झापाको सदरमुकाम चन्द्रगढीदेखि १० किलोमिटर दक्षिण, मेची र देउनिया नदीको दोभानदेखि करिब १ किलोमिटर पश्चिम, साविक महेशपुर गाविस–३ हाल भद्रपुर नगरपालिका–१ सूर्यनगरको सीमासँग जोडिएको, साविक पृथ्वीनगर–५ हाल भद्रपुर– २ को पूर्वी कुनामा अवस्थित प्राचीन ग्रन्थ महाभारतमा उल्लेख भएको स्थल नै किचकवध हो । महाभारतमा उल्लेख भएअनुसार यसै स्थानमा भीमले किचकलाई मारेको (वध) ले गर्दा यो स्थानको नाम किचकवध रहन गएको हो । यो समुन्द्र सतह देखि ८५ मिटर अग्लो स्थानमा रहेको छ । यसको भौगोलिक स्थिति केही अग्लो स्थानमा करिब १० विगाहा क्षेत्रफलको डाँडो आकारको केही भिरालो जमिनमा अवस्थित छ ।

किचकवधको संरक्षण र सम्बद्र्धन गर्ने उदेश्यले २०३३ सालमा सूर्यनगर पृथ्वीनगरका अगुवा वुद्धिजीवीको भेलाबाट अर्जुनबहादुर थापा मगरको अध्यक्षतामा सात (७) सदस्य समिति गठन गरेको थियो । गठित समितिले २०३९ सालमा असुरक्षाको कारण देखाउँदेै तत्कालीन पृथ्वीनगर गाउँ पञ्चायतमा सामुहिक राजीनामा दिएपछि करिब २२ वर्षसम्म सो स्थान समितिविहीन अवस्थामा रहेको थियो । महाभारतको कथासँग जोडिएको यस स्थानमा महत्वपूर्ण पुरातात्विक विशेषताहरु पाइने आशङ्कामा पुरातत्व विभागले पुरातत्वविद्ध उद्धव आर्चायको नेतृत्वमा २०५८–५९, ०६०– ६१, ०६८ र ०७१–०७२ मा गरिएको छैठौँ पटकको उत्खननमा तेस्रो संरचना फेला परेको थियो । २०३५ सालदेखि पुरातत्व विभागको नजरमा परी उसकै नियन्त्रणमा रहेको यस ऐतिहासिक तथा धार्मिकस्थल किचकवधको पहिलो उत्खनन २०५९ सालमा भएको थियो । भवनका भग्नावशेष, सुरक्षा चौकी, कालखण्डमा जडित इटाको गारोजग, पोलिएका इँटा फेला परेको थियो । यसैक्रममा २०६२ मंसिर २५ गते स्थानीय वुद्धीजीवी, समाजसेवी, राजनीतिक दल, तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थितिमा तत्कालीन पृथ्वीनगर गाविसका सचिव मदनकुमार कँडेलको अध्यक्षतामा किचकवध धार्मिक स्थल संरक्षण समिति पृथ्वीनगर–महेश्पुर झापा नामकरण गरी दिलबहादुर थेवेको अध्यक्षतामा १३ सदस्य तदर्थ समिति गठन गरेको थियो । गठित समितिले संस्था दर्ता ऐन २०३४ अन्तरगत २०६३ माघ २९ गते दर्ता गरी २०६४ मंसिर १ गते सम्पन्न प्रथम वार्षिक साधारण सभाले दिलबहादुर थेवेको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरी किचकवध क्षेत्रको संरक्षण गर्ने, भौतिक एवं पर्यटकीय संरचनाको निर्माण गर्ने, सांस्कृतिक धरोहरहरूको निर्माण एवं पुनः निर्माण गर्ने, ऐतिहासिक खोज एवं पुरातात्विक अन्वेषण सम्पन्न गर्ने र किचकवधलाई राष्ट्रिय एवं अन्र्तराट्रिय क्षेत्रमा चिनाउन प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य