इटहरी । ‘थाहा छैन कसले पास दियो । सेन्टरलाइन नजिकै बल मेरो खुट्टामा पर्यो । चार जना खेलाडी छकाउँदै प्लेसिङमा पुगेपछि ड्याम्म सुट हानेँ । गोल ।।। १ पाकिस्तान इस्लामावाद स्टेडियमका सयौँ दर्शकहरू खुसीले चिच्याए । किपर हेरेको–हेर्यै भयो । म पनि खुसीले चिच्याउँदै साथीहरूतिर कुदेँ ।’ पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ १३ वर्षअघिको यो दृश्य सम्झेर अझै रोमाञ्चित हुन्छन् । सन् २००५ मा साफ च्याम्पियनसीप अन्तर्गत भएको खेलमा नेपालका स्ट्राइकर सुरेन्द्रले गरेको यो गोल नै इटहरीको पहिलो अन्तर्राष्ट्रिय गोल थियो । यो खेल नेपालले तीन शून्य गोल अन्तरले जितेको थियो । सोही वर्ष एसिया कप क्वालिफाइङ राउन्डअन्तर्गत दक्षिण कोरियासँग भएको भीडन्तमा इटहरीका रितेश थापा र सुरेन्द्र तामाङ गरी दुई जना खेलाडी मैदानमा थिए । नेपालले भर्खर विश्वकप खेलेर आएको टोली दक्षिण कोरियाबाट १६ गोल उपहार पाएको सो खेल नतिजाका हिसाबले बिर्सनलायक भए पनि सहभागिताको हिसाबले इटहरीले सधैँ सम्झिरहनुपर्ने प्रतियोगिता हो । एक समय यस्तो थियो, फुटबल र इटहरी पर्याय जस्तै थियो । इटहरीको विशेषगरी सानो–जनता चौरको धूलो–हिलोमा लड्दै–उठ्दै निखारिएका खेलाडीहरूको राष्ट्रिय–अन्तर्राष्ट्रिय प्रतियोगितामा विशेष उपस्थिति र अलग्गै पहिचान हुने गथ्र्यो । रामकुमार सुब्बा, रामकुमार सुवेदी, राम याख्या, मधु रिमाल, अर्जुन कार्की, अशोक थापा, पूर्ण तामाङ, देवेन्द्र बाँस्तोला, दानबहादुर फुयाल, योगेन्द्र सुब्बा, सुरेन्द्र तामाङ, रितेश थापा, डेनी राई, निर्जल श्रेष्ठ, कमल बस्नेत, कब्बु राई, सन्दीप थापामगर, दिवस राई दिलकुमार तामाङ, शिव चौधरी, श्याम मानन्धर आदि एक से एक खेलाडी थिए, जसले इटहरीको फुटबल विरासत धानेका थिए । पूर्वाञ्चलका जति पनि ठुला प्रतियोगिता थिए तिनमा द व्वाइज क्लब इटहरीका खेलाडीको दबदबा हुन्थ्यो । धरान–विराटनगरका नाम चलेका क्लब र खेलाडीहरू फुटबलमा इटहरीको बढ्दो हस्तक्षेपले अलि हच्किएका थिए ।

निरन्तर जितको सृङ्खला २०५४ सालमा इटहरीका श्याम मानन्धर थ्रिस्टारबाट खेल्दै फुटबलको दुनियाँमा चम्किए । सुनसरी जिल्ला फुटबल सङ्घको प्रशिक्षक रहेका मानन्धरले २० वर्षअघि थाइल्यान्डमा भएको एएफसी क्लब च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । २०५७ सालमा थ्रिस्टारबाटै फुटबलमा उदाएका इटहरीका सुरेन्द्र तामाङ पछि थ्रिस्टारको क्याप्टेनसमेत भए । समय अन्तरमा आधारभूमि इटहरीमा सुरेन्द्र, श्याम, रितेश जस्ता धेरै योग्य खेलाडीहरू जन्मिए र उनीहरूले सेरोफेरोका दर्जनौँ कप र सिल्ड जितेर, चुम्दै इटहरी ल्याए । विष्णु बासे मेमोरियल च्यालेन्ज ट्रफी पश्चिम बङ्गाल ९२०५९०, आलीपुर च्याम्पियन ट्रफी ९२०५९०, अन्तर्राष्ट्रिय आमन्त्रण एलएम प्रधान एन्ड गोपाल