धरान । दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्ने धरानको भानुचोकमा जब ४ बज्छ, तब ‘स्ट्रिट फुड’ (सडकमा बिक्रीका लागि राखिएको खाद्य पदार्थ) बिक्री गर्नेको लाम लाग्छ । दिनभरि नै सवारीको चाप अत्यधिक हुने भानुचोक क्षेत्र दिउँसो ४ बजेपछि बिस्तारै चापमूक्त हुँदै जान्छ । जब सवारीको चाप घट्दै जान्छ तब ठेलामा व्यापार गर्ने व्यापारीहरू ठेला लिएर निस्कने क्रम बाक्लिन्छ । बेलुकी ६ बजेपछि ठेलामा खाद्य बस्तु बेच्न आएका व्यापारीले भानुचोक बसपार्क क्षेत्र छपक्कै छोप्छन् । त्यही खाजा खानेको हरेक दिन लाम उस्तै हुन्छ । शहरमा भित्रिएको यो नयाँ संस्कारमा खानाको पारखीहरु मात्रै हैन, मजदुरी गर्नेहरूको पनि भिडभाड देखिन्छ । धरानमा मात्र सयौँको सङ्ख्यामा ठेलामा खाजा राखेर बेच्ने गरिएको छ । धरान उपमहानगरपालिकाको तथ्याङ्कमा मात्रै १ सय ७१ वटा ठेला दर्ता छन् तर यो तथ्याङ्क स्वइच्छाले दर्ता भएका ठेला मात्र हुन् । यहाँ दर्ता नगरी व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या दोब्बर होइन तेब्बर भन्दा बढी छ । ५ वर्ष अघि भारतको विहारबाट आएर धरानको बरगाछीमा ठेलामा राखेर पानीपुरी र चटपटे बिक्री गर्दै आएका आशिष शाहले पनि अहिलेसम्म ठेला दर्ता गराएका छैनन् । त्यस्तै भानुचोकमा विगत ७ वर्षअघिदेखि ठेलामा राखेर अण्डा रोल, चाउमिन र मःम बेच्दै आएकी कुमारी राई (नाम परिवर्तन) ले पनि कतै दर्ता गराएकी छैनन् । असुरक्षित ‘स्ट्रिड फुड’ स्ट्रिट फुड दुषित र असुरक्षित रहेको खाद्य प्राविधिकको दाबी छ । अपवादबाहेक सडकमा राखिने खानेकुरा किटाणुयुक्त हुने खाद्य प्राविधिक देवराज आचार्य बताउँछन् । उनले भने–‘हामी सधैँ सडकमा खान बानी परेकाहरूसँग अलि बढी रोग प्रतिरोधात्मक क्षमता हुन्छ र त्यस्ताखाले खानेकुरा पचाउने बानी परेको हुनाले असर गरेको थाहा हुँदैन तर अन्यत्र क्षेत्रका मानिसले प्रयोग गरे त्यसको असर तत्कालै देखाउँछ ।’ अर्का पोषणविद् तथा खाद्य प्राविधिक केपी लम्साल थप्छन् ‘अहिलेको अवस्थामा ठेलामा राखिएको खाना स्वास्थ्यलाई हानी गर्ने नै हुन्छन्, यद्यपि सामान्य सुधार गर्दा पनि धेरै सुरक्षित बनाउन भने सकिन्छ ।’ सडक नै प्रदूषित हुने हुनाले सडकमा राखेर बेचिने खानेकुरा स्वतः दूषित हुन्छन् । धरानमा स्ट्रिट फुड बेच्नेहरुमध्ये ६० प्रतिशतले मात्रै खान छोपेर राख्ने गरेको, ४४ प्रतिशतले नाङ्गो हातले खाना तयार गर्ने र सर्भ गर्ने गरेको र ३६ प्रतिशतले अझै फोहोर भाडावर्तनको प्रयोग गर्ने गरेको तथ्याङ्क केन्द्रीय प्रविधि क्याम्पस धरानको खाद्य प्रविधि विषयमा एमटेक गरिरहेका विद्यार्थीले यसै महिना तयार गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । धरानमा सबैभन्दा धेरै ‘स्ट्रिट फुड’ को व्यापार