अगाडि लिएर आएको संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेवेले बताए । किचकवधलाई परिचित गराउनका लागि २०६५ साल माघ शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रतको समाप्तिका लागि लाग्ने ३ दिने मेलाको सुरुआत भएको छ । मेलामा नेपालका मात्र नभई भारतको बङ्गाल बिहार र आसामबाट समेत यस क्षेत्रको दृश्यावलोकन गर्न आउने गरेका छन् ।

महाभारतकालको करिब २ हजार बर्ष पुरानो हुनसक्ने किचकवधको उत्खनन्बाट घोडा बाँध्ने तबेला भवन, सुरक्षापोष्टलगायत विभिन्न प्रकारका वस्तु फेला परेका छन् । विभागले सुरु गरेको छैठौँ चरणको उत्खनन्मा तबेला जस्तो देखिने २१ दशमलब २० मिटर लम्बाई र १६ दशमलब २० मिटर चौडाइको एकतले भवनको संरचना पाइएको छ । त्यस्तै त्यतिखेरको समयमा पनि सुरक्षाप्रदान गर्ने उदेश्यले बनाइएको सुरक्षापोष्ट आकारको संरचनासमेत फेला परेको छ । पहिलाका उत्खननमा जस्तै इँटाका आकार र दिवालको चौडाइ पाइएको छ तबेलाबाट पानी बग्ने इँटाकै डीपीसीमा नाली पनि बनाइएकोे पाइएको छ । उत्खनन्बाट माटाका भाँडाकुँडा, माटाका टायल्स, घोडा र हात्तीले घाँटीमा लगाउने विड्सहरू, माटोका सजावटका सामान, दियो, जार, थाल कचौरा र मिसाइल आकारका माटाका वस्तु फेला परेको पुरातत्वविद आचार्यले बताए । समितिको सहकार्यमा पुरातत्व विभागले छैठौँ चरणको उत्खनन् कार्र्य सम्पन्न भएपछि उत्खनन गरिएको क्षेत्रलाई विभागले संरक्षण गरी तारबार लगाएको छ । अहिलेसम्म गरिएको उत्खनन्बाट फेला परेका ऐतिहासिक तथा बहुमुल्य मानिने वस्तुलाई पुरातत्व विभागले अनुसन्धानका लागि लगेको छ । यस अघिका पाँच पटकको उत्खनन्मा पुरानो बहुतले दरबारको भग्नावशेष र एउटा एक तले भवनको भग्नावशेष पाइएको थियो । यी दुईवटा संरचनामा ढुङ्गा र माटाका भाँडाकुँडा, ढुङ्गाका थाल, माटाको सुराही, वाण, स्टिलका भाँडाकुँडा, नागको मूर्ति, फलामको चक्कु आदि फेला परेका थिए । यी दुईवटा संरचनामध्ये ६७ फुट चौडा र ७१ फुट लम्बाइको १२ वटा कोठा र एक चोक भएको एकतले भवनको संरचनालाई संरक्षण गरिसकिएको छ । दरबार भनिएको भग्नावशेषको त्यहाँ २०२८ सालमा स्थानीयले बनाएका सत्यदेवी मन्दिरका कारण सम्पूर्ण उत्खनन हुन नसकेको पुरातत्वविद् आचार्यले जानकारी दिए । पछि सोही मन्दिर अर्को स्थानमा निर्माण भइरहेको थेवेको भनाइ छ । यो स्थानलाई बचाइ राख्न र सुरक्षालाई मध्यनजर गरी ०७१ सालबाट किचकवध क्षेत्रमा पक्की पर्खाल निर्माण शुरु गरिएको छ । पर्खाल निर्माणको लागि पर्यटनबाट ८ लाख, पुरातत्व विभागले ८६ लाख दिएका छन् । वनभोज स्थल निर्माणको लागि वडा नम्बर–२ ले २ लाख र खानेपानी जडानको