मैत्री मेमोरियल च्यालेन्ज ट्रफी पश्चिम बङ्गाल ९२०६००, इटहरीका खेलाडीले भारतीय भूमिमा खेल देखाएर नेपाल भित्र्याएका प्रतियोगिताहरू हुन् । आदर्श गोल्डकप बुधबारे झापा ९२०५९०, हृदयेन्द्र गोल्डकप ९२०६००, सगरमाथा गोल्ड कप ९२०६००, मधुमल्ला गोल्ड कप ९२०६४०, निराजनस्मृति नकआउट फुटबल प्रतियोगिता ९२०६१० आदि उपाधिहरू पनि इटहरीका खेलाडीले चुमेका छन् । राष्ट्रिय जागृति (राजा) क्लबका सदस्य कोवित कार्कीका अनुसार इटहरीले सयभन्दा बढी प्रतियोगिता जितेको छ, जसको फेहरिस्त एक बसाइमा उल्लेख गर्नु सम्भव छैन । ‘२०६४ मा भोजपुर गोल्ड कप जित्यौ । सुनको कप थियो,’ कार्की भन्छन्, ‘भोजपुरबाट हेलिकप्टरमा विराटनगर ल्यायौँ । त्यो दिन नेपाल बन्द थियो । विराटनगरबाट रिक्सामा इटहरी ल्याउँदै गर्दा बाटोमा कसैले लुट्ला कि भन्ने कम्ती डर लागेको थिएन ।’ त्यो दिन सम्झिँदै उनले थपे, ‘इटहरी ल्याइपुर्याउनासाथ हिप हिप हुर्रे १ भन्दै साथीहरूले नारा लगाएपछि ल्याउँदाको दुःख र डर अपार खुसीमा परिणत भयो ।’ त्यसो त कुनै दिन तपाई विराटनगरलाइनमा पश्चिमपट्टि रहेको अप्ठेरो सिढी चढ्दै राजा क्लबको कार्यालय पुग्नुभयो भने त्यहाँका सोकेस र दराजमा राखिएका ट्रफी, सिल्ड, मेडल र प्रमाण–पत्रहरूको थुप्रो देखेर निकै रोमाञ्चित हुनुहुनेछ । सँगसँगै कतिपय उपाधिहरूमा धूलो कट्कटिएको, प्रशंसा–पत्रहरू खुइलिन थालेको देखेर तपाईको मनमा थोरै खिन्नता पनि उत्पन्न हुनेछ ।

इटहरी फुटबलको पृष्ठभूमि नेपालमा २०१० सालभन्दा अघि सार्वजनिक रूपमा युवाहरू भेला भएर फुटबल खेल्न प्रतिबन्ध जस्तै थियो । अग्रज फुटबलकर्मीहरूका अनुसार फुटबल राणा र कुलीन परिवारले मात्रै खेल्ने खेल हो भन्ने ठानिन्थ्यो । तर, २०१५ सालको सेरोफेरो बढेको राजनीतिक चेतनासँगै फुटबल पनि देशका अन्य भागमा फैलियो । ‘हामी फुटबल होइन भकुन्डो भन्ने गथ्र्यौँ,’ अग्रज फुटबल खेलाडी मधु रिमाल भन्छन्, ‘त्यसबेला प्रतियोगिता गर्ने चलन पनि थिएन । २०१४ सालतिर साथीहरू मिलेर रमाइलोका लागि टेङ्ग्रा खोला पुल पूर्व–उत्तरपट्टिको बगरमा भकुन्डो खेल्थ्यौँ ।’ गैसारका युवाहरूको सक्रियतामा २०१४ सालमा गठित सतन युवा क्लब इटहरीमा फुटबलकै लागि स्थापित भएको पहिलो क्लब मानिन्छ । त्यो बेला इटहरीको गैसार खेलकुद र सांस्कृतिक कार्यक्रमको केन्द्र थियो । इटहरी चोक–क्षेत्रमा भने २०१८ सालदेखि प्रतियोगिता आयोजना हुन थालेको हो । बजार क्षेत्रमा खेलमैदान नभएको र जनता माविको चौर पनि साँघुरो भएकाले तत्कालीन प्र.