हुने भानुचोक झनै प्रदुशित रहेको छ । स्ट्रिट फुडलाई स्थानीय सरकारले व्यवस्थित गर्नुको सट्टा करमात्रै लिने परिपाटी छ । स्ट्रिट फुडको व्यवस्थापनमा स्थानीय नगरले नै चासो देखाउनु पर्ने खाद्य प्राविधिकहरुको तर्क छ । यसविषयमा धरान उपमहानगरका प्रमुख तारा सुब्बा स्ट्रिट फुड व्यवस्थित बनाउन नगरले नीति बनाउने तयारी गरेको बताउँछन् । अहिले तथ्याङ्क सङ्कलन भइरहेको बताउने सुब्बा भन्छन्, ‘यसै आर्थिक वर्षदेखि खाना पकाउने, बनाउने, र बेच्नेलाई सुरक्षित र स्वस्थ खानासम्बन्धी आवश्यक प्रशिक्षणको व्यवस्था समेत गर्दैछौँ ।’ यसका लागि निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने तयारीमा नगरपालिका लागेको छ । ज्ञानको कमी खानालाई स्वस्थ्य बनाउने विषयमा धेरै कमलाई जानकारी छ । स्ट्रिट फुड बेच्दै आएका दिवस श्रेष्ठले ग्राहकको स्वास्थ्यलाई ध्यान दिएर आफूले परिकार बनाउने गरेको दाबी गर्छन् । ‘आफैँले पकाएको खानेकुराले स्वास्थ्यमा असर गर्ला कि भन्ने मलाइ लागिरहन्छ ।’ श्रेष्ठ भन्छन् । यस्ता प्राविधिक ज्ञान बिना खोलिएका पसलबाट स्वास्थ्यमा असर मात्रै हैन, ज्यानै जानसक्ने खाद्य प्राविधिक देवराज आचार्य बताउँछन् । उनी थप्छन्, ‘सडकमा गुड्ने सवारीको धुवाँमा हाइड्रोकार्बन हुन्छ जसले क्यान्सरसम्म हुन्छ ।’ केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारका खाद्य प्राविधिका विद्यार्थीहरुले धरान स्ट्रिट फुडका विषयमा गरेको अध्ययनमा स्ट्रिट फुड बिक्री गर्नेमध्ये ६२ प्रतिशतको शैक्षिक अवस्था प्राथमिक तह भन्दा मुनि छ । त्यस्तै ५० प्रतिशतले मात्रै सफा कपडा लगाउने गरेका छन् भने ६ प्रतिशतले अत्यन्तै फोहोर कपडा लगाउने गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । स्ट्रिट फुड सञ्चालन गर्नेहरुसँग सिमित पानी हुने हुँदा भाडावर्तन भनेजस्तो सफा नहुने गरेको खाद्य प्राविधिक केपी लम्साल बताउँछन् । विद्यार्थीको अध्ययनमा स्ट्रिट फुड बेच्नेमध्ये १८ प्रतिशतले प्लाष्टिकका प्लेटलाई नै पुनः प्रयोग गर्ने गरेको भेटिएको छ । त्यस्तै १२ प्रतिशत मेटलका प्लेट प्रयोग गर्ने गरेका छन् । प्रयाप्त पानीको अभावले प्लेट डुबाएर निकाल्ने गरेका कारण अस्वस्थ्य हुने पोषणविद लम्सालको भनाइ छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फेमेली मेडिसिन डिपार्टका प्रमख डा. रविन भण्डारीका अनुसार अस्वस्थकर खानाले ‘मन्दविष’ को रुपमा काम गर्छ । तत्कालै झाडापखाला लाग्ने, जसले महामारीको रूपसमेत लिने गरेको छ । सामान्य सावधानी अपनाए धेरै सुरक्षित खाद्य प्राविधिक केपी लम्साल ठेलामा खानेकुरा तयार गर्नेदेखि बेच्ने समयसम्म हातमा पञ्जा, सफा एप्रोन, सफा भाँडाको प्रयोग गर्ने र खानेकुरा छोपेर राख्ने हो भने खाना स्वस्थ्य