बेलबारी ब्लाष्ट । मोरङको केराबारी गाउँपालिका वडा नं. ९ देवीझोडा स्थित कुमाले टोलमा १२ घर परिवार कुमाले पण्डित परिवारहरु बस्दै आएका छन् । उनीहरुको परम्परागत पेशा भनेकै माटोको सामान बनाएर बेच्ने र जिविकोपार्जन गर्ने हो । तर दुईवर्ष देखि खोलाबाट माटो ल्याउन नदिएपछि उनीहरुको पेशा व्यवसाय यतिखेर प्रभावित बन्न पुगेको छ । करिब ४० वर्ष देखि देवीझोडामा निरन्तर वसोवास गर्दै आएका कुमालेहरु बेलबारी,विराटचोक , केराबारी , लेटाङ बजारमा माटोका सामानहरु बनाएर बेच्न लान्थे । त्यहि सामानबाट आएको पैसाले उनीहरुले जिविका चलाउदै आएको स्थानीय युवा मोती पण्डितले बताएका छन् । तर अहिले खोलामा माटो ल्याउन नदिएपछि माटोका सामाग्री बनाउन समस्या परेको र भारतबाट गमलाहरु ल्याएर बेच्न वाध्य भएको उनले बताए । कुमालेहरुले केराबारी ९ कै धरधरे छेउको लोहोन्द्रा खोलाबाट यस अघि माटो ल्याउदै आएका थिए । पहाडबाट बगेर आएको चिप्लो माटो सामान बनाउन उपयुक्त रहेको उनीहरुको भनाई छ । हामीहरु भुक्षय वा कुनै पनि प्राकृतिक वस्तुहरुलाई असर नपारीकन आफूहरुले माटो ल्याउदै थियौं । अहिले चुरे क्षेत्र घोषणा भएको छ रे त्यसले रोकेको छ भनि माटो ल्याउन नदिएको पण्डितले गुनाशो गरे । उनीहरुले खोलामा उत्खनन् नगरी पहाडबाट बगेर आउने लेदो उठाउने गरेको भनाई छ । खोलामा संकलन गरिएको माटो ट्रयाक्टरमा संकलन गरि ल्याउन पाएमा करिब आठ दश टिप माटाले वर्ष भरि रोजगार मिल्ने उनीहरुको भनाई छ । बरु हामी स्थानीय सरकारलाई कर पनि तिर्न तयार छौं , हामीले पेशा व्यवसाय गरेर खाने वातावरण मिलाईदिन सम्वन्धित पक्ष संग पण्डितले अनुरोध गरेका छन् । माटोको अभावमा अहिले कुम्हाले परिवारको दैनिक आय आर्जनमा समस्या परेको उनीहरुको भनाई छ । प्लाष्टिकका सामानहरु यत्रतत्र आएपनि अझै पनि माटो सामानहरु विक्री हुने गरेको उनीहरुको भनाई छ । गमलाको अझै पनि बजारमा राम्रो खपत हुने गरेको छ । यसै विषयमा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले यो विषयमा उनीहरु म कहाँ पनि आएका हुन् । उहाँहरुको लिखित रुपमा निवेदन आएपछि सरोकारवाला निकायहरुलाई छलफल गरि पेशालाई निरन्तरता दिने वातावरण बनाउने अध्यक्ष कार्कीले बताए ।