अ. प्रेमप्रसाद न्यौपानेको पहलमा मैया कोमलकुमारी शाह र उनका छोरा राजुबहादुर शाहबाट सट्टा–पट्टामा हाल माविले चर्चेकोे दुई बिघा पाँच कठ्ठा जग्गा प्राप्त भएको थियो । सो जग्गा तत्कालीन प्रधानपञ्च महेश्वर सुब्बाको पहलमा विद्यालयको नाममा प्राप्त टेङ्ग्रा खोला पूर्व–उत्तरको जग्गासँग साटिएको थियो । त्यसरी साट्दा दाम नपुगेपछि पाँच पाँच कठ्ठा जग्गा चाहिँ कोमल र राजुको नामबाट दानस्वरूप लिइएको हो । सोही जग्गाको अगाडिको भागमा केटाहरू फुटबल खेल्दै रमाउँथे । सो खेलमैदानलाई सानो–जनता चौरी भनिन्थ्यो । सानो–जनता चौरी इटहरीको फुटबल मात्र होइन, समग्र खेलकुदकै इतिहाससँग जोडिएको छ । टेङ्ग्राको बगरबाट खेल जीवन सुरु गरेका मघु रिमाल फुटबल खेल्दा लाउने जुत्ता किन्न भारतको सिलगुडी पुगेका थिए । उनका अनुसार २०१८ सालतिर बुट–जुत्ता इटहरी र विराटनगरमा किन्न पाइँदैनथ्यो । जुत्ता लगाएर फुटबल खेल्दा दसैँ आए जस्तो हुन्थ्यो । फुटबलको सन्दर्भमा २०५३ सालतिर इटहरीको द ब्वाइज् क्लब निकै चर्चित थियो । राजकुमार राई, गीतानिधि रायमाझी सुभास कार्की, केशव कार्की, रेखबहादुर गुरुङलगायतले स्थापना गरेको द ब्वाइज क्लबको नेतृत्व कोवितजङ्ग कार्कीले गरिरहेका छन् । द ब्वाइज् क्लबका धेरै खेलाडीहरू कालान्तरमा नेपाली फुटबलका चम्किला तारा बनेर उदाए । त्यही क्रममा मनाङ मस्र्याङ्दीका प्रकाश देवान, थ्री स्टारका सुरेन्द्र तामाङ, नेपाल प्रहरीका रितेश थापालगायतले इटहरीको परिचय अन्तर्राष्ट्रियस्तरसम्म पुर्याए । डेनी राई, श्याम मानन्धरलगायत खेलाडी पनि द ब्वाइजकै उत्पादन हुन् । सानो–जनता चौरीमा नरवीर थापाले खेलकुद गतिविधि सञ्चालन गर्न सजिलो होस् भनेर एउटा मञ्च पनि बनाइदिएका थिए । त्यसै मञ्चमा बसेर कहिले दर्शकहरू फुटबल हेर्थे, कहिले आयोजकले उद्घाटन र समापन समारोह सञ्चालन गर्थे । उक्त ऐतिहासिक मञ्च पञ्चायतले बनाएको भन्दै भत्काएको केही वर्षमै नामो–निसान मेटियो ।

एकपछि अर्को प्रतियोगिता २०१८ सालतिर इटहरीको प्रतिनिधित्व गर्दै साना–साना प्रतियोगितामा भाग लिन रामकुमार सुब्बा, मधु रिमाल, लालबहादुर रोक्का, रामप्रसाद याक्खालगायत विराटनगर, धरानतिर आयोजना हुने प्रतियोगितामा भाग लिन जान्थे । त्यति बेला पानी–हिलोमा फुटबल खेल्नुपर्ने हुँदा खेलाडीलाई ‘पानी गैँडे’लगायत उपनामहरू राखिन्थे । हिलाम्मे ठाउँमा खेल्नु उनीहरूको बाध्यता थियो । त्यतिबेला ठुलो प्रतियोगिता भएको इतिहास छैन । २०२३ सालमा रामकुमार सुब्बाको अध्यक्षतामा राष्ट्रिय जागृति क्लब स्थापना थयो । रामकुमार सुब्बा, रामकुमार सुबेदी, राम याख्या, मधु रिमाल, अर्जुन कार्की लगायतका समूह मिलेर स्थापना गरेको सो क्लबले प्रत्येक वर्ष कागतिहारको दिन सांस्कृतिक कार्यक्रम आयोजना गथ्र्यो । सुरुमा सांस्कृतिक कार्यक्रम गर्ने उद्देश्यले खोलिएको भए पनि अहिले राजा क्लब ए डिभिजनको फुटबल क्लबका रूपमा सूचीकृत छ । समय–अन्तरमा इटहरीमा खेलकुदको गतिविधि सुस्ताएको हो कि भन्ने आभास भएपछि राजा क्लबले फुटबल टिम निर्माण तथा इटहरी गोल्डकप प्रतियोगिता आयोजना गरेको क्लबका अध्यक्ष