र सुरक्षित हुने बताउँछन् । केन्द्रीय प्रविधि क्याम्पस धरानका उपप्राध्यापकसमेत रहेका देवराज आचार्यका अनुसार खाना सर्भ गर्ने र तयार गर्ने व्यक्तिले सफा कपडा लगाउने, टाउकोमा अनिवार्य सुरक्षित टोपी लगाउने, हातमा औँठी बाला नलगाउने, मास्कको प्रयोग अनिवार्य गर्नेजस्ता सामान्य सावधानी अपनाए खानेकुरा धेरै सुरक्षित हुन्छ । प्राविधिक लम्सालका अनुसार कम्तीमा २ दिनदेखि एक हप्तासम्मको मात्रै प्रशिक्षण दिन पाए स्ट्रिट फुड अहिलेको अवस्थाबाट धेरै राम्रो अवस्थामा पुग्न सक्छ । आजभन्दा ११ वर्ष अघि हेटौँडाबाट धरान आएर होटल व्यवसाय सञ्चालन गरेर बसेका नरहरी तिमिल्सिना होटल व्यवसाय छाडेर ठेलामा स्ट्रिड फुड (समोसा, चाउमिन र आलुचप) को व्यापारमा लागे । ठेलाकै व्यापारले उनको आर्थिक हैसियत उक्सिएको छ । उनी भन्छन्–‘मैले सफा र ताजा बनाएकै कारण ठेलामा भिड लाग्छ, बिहान ५ बजेदेखि बेलुकी ६ बजेसम्म खाजा नास्ता खानेको भिड हुन्छ ।’ बेलुकी ६ बजेपछि पनि धेरै व्यापार हुने भएपनि दिउँसोको व्यस्तता र थकानले बेलुकीको व्यापार गर्न नसक्ने उनी बताउँछन् । धरानको भानुचोकमा मात्र नभई अन्य व्यस्त चोकचोकमा समेत सडक व्यापार भइरहेकै देखिन्छ । धरानको केन्द्रविन्दू भानुचोक क्षेत्र र बजार क्षेत्र भनेर चिनिएको भानुचोकदेखि छाताचोकसम्मको सडकमा ‘स्ट्रिट फुड’ को व्यापार भइरहेको पाउन सकिन्छ । यीबाहेक पुरानो बजार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मूलगेट अगाडि, रेल्वे, मंगलबारे, चतरा लाइन, जिरोप्वाइन्ट, विजयपुर, बगरकोट, सदन रोड, बरगाछीलगायतका क्षेत्र पनि ‘स्ट्रिट फुड’ को व्यापार हुने प्रमुख स्थानहरु हुन् । सडक किनारामा ठेला राखेर पानीपुरी, चटपटे, दहिवडा, आलुचप, चाउमिन, थुक्पा, मःम, फ्राइ राइस, हुँदै मासुका परिकारहरू, चिकेन रोस्ट, सेकुवा, लेगपिस, पखेटा, ड्रम स्टिक, चिकेन चिल्लीजस्ता परिकारहरू राखेर बेच्ने गरिएको छ । तर, सडकमा बेच्न राखिएका खाद्य पदार्थ कति स्वस्थकर छन् ? यो विषयमा कुनै बहस गरिएको छैन ।
पर्यटनमा टेवा मानिसको जीवनशैलीको विकास र आर्थिक हैसियतमा वृद्धि भएसँगै पछिल्लो समय विलासिताको जीवन बिताउने सौख बढ्दै गइरहेको छ । दिनभरिको थकान बेलुकी एकैछिन भएपनि रमाइलो गरेर बिताऊँ भन्ने धेरैको चाहना हुन्छ । पर्यटन व्यवसायी बासुदेव बराल भन्छन्– ‘विशेष गरी थाइल्याण्डमा स्ट्रिट फुड फेमस छ, त्यसले पर्यटकलाई आकर्षण गर्न र देशको आर्थिक उन्नतीमा ठूलो टेवा पु¥याएको छ ।’ धरानमा पनि स्ट्रिट फुड व्यवस्थित हुनुपर्ने बताउँदै बराल भन्छन् –‘धरानको बगरकोटमा ओपन स्ट्रिट फुडको छनक देखिन्छ तर व्यवस्थित हुन सकेको छैन । अब नगरपालिकाले स्ट्रिट फुडका लागि छुट्टै स्थान तोकिदिएर नाइट लाइफको अवधारणामा ल्याउनुपर्छ ।’