लागि वडा नम्बर–३ बाट ५० हजार रकम प्राप्त भएको थेवेले जनाए । हालसम्मको उत्खननबाट यो २ हजार वर्ष पुरानो हुन सक्ने बताइएको छ । शुङ्गकालमा विकास भएको यस स्थलको कुषाणकालसम्म प्रगति भएको देखिन्छ भने पाँचौं शताव्दीमा यस भेगमा आएको ९ रेक्टरस्केल भन्दा ठूलो भूकम्पका कारण यो स्थल ध्वस्त भएको अनुमान गरिएको छ । किम्वदन्ती अनुसार हालसम्मका उत्खनन् र यस स्थलको अवस्था हेर्दा मेची नदी पारिको भारतीय क्षेत्र गलगलिया, भातगाउँ, ठाकुरगञ्ज, किसनगञ्जको स्थललाई केन्द्रविन्दू बनाएर प्र्राचीनकालमा कुनै न कुनै शासकको दरबार वा मजदुर किल्ला थियो भनी अनुमान गर्न सकिन्छ । किचकवधको प्रवेश सँगै हाल आएर विशाल सामुदायिक भवन, पाटी पौवा, खानेपानी, भीमले किचकलाई वध गरेको सिमेन्टको मूर्ति, गङ्गा जमुनाको मूर्ति, पुरानो कुवा, शिवालय, नजिकैमा सानो तीनकुने वारुणी वा भीमसेन पोखरी, वनभोज स्थल रहेका छन् । योजना तथा कार्यक्रम समयसमयमा सञ्चालन गर्दै आइरहेता पनि दीगो आम्दानीका स्रोत नभएकोले तोकिएका लक्ष्यहरू हासिल गर्न निकै गाह्रो भएको संरक्षण समितिका अध्यक्ष थेवे बताउँछन् । सञ्चालित कार्यक्रममा विभिन्न दाता तथा दातृ संस्थाको योगदान भएको बताउँदै हालसम्म सबैभन्दा ठूलो सहयोग नेपाल सरकारबाट प्राप्त भएको थेवेले बताए । यो क्षेत्रको लागि दशवर्षे गुरु योजना तयार भइसकेको बताए । योजना भित्र पक्की पर्खाल, देउनिया खोला तटबन्धन, डुङ्गा पोखरी निर्माण, चिडिया खाना, वनभोज स्थल, चिल्ड्र्ेन पार्क, मन्दिर निर्माण, लिम्बूहरूको पूजा पाठ गर्ने ठाउँ (माङहिम), विभिन्न जातिको भाषा अध्ययनको लागि गुरुकूल, वृद्धाश्रम बस्नको लागि भिरालो स्थानमा प्याराफिट निर्माण रहेको उनले जनाए । ५२ करोड ८३ लाखको लागत हुने गरी गुरुयोजना तयार पारेको उनको भनाइ छ । नेपालको राष्ट्रिय सम्पदा सूचीमा रहेको किचकवध पुग्न ग्राभेल र खाल्डा खुल्डी सडक प्रयोग गरी अनेकौँ कठिनाइ झेलेर भए तापनि यस सडकमा हाल बिर्तामोड बगान पथरिया चल्ने सार्वजनिक बसहरूमा यात्रुको चाप भने अत्यधिक रहने गरेको छ । मेची र देउनिया नदीको संगम स्थल पश्चिम पट्टिको चियाबारी धेरै किसिमका प्राकृतिक दृश्यका कारण नेपाली चलचित्र तथा गीतहरूको छायाङ्कन पनि हुने गरेको छ । विभिन्न क्षेत्रबाट वनभोज खान आउनेको घुइँचो लाग्ने गर्दछ । यस सुन्दर र मनमोहक ठाँउले सधैँ यहाँ आउने श्रद्धालु र पर्यटकलाई स्वागत गरिरहेको हुन्छ । शहरी कोलाहलबाट टाढा रहन चाहने, प्रदूषित वातावरणबाट अलग्गिन चाहने र प्रकृतिको सौन्दर्यसँग रमाउन चाहनेका लागि एउटा सम्भावित गन्तव्य स्थल किचकवधमा तपाई पनि एकचोटि जाने कि ?