सञ्जीव ढुङ्गाना बताउँछन् । राम्रा खेलाडीहरू छानेर बाहिर भाग लिन पठाए पनि इटहरीले ठुलोस्तरको प्रतियोगिता आयोजना गर्ने आँट जुटाउन सकेको थिएन । २०५३ सालमा त्यसको पनि क्रम–भङ्ग भयो । इटहरीमा एकपछि अर्को ठुलोस्तरका फुटबल प्रतियोगिता क्रमशः हुन थाले । वीरेन्द्रस्मृति फुटबल, हृदयेन्द्र गोल्डकप, दानबहादुर फुयालस्मृति गोल्डकप, इटहरी गोल्डकप जस्ता ए डिभिजनका टिम खेल्न लालायित हुने चर्चित र खर्चिला प्रतियोगिताहरू इटहरीमा आयोजना भएका छन् । त्यसैको निरन्तरतास्वरूप इटहरी गोल्डकपको नाम परिवर्तन गरी मदन भण्डारीस्मृति गोल्डकपको नामबाट प्रतियोगिता आयोजना हुन थालेको छ । २०७४ सालमा आयोजित पहिलो संस्करणमा विजेता थ्रीस्टार क्लबलाई १२ लाख र उपविजेता मनाङ मस्र्याङ्दीलाई पाँच लाख नगद पुरस्कार दिइएको थियो । यो राजधानीबाहिर सञ्चालन भएको नेपालकै ठुलो धनराशि भएको फुटबल प्रतियोगिता पनि हो ।

विस्थापनको पीडा जतिसुकै राम्रा खेलाडी उत्पादन गर पनि जतिसुकै उच्चस्तरको प्रतियोगिता आयोजना गरे पनि इटहरीले देश–विदेशमा आफ्नो ठाउँको नाम चम्काउने खेलाडीलाई इटहरीमै थेगिराख्न सकेको छैन । एकपछि अर्को गर्दै विस्थापित हुने राम्रा र नाम चलेका खेलाडीको सूची लामै छ । इटहरीका पुराना खेलाडी महेश खड्का खेलबाट विस्थापित भइसकेका छन् । खेल–मैदानमा हुनुपर्ने चर्चित खेलाडी प्रकाश देवान अहिले वैदेशिक रोजगारीमा रमाइरहेका छन् । राष्ट्रिय टिमबाट इराकमा खेलेका अन्डर–१९ फुटबलका हस्ती प्रकाश अहिले दुबईमा मजदुरी गर्दै छन् । उनी मनाङ मस्र्याङ्दी क्लबका तर्फबाट खेल्ने गर्थे । लालबहादुर रोक्का, महेश खड्का, अर्जुन कार्कीलगायत नाम चलेका पुराना खेलाडी आज खेल क्षेत्रबाट कति टाढा छन्, अत्तोपत्तो हुन । अशोक थापा, किशोर थापाको मृत्यु भइसकेको छ । पाँच वर्षभन्दा बढी समय राष्ट्रिय टिमबाट फुटबल खेलेका स्ट्राइकर सुरेन्द्र तामाङ हिजोआज इएसपिएन च्यानलमा फुटबलको लाइभ हेरेर चित्त बुझाउन बाध्य छन् । सवारी दुर्घटनामा परी सक्रिय व्यावसायिक खेल जीवनबाट टाढिनुपरेका सुरेन्द्रको खेल–कौशल र अनुभव प्रशिक्षणको क्षेत्रमा निकै काम लाग्ने हुन सक्थ्यो । तर, सरोकारवालाहरूको ध्यान त्यसतर्फ गएको छैन । इटहरीमा जति फुटबलको विकास भयो त्यति खुसी हुने सुरेन्द्र एकपछि अर्को खेलाडी विस्थापित भएको थाहा पाएर खिन्न छन् । ‘यो विडम्बनापूर्ण परिस्थितिको चाँडै अन्त्य हुनु जरुरी छ,’ सुरेन्द्रले भने, ‘इटहरीलाई स्पोर्टस् सिटी घोषणा गर्नु निकै सकारात्मक कदम हो । अब पुराना खेलाडी खोजी तथा उनीहरूले गाउँ–ठाउँमै सिपअनुसारको काम पाउने वातावरण निर्माण गर्नुपर्छ ।’

