शनिश्चरे । मोरङ जिल्ला ‘टीवी’ अर्थात क्षयरोगका अधिक विरामी भएको जिल्लामध्येमा पर्छ । जिल्लामा रहेका क्षयरोगीहरु अस्पतालसम्म आउन अझै वाँकी रहेको देखिन्छ ।

जिल्ला सदरमुकाम तथा अत्याधिक जनसंख्या रहेको विराटनगर महानगरपालिका क्षेत्रमा चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म १ सय २ जना क्षयरोगी भेटिएको तथ्यांक छ । तर त्यो भन्दा निकै वढी संख्यामा क्षयरोगी भएको अनुमान गरिएको छ । जिल्लामा सो अवधिमा ८ सय ५ जना क्षयरोगीको तथ्यांक छ । ‘जिल्लामा २ हजारको हाराहारीमा क्षयरोगी हुनुपर्छ भनेर केन्द्रले भनेको छ । ’– जिल्लाका क्षयकुष्ठ अधिकृत रामनरेश ठाकुरले भने ‘ तर उनीहरुको खोजी हुन सकिरहेको छैन ।’

क्षयरोग स्वासप्रस्वास र खकारबाट सर्छ । कतिपय क्षयरोगीहरु आफ्नो रोग थाहा नपाएर त्यसै घरमै वस्नेहरुको संख्या दोब्बर रहेको बुझिन्छ । कुष्ठरोगीहरुको भनें घर घर गएर खोजविन गर्ने गरिएपनि क्षयरोगीको भनें त्यसरी खोजविनको कार्यक्रम आएको छैन । जसका कारण क्षयरोगीहरु घट्न नसकेको ठाकुरको भनाई छ । विराटनगरमा नयाँ र पुराना गरी १ हजार २ सय देखि १ हजार ३ सय हाराहारीको संख्याले स्वाथ्यकर्मीको प्रत्यक्ष निगरानी (डट्स) विधिमार्फत औषधि खाइरहेका छन् । त्यसमा पनि १ हजारको संख्या प्रत्येक वर्ष सधैंजसो औषधि खाइरहनेमा पर्छ । ‘औषधि खाएर निको हुनेहरु वढेपनि नयाँ रोगीहरु पनि उत्तिकै फेला परिरहेका छन् ।’– जनस्वास्थ्यको एउटा समस्यामा रुपमा रहेको क्षयरोग बारे भने ।

विराटनगरमा सवैभन्दा वढी क्षयरोगी भएको भनिएपनि हालको तथ्यांकले जिल्लाको दोस्रो ठूलो नगर पथरीशनिश्चरेमा धेरै क्षयरोगी भएको देखाएको छ । त्यहाँ १ सय ६ जना क्षयरोगी फेला परेको नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जनाए । आफु ०६४ सालमा पथरीमा आउँदा क्षयरोगको भयावह अवस्थाले आफुलाई काम गर्न निकै गाहे पनि भएको उनले सुनाए । तर लगातार ७ वटा माइक्रोस्कोप राखेर चेक गरी क्षयरोगी पत्ता लगाएर उपचार गर्न थालेपछि उनीहरुले नयाँ जीवन पाएको प्रसंग सुनाए । ‘आफुले वंशका आधारमा क्षयरोग सर्दैन भन्ने बुझ्दै आएको अवस्थामा पथरी क्षेत्रमा त ३ पुस्तादेखि क्षयरोग हुँदै आएका परिवार भेटेपछि स्वास्थ्य क्षेत्रकै चुनौती देखापरेको थियो ।’– उनले क्षयरोग बारे फरक कुरा जानकारीमा आएको उल्लेख गर्दै भने । क्षयरोग सर्छ भनेर वुझाउँदै औषधि खुवाउन निगरानी वढापछि धेरै क्षयरोगी अस्पताल आएपनि अझै लुकेर रहेका क्षयरोगीहरु रहेको उनले वताए ।

