रकारको कर समेत नलाग्ने कृषि उपज बजार स्थलका ब्यवस्थापक शुरेस कुमार कामतले जानकारी दिए । कृषिथोक बजारमा तरकारी ब्यापार गर्ने ब्यापारीले एउटा पसलको महिनाको ४ सय २५ रुपैंयाँ भाडा तिर्दै आएका छन् । सरकारी भवनको सहुलियतको भाडामा ब्यापार गर्दै आएका उनीहरुले सरकारले नाफाका लागि तोकेको मापदण्ड पालना नगरेका हुन् । उपभोक्ता अधिकार ऐन अन्तर्गत ब्यापारीले उत्पादनमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउँने ब्यवस्था रहेको छ । कृषिथोक बजारभित्र रहेको होलसेल पसलमा प्रतिकिलो ९० रुपैंयाँपा पाइने स्याउलाई खुद्रा ब्यापारीले २ सय ५० रुपैंयासम्ममा बिक्रि गर्दै आएका छन् । त्यस्तै ३० को आँप १ सय, २ सयको अंगुर ४ सय, २ सय ५० को किवी ५ सय ५० मा, २५ को काँक्रा ६० रुपैंयाँ किलो सम्ममा बिक्रि हुँदै आएको छ । त्यसैगरी तरकारीमा पनि बयापारीको मनोमानी मुल्य कायम गरिएको छ । २० रुपैंयाँ किलोको टमाटर ४५ रुपैयाँमा बिक्री हुँदै आएको छ । त्यस्तै २५ को बन्दा ५० मा, २२ को मुला ४५ मा, ४० को भन्टा ८० मा, २५ को बोडी ५५ मा, २७ को आलु ५० मा, २२ को प्याज ४५ मा, ६० गाजर ९० मा बिक्री भइरहेको छ । यी लगायत सम्पूर्ण तरकारी तथा फलफूलमा अत्याधिक मूल्य बढाइएको छ । कृषि उपजका व्यवस्थापक कामतका अनुसार आफुसँग मूल्य नियन्त्रण गर्ने कुनै अधिकार नभएकाले र सम्बन्धित निकायले चासो नदेखाएकाले खुर्दा व्यापारीको मनोमानी चलेको बताएका छन् । ‘अनुगमनको काम जिल्ला प्रशासन कार्यालयले गर्ने हो’ कामतले भने ‘चाडवाडको बेलामा मात्र हुने अनुगमनले जनता मारमा परेका छन् ।’ अहिले अत्याधिक मुल्यबृद्धि गराएर ब्रम्हलुट गर्नका लागि ब्यापारीलाई उपयुक्त समय आएको छ । राष्ट्रिय उपभोक्ता मञ्चका झापा अध्यक्ष मदनगोपाल सुब्बाले राज्य संयन्त्रको निश्क्रियताका कारण अनुगमन हुन नसकेको आरोप लगाए । उनले प्रशासनको नेतृत्वमा मात्र अनुगमन गर्न सकिने बताए । उनले अनुगमन नहँदा ब्यापारीले अत्याधिक मुल्य बढाएको सुचना पाएको बताए । झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले अब अनुगमनलाई तिब्रता दिने बताए । ‘बजेटले सबै कुराको भाउ बढाएको छ, दहालले भने–‘अधिराज्यभरीको समस्या यही हो, झापाको समस्या समाधानका लागि मैले केहीदिन अघि सम्बन्धित निकायका सरोकारवालासँग छलफल गरेको छु ।’ उनले आकस्मिक अनुगमनलाई अब तिब्रता दिने बताए । हरेक बिक्रेताले २० प्रतिशत भन्दा बढी नाफा राख्न नपाँउने उपभोक्ता ऐनमा उल्लेख छ । त्यो ऐन नमान्ने ब्यापारीले कालोबजारी गरेको प्रमाणित हुने भएकाले कालोबजारी ऐन अनुसार कारवाही गर्ने उनले बताए । जिल्लाको बजार अनुगमन समितिका संयोजक समेत रहेका प्रजिअ दहालले तीन चार दिन देखि खुद्रा ब्यापारीले बजारमुल्य अत्याधिक बढाएको गुनासो कार्यालयमा आएको समेत बताए । प्रदेश नम्बर १ कै सबैभन्दा ठुलो बजार हिस्सा ओगट्ने बिर्तामोडको कृषिथोक बजारमा दैनिक ५० लाख भन्दा बढीको तरकारी तथा फलफुलको कारोबार हुने गरेको कृषि उपज थोक बजारको रेकर्डमा उल्लेख छ । यहाँ आयात हुने अधिकांस तरकारीको स्रोत भारतीय बजार हो । कृषिथोक बजारमा ६० प्रतिशत तरकारी र ८० प्रतिशत फलफुल भारतबाट आयात हुँने गरेको ब्यवस्थापक कामतले जानकारी दिएका छन् ।