अनौपचारिक स्पोर्टस् सिटी राष्ट्रिय खेलकुद परिषद्ले नेपालको तीन सहर इटहरी, पोखरा र दाङलाई स्पोर्टस् सिटीका रूपमा विकास गर्ने सपना सँगालेको छ । ‘खेलकुद हब’ बनाउन परिषद्ले रोजेका तीन ठाउँमा इटहरी पर्नुमा परिषद्का सदस्य सचिव केशवकुमार विष्टको धेरथोर हात छ । लामो समयदेखि खेलकुद विकासका गतिविधिमा क्रियाशील इटहरीका राजनीतिक कार्यकर्ता विष्टले पत्रकारलगायत सरोकारवालासँगको भेटमा हरेक पटक आफ्नो आधारभूमि इटहरीलाई स्पोर्टस् सिटी बनाइने सन्दर्भ जोड्ने गरेका छन् । तर, इटहरीलाई स्पोर्टस् सिटी बनाउने सन्दर्भमा स्थानीय सरकारले कुनै विशेष कार्ययोजना अघि सारेको छैन । तथापि यसका लागि इटहरीमा क्षेत्रीयस्तरको फुटबल मैदान, रङ्गशालालगायत पूर्वाधार निर्माणमा ठुलो रकम लगानी गरिएको छ । यातायातका दृष्टिले पायक इटहरीलाई खेलकुदको हब बनाउन खेलकुद परिषद्ले प्राथमिकता सूचीमा राखेको छ । औपचारिक रूपमा नभने पनि इटहरीलाई स्पोर्टस् सिटी बनाउन उपमहानगरपालिका कार्यालयलगायत दर्जनौँ संस्थाहरूले सकेको योगदान मिसाइरहेका छन् । फुटबलका क्षेत्रमा इटहरीका द ब्वाइज फुटबल क्लब, इटहरी फुटबल क्लब, राष्ट्रिय जागृति क्लब, रेडस्टार क्लब अग्रपङ्क्तिमा पर्छन् । शान्तिनगर फुटबल क्लब, डिसिटी क्लब, चौतारी युथ क्लब, तालतलैया फुटबल क्लब, युथ क्लब आँपगाछी, पाँचधारे युवा क्लब, सेभेन स्टार क्लब, योङ ब्रदर्स क्लब, सिद्धार्थ युवा क्लब, पचरुखी युवा क्लब, रक्तमाला स्पोर्टिङ क्लब, ब्रजाहा क्लब, भवानीपुर फुटबल क्लब, जुटविकास युवा क्लब, सतन युवा क्लबलगायत दर्जनौँ क्लबले इटहरीका विभिन्न वडामा विभिन्न खेल गतिविधि नियमित सञ्चालन गर्ने गर्छन् । इटहरीमा फुटबल मात्र होइन, क्रिकेट र भलिबलसम्बद्ध राष्ट्रिय–अन्तर्राष्ट्रिय हुने गर्छन् । कराते र एथलेटिक्सका प्रतियोगिताहरू सञ्चालन तथा आतिथ्य गर्ने क्रममा पनि इटहरी वरपरका अरू नगरहरूभन्दा एक कदम अगाडि छ । इटहरी फुटबल तालिम सेन्टर नै खोलेर खेलाडी उत्पादन गर्ने काम भइरहेको छ । नगरका निजी तथा सामुदायिक विद्यालय लक्षित मेयर कप फुटबल पनि नियमित सञ्चालन हुन थालेको छ ।

पूर्वाधारको अवस्था इटहरीमा फुटबलप्रतिको क्रेज र लगानी बढ्दो छ । इटहरीलाई खेलकुद सिटीको रूपमा विकास गर्न आवश्यक पूर्वाधारहरूमा ठुलो लगानी भइरहेको अवस्थामा फुटबलको लागि पनि लगानी बढेको हो । इटहरी रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन थप १८ करोडको निर्माण–सम्झौता अन्तिम चरणमा पुगेको परिषद्का सदस्य सचिव केशवकुमार विष्ट बताउँछन् । फुटबल प्रतियोगिता हेर्न दर्शकका लागि अहिले मैदानको उत्तर–पूर्वदेखि दक्षिण पश्चिमसम्म एक सय २० मिटर पूर्ण रूपमा तीन स्टेपको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ । मैदानमा दुबो उमारेर गत माघ महिना सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी इटहरी गोल्डकप प्रतियोगिता सञ्चालन गरिएको थियो । सो प्रतियोगिता राजा क्लबले सुरु गरेको इटहरी गोल्डकपकै ११ औँ संस्करण थियो । