शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा ‘पूर्ण खोप सुनिश्चितताको दिगोपन’ तथा ‘ज्येष्ठ नागरिकसंग नगरपालिका’ कार्यक्रमको सरोकारवालाहरुसँग विहीवार छलफल भएको छ । सहभागिले स्वास्थ्य कार्यक्रमको प्रभावकारिता वढेको वताएका छन् ।
नगरको स्वास्थ्य शाखाद्धारा आयोजित कार्यक्रममा ०७४ असार ३१ गते नगरलाई पूर्णखोप सुनिश्चित घोषणा भएको अवस्थामा त्यसयताको १ वर्षमा त्यसको दिगोपनका बारेमा विश्लेषण भएको छ । स्वास्थ्य संयोजक मुरारी आचार्यले यस अघि छुट हुन पुगेका ३१ जनालाई समेत खोप लगाउने काम भएपछि चालु आर्थिक वर्षमा नगरमा १ हजार ९ जना बालबालिकाले खोप लगाएर पूर्ण खोप सुनिश्चिताको दिशामा अघि बढेको बताए । वडाध्यक्षको संयोजकत्वमा वडा खोप समन्वय समिति गठन गरी छुटेकाहरुको खोजी गरी खोप लगाउने काम भएको उनले जनाए ।
पूर्णखोप घोषणा भएपनि प्रत्येक वर्ष सवैले खोप लगाएको सुनिश्चिताको अवस्थामा भइरहनु पर्ने भएकाले नगरपालिकाका जनप्रतिनिधि, स्वास्थ्य संस्थाका प्रतिनिधिको सहभागितामा नगरस्तरीय खोप समन्वय समिति समेत गठन भएको छ । नगर प्रमुख दिलीपकुमार राई संयोजक रहने गरी गठन भएको समितिले नगरमा बाँकी रहेका खोपकेन्द्रको व्यवस्थापन गर्दै प्रत्येक वर्ष प्रत्येक वालवालिकालाई खोप लगाउने कुराको सुनिश्चितको वातावरण वनाउने छ । कार्यक्रममा, खोप कार्यमा खटिने स्वास्थ्यकर्मीलाई झोला र रेनकोट वितरण गरिएको छ । यस वर्ष वीसीजीमा १ सय १८, एमआर १ सय १६ प्रतिशत खोप लगाउने बालबालिका रहेको तथ्यांक छ । औषधि खान छुटेका (ड्रप आउट) बढीमा १० प्रतिशतसम्म हुनुलाई पूर्ण रुपकै अवस्था मान्ने गरिन्छ । तर नगरमा १०, ९ हुँदै चालु आर्थिक वर्षको फागुनसम्ममा २ प्रतिशतमा झरिसकेको जनाउँदै यसले पूर्ण खोप सुनिश्चितताको अवस्था दर्शाएको उल्लेख भयो ।
कार्यक्रममा, नगर प्रमुख राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले बालवालिका तथा ज्येष्ठहरुको विषयमा संवेदनशील भएर कार्यक्रमहरु व्यवस्थित गर्दै लाने वताए ।
त्यसैगरी, नगर प्रमुख राईको मुख्य सोचमा अघि वढेको ८० वर्षमाथिका ज्येष्ठहरुको घरघरमा मासिकरुपमा स्वास्थ्य जाँच कार्यक्रमको प्रभावकारिताका बारेमा पनि जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरुसँग अन्तरक्रिया भएको छ । स्वास्थ्य समितिको आयोजनामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकका नगर अगुवा ज्ञानेन्द्र भट्टराई सहितले ज्येष्ठहरुका लागि यो नेपालकै उदाहरणीय कार्यक्रम भएको भन्दै नगरले यसलाई थप व्यवस्थित गर्दै लानु पर्ने बताए । उनीहरुले ७० वर्षदेखिकालाई नै त्यसखाले उपचार गर्न सके ज्येष्ठहरुका अझ राहत मिल्ने सुनाए ।
‘ज्येष्ठ नागरिकसंग नगरपालिका’ नाम दिइएको सो कार्यक्रम अन्तर्गत नगरमा रहेका ८० वर्षमाथिका ९ सय २७ ज्येष्ठमध्ये वैशाखमा ६ सय २२ ज्येष्ठकोमा पुगेर चेकजाँच तथा परापर्श दिइएको जानकारी गराइयो । जसबाट ज्येष्ठहरु उत्साहित भएको र सो क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरुलाई पनि ज्येष्ठहरुमाथि सम्मान गर्न पाएको अनुभूति भएको उल्लेख भयो । ‘मेरो जागिरको २० वर्षे अवधिमा दाँत झरेको र चाउरिएको अनुहारले हाम्रो सेवा पाएपछि खुसी भएको हाँसेको हाँसोले सवैभन्दा बढी प्रभाव पारेको छ ।’– नगर स्वास्थ्य संयोजक आचार्यले कार्यक्रममा भावुकता प्रकट गर्दै भने । एलिना गुरुङ, सरिता कटुवाल, ममता माझी र रविना तामाङ ज्येष्ठहरुको घर घरमा पुगेर उनीहरुको आशिर्वाद ग्रहण गर्दै स्वास्थ्य जाँच गर्ने काममा खटिएका छन् । ‘हजुरबा हजुरआमा उमेरका उहाँहरुको मायालु अनुहार र आशिर्वादले हामीलाई उर्जा मिलेको छ ।’– एलिनाले वोल्ने क्रममा भनिन् । नगरपालिकाबाट ८० वर्षमाथिकालाई वर्षमा एक पटक १ नम्वर प्रदेशभरी उपचारमा जाँदा एकतर्फी एम्वुलेन्स भाडा, अवको आर्थिक वर्षबाट क्यान्सर, मुटु, मृगौला र स्पाइनल कड इन्जुरीको समस्या भएकालाई जीवनमा एक पटक १५ हजार रुपैयाँ राहत दिने कार्यक्रम पूर्वका लागि प्रभावकारी कार्यक्रम बनेको छ ।