पथरीशनिश्चरे / थोरै लगानीमा राम्रो आम्दामी दिने भएपछि उत्तरपूर्वी मोरङमा मौरीपालन व्यवसाय फस्टाउँदै जान थालेको छ । राम्रो आम्दामी हुने मौरीपालनको तौरतरिका सिक्ने अवसर पाएपछि स्थानीयमा त्यसप्रति आकर्षण वढ्न गएको उर्लावारी ३ मंगलबारकी माला गुरागाईंले बताइन् । ‘हामीलाई उर्लाबारीमा तालिमको समेत व्यवस्था भएपछि यसको व्यवसायप्रति हामी आकर्षित हुन पुग्यौं ।’– उनले सुनाइन् ।
माला मात्र होइन सो ठाउँका मीनबहादुर धिमाल, नारायण भट्टराई पनि मौरीपालनतर्फ आकर्षित भए । उर्लाबारी २ का हरि बिष्टले २० घार मौरीबाट बर्षको २ लाख रुपैयाँ सुद्ध नाफा कमाउँछन् । धान खेती भन्दा कैयौं गुणा मुनाफा दिने मौरीपालन व्यवसायतर्फ आफुहरु आकर्षित बनेको उनी बताउँछन् । पारिजात मौरीपालन प्रालि सञ्चालन गर्दै आएका रमेश खड्काले २५ घार मौरीको महबाट खर्च कटाएर बर्षको ३ लाख रुपैयाँ बचत गर्ने गरेका छन् । ‘त्यसका लागि बर्षमा ७० हजारसम्म खर्च हुन्छ ।’– थोरै लगानीबाट राम्रो आम्दामी हुने प्रसंगमा भने । उनले ०६७ सालदेखि १ घारबाट मौरी पालन थालेका थिए ।
उत्तरपूर्वी मोरङ मौरी पालनका लागि उपयुक्त हावापानी भएको ठाउँमा पर्छ । त्यसो त, उर्लाबारीमा मौरीपालन सहकारी नै छ । त्यहाँ ०६७ मा मेलिफेरा मौरीपालन सहकारी संस्था स्थापना गरेर सो क्षेत्रका कृषकलाई मौरीपालनको प्रभाबकारिता प्रष्ट्याउँदै व्यवसायिक पालनमा प्रोत्सहित गर्ने काम भयो । मौरीपालनका तालिम समेत लिएका वोधराज खतिवडाको पहलमा सहकारी खडा भयो । त्यसअघिदेखि नै लेटाङको जाँतेका इमनाथ अधिकारीले जिल्लाको नमूना तथा उत्कृष्ठ मौरीपालक बनेको कुराबाट प्रोत्साहित बनेर आफुहरु संगठित भएको खतिवडाले प्रसंग ल्याए । नेपाल मौरीपालक जिल्ला संघका सचिव तथा मेलिफेरा सहकारीका अध्यक्ष खतिवडाकै सबैभन्दा वढी ७५ घार मौरी छन् । मौरी र मौरीजन्य सामानको खरिद बिक्री गर्ने मात्र नभई मौरीको स्रोतकेन्द्रका रुपमा समेत सो सहकारीको छुट्टै प्रभाव छ । ‘यो सहकारीमा अहिले ७५ जना शेयर सदस्य छौं ।’– उनले भने ‘कम लगानीमा मनग्ये आम्दामी गर्ने भएकाले अन्य पालिकातिर पनि हामीबाट सिकेर मौरीपालन थालेका छन् ।’
पथरीशनिश्चरे, मधुमल्ला, रतुवामाईको इटहरातर्फ कृषकहरु मौरीपालनतर्फ आकर्षित हुन थालेको खतिवडाले बताए । उनले १० फ्रेमसम्म हुने एउटा गोलाबाट बर्षको २५ देखि ३० किलोग्रामसम्म मह उत्पादन हुने जनाए । उनले भने ‘घार बनाउन, चास्नी खुवाउन, घार फेर्न सहितमा आम्दामीको ३० प्रतिशत खर्च हुन्छ ।’ तोरीको सिजनको मह प्रतिकिलोग्राम ८ सय र तोरी नभएको बेलाको ६ सय रुपैयाँमा बिक्री हुन्छ । तोरी फुल्ने समयमा मौसम अनुकुल हुँदा ५ पटकसम्म मह काढ्ने हुन्छ । तोरी नहुँदा जंगलको चरणमा चाँही बर्षको २ पटक मात्र मह काढ्न हुने हुन्छ । तोरीबारीमा मौरी चराउनका लागि टाढा टाढासम्म लगिने उर्लाबारी २ का मौरीपालक नविन कार्कीले उल्लेख गरे । ‘तोरीको फूलमा मौरी बस्दा मह पनि धेरै बन्ने र तोरीको परागसेचन प्रक्रियामा पनि प्रभाव परेर तोरी धेरै फल्ने हुन्छ ।’ – उनले दुवैतर्फको फाइदा बताए । तोरी नभएको बेला चिनीको चास्नी खुवाउनु पर्ने हुन्छ । तोरीमा बिषादी हालेको अवस्था छ छैन विचार गर्नुपर्ने हुन्छ । विषादी हालेको ठाउँमा चराउँदा मौरी मर्छ । मलसांप्रो र अरिंगालले मौरी खाइदिने हुँदा हेरबिचारमा ध्यान दिनुपर्ने हुन्छ । मौरीपालकहरुले स्थानीय बजारमै मह बेच्ने गरेका छन् । त्यहाँको मह इटहरी, धरान, बिर्तामोडसम्म पुग्ने गरेको छ ।
मोरङमा हालसम्म उर्लाबारी, रंजनी र कानेपोखरीको होक्लाबारीमा मौरी पालक सहकारी छ । जिल्लामा २ सय जना किसानको मेलिफेरा र सेरेना जातका ४ हजार गोला मौरी रहेका छन् ।