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि विशेष रूपमा तयार पारिएको यो मैदानमा आगामी भदौमा २५ लाख रुपियाँ पुरस्कारमा खर्च गर्ने योजनासहित प्रतियोगिताको दोस्रो संस्करणको तयारी थालिएको छ । विष्टका अनुसार मैदानको पश्चिम भागमा निर्माण हुने ११ करोडको भीआइपी प्यारापिटको टेण्डर प्रक्रियासमेत सुरु भइसकेको छ । इटहरी–९ स्थित जुट अनुसन्धान केन्द्रबाट प्राप्त झन्डै ८ बिघा क्षेत्रफलमा फैलिएको क्षेत्रीय रङ्गशाला बाह्रै महिना खेल गतिविधि सञ्चालन गर्न सकिने गरी स्तरोन्नित हुँदैछ । यहाँको मैदान राष्ट्रिय–अन्तर्राष्ट्रिय फुटबल खेलाडीका लागि अनुभव प्रदर्शन गर्ने रोजाइको गन्तव्य बन्न थालेको छ । सानो–जनताको धुलाम्मे–हिलाम्मे मैदानमा फुटबल खेलेर हुर्केका पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ मैदानलाई खेलाडी उत्पादनको मुख्य थलो भएको बताउँछन् । अहिलेको रङ्गशाला क्षेत्रीय फुटबलको लागि उपयुक्त भएको उल्लेख गर्दै तामाङले भने, ‘अहिलेको रङ्गशाला देख्दा आफूहरूले सुँगुर र मान्छेका दिसा–पिसाबमा चिप्लिँदै फुटबल खेलेको दिनको सम्झना आउँछ । कम से कम नयाँ पुस्ता त्यो सम्झिँदै घिनलाग्दो परिस्थितिबाट जोगिए ।’

नयाँ पुस्तामा फुटबल मोह २०७५ जेठ ३१ गते बिहीबार रुसमा विश्वकप फुटबलको महा–सङ्ग्राम सुरु हुनलागेको पूर्व सन्ध्यामा इटहरी रङ्गशालामा भने अर्जेन्टिना र ब्राजिल समर्थकहरू युवाहरू जर्सीसहित मैत्रीपूर्ण फुटबल खेल्दै थिए । इटहरीका युवा पत्रकारहरूको संयोजनमा भएको त्यो मैत्रीपूर्ण खेलले नयाँ पुस्तामा रहेको बढ्दो फुटबल क्रेज प्रतिविम्बत भएकमो पत्रकार अर्जुन सुवेदी बताउँछन् । अहिले पाँच कक्षाभन्दा माथिका विद्यार्थीहरू फुटबल खेल बुझ्ने मात्र हैन, खेल्न सक्ने अवस्थामा छन् । इटहरी हटियालाइनका १४ वर्षीय स्मित तामाङ फुटबल खेलमा जम्ने सोचमा छन् । फुटबलले आफू मात्र नभई इटहरी नै चिनाउन अवसर दिने भन्दै उनी अहिलेदेखि नै फुटबल खेलतिर लागेको बताउँछन् । इटहरीमा ग्रासरुट फुटबलअन्तर्गत टोल–टोलमा गएर फुटबल खेलाडी छनोट गर्न विशेष अभियान चलाउन लागिएको छ । सुनसरी फुटबल सङ्घका अध्यक्ष केशव कार्कीका अनुसार ब्वाइज फुटवल क्लब र राजा क्लबको संयोजनमा भदौमा सञ्चालन गरिने सो विशेष अभियानले भविष्यमा इटहरीको फुटबललाई अपेक्षित फड्को मार्न थप सजिलो हुनेछ । उनका अनुसार इटहरीको नयाँ पुस्तामा फुटबल जाग्दै छ । खेलकुद क्षेत्रमा इटहरीले काँचुली फर्न लागेको छ । समाजमा फुटबललाई हेर्ने नजर समेत राम्रो भएको छ । इटहरीलाई केन्द्र बनाई एक नम्बर प्रदेशकै खेलकुद प्रतियोगिताहरू हुन थालेपछि इटहरीमा फुटबल तथा अन्य खेल–सामग्री बिक्री बढ्न थालेको छ । इटहरी खेलकुदका सामग्री बेच्ने नयाँ–नयाँ पसलहरू खुल्न थालेका छन् । ‘युवाहरूमा फुटबल क्रेज बढेको छ,’ इटहरीमा दुई वर्षदेखि स्पोटर्स क्लबका जर्सी बिक्री गदैै आएको एसएम स्पोटर्स हाउसका सञ्चालक राजेन्द्र पौडेल भन्छन्, ‘साना–साना विद्यार्थीहरू पनि जर्सी, जुत्ता किन्न पसलमा आउँछन् ।’ २०७० सालमा एन्फाले देशकै बढी समय खेल्ने फुटबलरका रूपमा सम्मान गर्दै इटहरीका खेलाडी रितेश थापालाई बस्नको लागि अपार्टमेन्ट दिएको थियो । त्यही वर्ष इटहरीमा थापाको नागरिक अभिनन्दन गरियो । उनको सम्मानका लागि दुई सयभन्दा बढी त खेलाडी नैे भेला भएका थिए । ‘एउटा खेलाडीलाई सम्मानका साथ गाडीमा राखेर नगर परिक्रमा गराउँदा निके गौरवको अनुभूति भएको थियो त्यो दिन, मजा आयो,’ द ब्वाइज क्लबका अध्यक्ष कोवितजङ्ग कार्की भन्छन्, ‘त्यो घटनापछि नै इटहरेली युवाहरूमा फुटबलप्रतिको क्रेज फेरि बढ्न थालेको हो ।’

उपमहानगरको ध्यान खेलाडीतिर स्थानीय चुनावमा युवा मतदातालाई आकर्षित गर्न सबै राजनीतिक दलका उम्मेदवारहरूले खेलकुद विकासलाई प्राथमिकता दिने आश्वासनसहितको आकर्षक घोषणा–पत्र बनाएका थिए । त्यसै मध्येका एक तत्कालीन एमालेका उम्मेदवार द्वारिकलाल चौधरी अहिले इटहरी नगरको नेतृत्वमा छन् । मेयर चौधरीसँग फुटबलकै लागि तोकेर कुनै विशेष योजना त छैन तर समग्र खेलकुदको विकासका लागि आवश्यक लगानी गर्ने प्रतिबद्धता भने छ । फुटबलका विकासको प्रसङ्ग उठाउँदा इटहरीमा सोचे जस्तो खेलाडी उत्पादन हुन नसकेको उल्लेख गर्दै मेयर चौधरी भन्छन्, ‘अहिलेसम्म खेलकुद क्षेत्रमा जति बजेट छुटयाइएको छ, त्यसमा अलिकति लगानी बढाएर गरपालिकाले फुटबलको विकासका लागि विशेष योजना सञ्चालन गर्नेछ ।’ द ब्वाइज क्लबका अध्यक्ष कोवित कार्कीका अनुसार हिजोआज स्थानीय सरकारले प्रतियोगितामा मात्र लगानी गर्ने, खेलाडी उत्पादनमा चाहिँ खर्च नगर्ने गरेकाले भुइँ तहबाट खेलाडीहरू माथि उठ्न नसकेका हुन् । ‘इटहरीमा एक से एक खेलाडी त भए तर इटहरीले त्यसको गौरवलाई सम्झेको, धानेको, निरन्तरता दिएको देखिँदैन,’ पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्रले भने, ‘१५ वर्षयता इटहरीमा नयाँ खेलाडी उत्पादनको सिलसिला ठप्प जस्तै छ । इटहरीले पुराना खेलाडीतिर फर्केर नहेरेको, नसम्झेको पनि धेरै भइसक्यो ।’ सुरेन्द्रका अनुसार इटहरीका खेलाडीलाई राष्ट्रियस्तरमा कसरी पुर्याउने भनी सरोकारवालाहरूले विशेष कार्ययोजना बनाउनुपर्छ । अबको दुई वर्ष, पाँच वर्ष, १० वर्षमा इटहरीको फुटबल सपना के हो रु त्यो अहिल्यै स्पष्ट हुनुपर्छ । अन्डर सेभेन्टिन, अन्डर नाइन्टिन टिम निर्माण गरी बाह्रै महिना प्रशिक्षणको व्यवस्था हुनुपर्छ । नेपालका ए डिभिजनका फुटबल क्लबसँग भिड्ने ल्याकत इटहरीमा तयार हुनुपर्छ । स्पोर्टस् सिटी घोषणामा मात्र होइन, व्यवहारमा पनि देखिनुपर्छ । इटहरीमा खेलकुदका लागि आवश्यक भौतिक संरचना निर्माण कार्य सम्पन्न हुने स्थितिमा पुगेकाले नगरपालिकाको ध्यान अब खेलाडी उत्पादनमा ध्यान केन्द्रित हुने मेयर चौधरीको भनाइ छ । चौधरीको भनाइलाई आधार मान्ने हो भने इटहरी करिब एक दशकअघिदेखि जारी राम्रा खेलाडी उत्पादन हुन नसकेको खरेडी चाँडै अन्त्य हुने आस गर्न सकिन्छ ।