नगरको पथरीमा ४१, शनिश्चरेमा २२ र हसन्दहमा ९ जनामा क्षयरोगको किटाणु फेला परेको छ । जसमध्ये ६३ जनामा खकारमा किटाणु देखिएको तथा १२ जना फोक्सोेका, २२ जना फोक्सो वाहेकका क्षयरोगी र ९ जनाले दोहोर्याएर औषधि खाइरहेको अवस्था देखिन्छ । पथरीशनिश्चरेमा पनि क्षयरोगी पत्ता लगाएर उपचार गर्न कठिन भइरहेको छ । वडा नम्वर १ का दलवहादुर गुरुङलाई बल्लतल्ल क्षयरोगी भएको पत्ता लगाएर पथरी स्वास्थ्यचौकीले औषधि खुवाउन सुरु गरेपनि उनले नियमित औषधि खान नआउँदा रोग सार्ने खतरा वढ्यो । जस कारण प्रहरी लगाएर उनलाई समाती औषधि नियमित खान कायल वनाइएको थियो । उनी अहिले औषधि खाने क्रमको अन्तिम चरणमा छन् । उनी औषधि नखाइ जाँडरक्सी मात्र खाने गरेका थिए । ‘म जस्तो अरु पनि गाउँमा छन् नि । तर अस्पतालसम्म औषधि खान आएका छैनन् । अव त म उनीहरुलाई पनि सम्झाउन जानु पर्यो भनेर सोच्दैछु ।’– पहिले हिंड्न नसक्ने अवस्थाका उनले उपचारपछि तन्दुरुस्त भएको सुनाउँदै भने । जाँडरक्सी, चुरोट खाने तथा पोषिलो खानेकुरा नखाने परिवारका मानिसहरुमा मुख्यगरी यो रोग भेटिन्छ ।

निःशुल्क पाइने सामान्य औषधि ६ महिनादेखि १ वर्षसम्म नियमित खाएमा निको हुने क्षयरोगलाई कतिपय नीजि अस्पतालले क्षयरोग हो भनेर नभनी महंगा औषधि बेचेर झुलाइरहने गरेका उदाहरण पनि छन् । पथरीशनिश्चरे १ का विष्णु लिम्बू विदेश गएर आउँदा क्षयरोग लागेको अवस्था भएपनि ६ महिनासम्म अरु नै खाले महंगो औषधि खुवाएर हैरान पारेको दुखेको पोख्छन् । पछि पथरी स्वास्थ्य चौकीमा आएर जँचाएपछि क्षयरोग भन्ने थाहा भएको र औषधि खाएपछि निको भएको वताउँछन् ।

समुदायमा आधारित डट्स शुरु ः

स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीको निगरानीमा औषधि सेवन गर्ने कामलाई यसबेला सरकारले केही परिवर्तन गरेको छ । असक्त, सुत्केरी, ज्येष्ठ, कार्यालय समयमा विद्यालय जाने वालबालिका र कर्मचारीका लागि घरमै गएर औषधि खुवाउने कार्यक्रम थालेको छ । समुदायमा आधारित डट्स विधिमार्फत जिल्लाका अधिकांश पालिकाले यो काम थालेका छैनन् । गत वर्षदेखि आएको यस्तो कार्यक्रम यस वर्ष पथरीशनिश्चरेले सुरु गरेको छ । स्वास्थ्य कार्यकर्तालाई माइक्रोस्कोपी तालिम दिएर घर घरमा खटाउँदैछ । वडामा स्वयमसेवकहरु सहितको समिति वनाएर घर घरको योजना अघि वढेको छ ।

सन् १९९३ मा विश्वस्वास्थ्य संगठनले क्षयरोगलाई प्रमुख जनस्वास्थ्य समस्या घोषणा गर्यो । सन् १९९६ देखि डट्स विधिबाट औषधि खुवाउन थालियो । नेपालमा भनें सन् २००१ देखि यो विधि भित्रियो । सन् २०५० सम्ममा क्षयरोग निर्मूल गर्ने कुरामा नेपालले पनि अन्तराष्ट्यि महासन्धिमा हस्ताक्षर गरिसकेको छ । १५ देखि ४९ वर्ष उमेर समूहमा वढी क्षयरोगी छन् । वयस्क जनसंख्याको ६० प्रतिशतका रुपमा वर्षेनी ८० हजारदेखि ९० हजारको संख्या नेपालमा यो रोगबाट पिडीत छ भनें ४५ हजार रोगीको संख्या वर्षेनी थपिन्छ । नेपालमा ५ हजारदेखि ७ हजार मानिस यो रोगबाट ज्यान गुमाउछन् । नेपालमा १० हजार हाराहारीको संख्या अझै लुकेकै अवस्थामा घरमै रहेको स्वास्थ्य चौकी पथरीका स्वास्थ्यकर्मी जगत मगरले तथ्यांक विश्लेषणका क्रममा वताए । एकजना मानिसले १० देखि १५ जना मानिसलाई यो रोग सार्ने भएकाले रोगीको उपचारमा सवैपक्षले ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘त्यस्ता मानिसलाई खोजेर सम्झाउँदै नियमित औषधि खुवाउने वातावरण वनाउनु पर्छ । नत्र क्षयरोग नियन्त्रण नै हुँदैन ।’– उनले भने ।