पानवारी । अन्तशुल्क स्टिकरहरु बजारबाट संकलन गरेर पटक पटक एउटै स्टिकर टाँसी उद्योगीहरुले लाखौंं रुपैया राजश्व छली गरिरहेको खुलेको छ ।
सूर्तीजन्य पदार्थमा टाँसिएका अन्तशुल्क स्टीकरहरु उप्काएर पुनः प्रयोगका लागि उद्योगीहरुले लाने गरेको प्रमाण ब्लाष्टले फेला पारेको हो । बजारमा गुटखा तथा सूर्तीजन्य पदार्थमा टाँसिएका स्टीकरहरु पुनः प्रयोगका लागि जम्मा गरेको अवस्थामा ब्लाष्टकर्मीले फेला पारेको थियो ।
सुर्तिजन्य पदार्थ विक्रि गर्दा अनिवार्य रुपमा अन्तशुल्क स्टिकर टाँस्नुपर्ने प्रावधान छ । उद्योगले यस्तो स्टिकर अन्तशुल्क राजश्व र स्टिकरको शुल्क तिरेर उद्योगमा लागि आफै टाँस्ने गरेका छन् । गुट्कामा टाँसिने प्रति अन्तशुल्क स्टिकरको राजश्व ८३ रुपैया र सुर्तिमा टाँसिने प्रति अन्तशुल्क स्टिकरको मुल्य १ सय २२ रुपैया पर्ने गरेको छ । आन्तरिक राजश्व कार्यालय धरानका प्रमखु देवनारायण पौडेलका अनुसार १ केजी गुट्काको अन्तशुल्क ५ सय ५४ रुपैया र एक केजी सुर्तिको अन्त शुल्क ३ सर ५ रुपैया पर्ने र प्रति १ सय ५० ग्रामको गुट्का र प्रति ४ सय ग्रामको खैनीको प्याकेटमा एउटा अन्तशुल्क स्टिकर टाँस्नु पर्छ ।
विशेष गरी गुट्का र खैनी उद्योगले यस्ता स्टिकर फिर्ता लाने गरेको धरानका एक किराना व्यापारीले बताए । उनले भने –‘सेल्समेनहरुले एउटा स्टिकर बराबर १० रुपैया दिन्छन् ।’ धरानका विभिन्न थोक तथा खुद्रा विक्रेता मात्र नभइ जहाँ जहाँ गुट्का खैनीको बढी ब्यापार हुन्छ त्यहाबाट उद्योगीले सेल्समेन मार्फत् स्टिकर फिर्ता लाने गरेका छन् । पटक पटक एउटै स्टिकर प्रयोग गरेर लाखौको राजश्व छली गर्दा सम्बन्धित निकाय भने बेखबर छ । आन्तरिक राजश्व कार्यालय धरानका प्रमुख देवनारायण पौडेलले भने –‘उद्योगी व्यापारीले राजश्व छलि गर्न विभिन्न उपाय अपनाउछन्, यस्तो प्रकृतिको छलि अहिलेसम्म सुनेको थिइन ।’
बजारबाट दश रुपैयामा किनेको स्टिकर संकलन गरेर सेल्समेनहरुले उद्योगीलाई २० रुपैयासम्ममा बेच्ने गरेको खुलेको छ । राजश्व तिरेर स्टिकर किन्दा प्रति स्टिकर गुड्काको ८३ र खैनीको १सय २२ रुपैया पर्ने भएकोले बजारबाट पुनः त्यस्ता स्टिकर संकलन गरेर प्रयोग गर्दा प्रतिगोटा २० रुपैयामा आउने भएकोले व्यापारीले कालो धन्दा चलाएका हुन् । धरान–१५ मा किराना पसल सञ्चालन गरेर बसेका एक व्यापारीले भने मैले हप्तामा ५० पाकेट भन्दा धेरै भोला बेच्छु, भोलामा स्टिच गरेको स्टिकर संकलन गर्दा मलाई एउटाको १० रुपैया आउँछ । विगतमा नक्कली अन्तशुल्क स्टिकर प्रयोग गरेको भेटिने गरेता पनि अहिले पटक पटक एउटै स्टिकर प्रयोग गरेर उद्योगीले ठगी गरीरहदाँ अनुगमन गर्ने सम्बन्धित निकाय बेखबर जस्तै छ ।