लक्ष्य साँच्चिकै ए डिभिजन एक पटक निकै माथि पुगेर तल ओर्लिएको इटहरीको फुटबल क्षेत्र फेरि जुर्मुराउन थालेको छ । फुटबलका ठुला प्रतियोगिता हुन थालेपछि इटहरीका पुराना खेलाडीहरू उत्साहित देखिएका छन् । अहिले धेरै वटा मैदानको स्तरोन्नति भएकाले इटहरी फेरि फुटबलमय हुँदै गएकोे पूर्व फुटबलर श्याम मानन्धर बताउँछन् । केही वर्षयता फुटबलमा पुनः सक्रिय भएका मानन्धरका शब्दमा भन्दा – फुटबलको माध्यमले इटहरी फेरि चम्किन थालेको छ । इटहरीका तीन युवा अहिले पनि देशका चर्चित फुटबल खेलाडी छन् । राजीव गुरुङ नेपाल आर्मी तथा हेम तामाङ र विनोद कार्की नेपाल प्रहरीका भरपर्दा खेलाडी हुन् । इटहरीको हालको टिममा दिपेन तामाङ, रमेश राजवंशी, प्रवेश दनुवार, भोला राई, समीर राई, उमेश राई, उमेश कार्की, विष्णु चौधरी जस्ता सम्भावना बोकेका खेलाडीहरू छन् । सुनसरी फुटबल सङ्घका प्रशिक्षक श्याम मानन्धरका अनुसार अहिले इटहरीको खेल क्षेत्रमा निकै उत्साहित रहेको छ । खेलकुदका लागि भौतिक संरचनाले पिरलिएको इटहरी अहिले जाग्ने क्रममा छ । खेलकुद विकासले फड्को मारेसँगै खेलाडीलाई सुविधा पनि बढ्दै छ । राजनीतिक रूपमा मात्र होइन, फुटबलमा पनि धरान र विराटनगरलाई पनि उछिनेर अगाडि बढ्ने इटहरीको योजना छ । क्षेत्रीय रङगशालाको काम ८० प्रतिशत भन्दा बढी सकिएपछि, जुनसुकै महिना पनि सजिलै प्रतियोगिता आयोजना गर्न सकिने भएपछि इटहरीका फुटबल खेलाडी दङ्ग मात्र छैनन्, इटहरेली फुटबलको विरासत फर्काउने योजना पनि बुन्दै छन् । इटहरीमा द ब्वाइज क्लब र राजा क्लबको सक्रियतामा यही वर्षदेखि वडा तहमा खेलाडी उत्पादनका लागि विशेष योजना सञ्चालन गर्न लागिएको क्लब पदाधिकारी बताउँछन् । ‘अहिले धरान–विराटनगर दुवै सहरलाई उछिन्दै अगाडी बढ्ने तयारीमा छौँ,’ द ब्वाइज क्लबका अध्यक्ष कार्की भन्छन्, ‘लामो समयसम्म खेलाडी उत्पादन नभएकाले हामी निस्ताए झैँ भएका थियो । अहिले हाम्रो पनि सक्रियता बढेको छ । हामी पुनः तङ्ग्रिन थालेका छौँ ।’ ‘हुन त राजा र द ब्वाइज क्लब फुटबलमा कहलिएका ए डिभिजनस्तरका क्लब हुन्, तर विविध कारणले हामी खुम्चिएका थियौँ,’ द ब्वाइजका अध्यक्ष तथा राजा क्लबका सदस्य कार्कीले भने, ‘अहिलेसम्म जे भयो, भयो । अब चाहिँ हामी साँच्चिकै ए डिभिजनस्तरका खेलाडी उत्पादन र संयोजन गरेर सेरोफेरोका गोल्डकपहरू चुम्ने योजना बनाउँदैछौँ । नगरपालिकाले पनि हाम्रो भावना समेटेर खेलकुद नीति बनाओस् भन्ने हामी चाहन्छौँ ।’