इलाम । पूर्वी पहाडकी रानी मानिने इलाम जिल्ला भौगोलिक,सास्ँकृतिक रुपमा मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि धनि छ । यहाँका पर्यटकीय स्थलहरु श्रीअन्तु,कन्याम,माईपोखरी,टोड्के झरना,सन्दकपुर लगायत विश्वकै चर्चित स्थलहरु रहेको जिल्लामा अन्य थुप्रै सुन्दर पर्यटकीय स्लहरु रहेका छन् । जसमध्ये पछिल्लो समयमा परिचित हुदैँ गएको चन्द्रपाल थेबे स्मृति प्रतिष्ठान ढाप सिमसार क्षेत्र समेत आन्तरिक पर्यटकहरुको आकर्षण बनेको छ । इलाम जिल्लाको उत्तरी सन्दकपुर गाउँपालिका वार्ड नं ५ जमुनामा अवस्थित ढापपोखरी इलाम सदरमुकामबाट कच्ची बाटो हुदैँ पुगिन्छ । वर्षातको समयमा कठिनाईका साथ यातायातका साधन पुग्ने भएतापनि आन्तरिक पर्यटकहरु भने पुग्ने गरेका छन् । वर्षात लागेसगैँ इलामका ग्रामिण पर्यटकीय स्थलहरु माईपोखरी,सन्दकपुर,टोड्के झरना प्रसिद्ध झुल्के घाम,कञ्चनजंघा हिमालको दृष्यावलोकन गर्न सकिने सन्दकपुर लगायतको प्रसिद्ध पर्यटकीय स्थलहरुमा फट्टफुट्ट मात्र पर्यटक जाने गर्दछन् । ऐतिहासिक महत्व बोकेको यस पोखरी विगतमा सिमसार क्षेत्र भएकाले कृषकहरुको धानको बिउ राख्ने खेतका रुपमा परिचित थियो तर पानी उम्रने ठाँउ नाग देवदेवीहरुको पूजाआजा गरिने यस क्षेत्रको इतिहाससँग जोडेर हेर्दा पोखरी भएको स्थान करिव ५० रोपनी क्षेत्रफलमा अवस्थित सिमसार क्षेत्र रहेकाले इलाम जिल्लाका सरोकारवाला निकाय साथै गाँउका अग्रज व्यक्तित्वको छलफलबाट यस क्षेत्रलाई धार्मिक,पर्यटकीय सिमसार क्षेत्र घोषित गरि पोखरीको संरक्षण गर्न थालियो । सन्दकपुर गाँउपालिका ५ साविकको जमुना गाविसमा रहेको यस पोखरीमा २०७४ सालयताबाट ढाप पोखरी महोत्सब हुन थालेको छ । महोत्सबमा स्थानीय उत्पादनका वस्तुहरुको पर्यटन प्रवद्र्धन गरिएको थियो । इलामका सबै स्थानीय निकायका जनप्रतिनिधि, राष्ट्रिय स्तरका कलाकार लगायतको उपस्थिति हुने हुनाले यसले थप पर्यटनलाई आकर्षण बनाउने गरेको छ । पोखरीमा २०७४ साल कात्तिक १ गते दुई वटा डुंगा ल्याइए पश्चात पर्यटकको संख्या समेत बढ्न थालेको चन्द्रपाल थेबे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष विप्लव भट्टराईले बताए । उनले पोखरी आसपास पुराना हामस्टे रहेकाले मेची पहाडी क्षेत्र पर्यटन विकासद्धारा होमस्टे तालिम आयोजना गरिएको जसमा स्थानीय आकर्षक बनेकाले होमस्टे विकास हुने बताए । पोखरीमा सात हजार पाँच सयको हाराहारीमा माछा रहेको र यसले थप पर्यटकलाई आकर्षण गर्ने भएकाले माछा हेर्न समेत आन्तरिक पर्यटकहरु जाने गरेको बताए । पोखरीलाई संरक्षण गर्न साथै यसको स्तर उन्नती गर्न २०७२ सालदेखि स्थानीय सक्रिय रुपमा जुटेका छन् । हिउँदको समयमा दैनिक एक सयको हाराहारीमा पर्यटक आउने गरेको तर वर्षात सुरु भए पश्चात दैनिक २० जनासम्म डुंगा सयर गर्ने गरेका छन् । वर्षातको समयमा पोखरीको पूर्वतर्फ हुने जोखिम कम गर्न हाल पोखरीमा बाँध लगाउने काम भइरहेको छ । बाँध लगाउनमा गाँउपालिकाको बजेट सार्वजनिक नभएकाले स्थानीयले श्रमदान गरिरहेको र सहयोगको आशमा नै कार्य सञ्चालन भईरहेको समितिका उपाध्यक्ष निर बहादुर फागोले बताए । परम्परागत रुपमा काग तिहारको अवसरमा लाग्दै आएको कागे मेलाको अवसर पारी कात्तिक एक गते देखि ढापपोखरीमा दुई वटा डुङ्गा ल्याएपश्चात स्थानीय पर्यटकहरु थप आर्कषित भएका हुन् । ढाप पोखरी अधिकांश भूभाग रहेको स्थानीय जग्गादाता देउ बहादुर लिम्बु भन्छन्, ग्राणिण क्षेत्रको पर्यटनलाई आकर्षण गर्ने मुख्य केन्द्र ढापपोखरी रहेकाले जग्गालाई भन्दा पनि पोखरीको विकासमा आफूहरु लागि परेको बताए ।
यस्तै स्थानीय दिपक गुरुङ भन्छन्,“ जमुनामा हाँगेथाम, चोयाटार जस्ता पर्यटक स्थल धेरै हेर्न र घुम्न लायक ठाउँहरु छन् त्यसमा ढापपोखरीले एउटा नयाँ खुड्कीला थप्ने काम ग रेको छ ।” स्थानीय छविलाल खनालले होमस्टे तालिमबाट आफूहरु प्रभावित भएको र पोखरीको आकर्षण,पर्यटन प्रवर्धनमा यसले महत्वपूर्ण भूमिका खेल्ने भएकाले आगामि दिनहरुमा होमस्टे सञ्चालन गर्ने बताए । वरीपरि हरियो चियाबगान, धुुपी, सल्ला तथा स्थानिय जातका बोटविरुवाले पोखरीको सौन्दर्यतामा अझ बृद्धि गरेको छ । नजिकै रहेको चोयाटार जङ्गलमा लज्जालुु प्राणी रेडपाण्डा, अनी जिल्लाकै सवैभन्दा अग्लो स्थान सन्दकपुर जाने पर्यटकका लागि समेत सो पोखरी आकर्षणको केन्द्र बन्दै गएको छ ।