धनकुटा/ जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं.१ स्थित लेउती खोलामा स्टक गरी राखेको बालुवा, ढुङ्गा, गिटी, ग्राभेल मुलघाट प्रहरी चौकीले ल्याउन नदिएको धनकुटाका निर्माण एवं ढुवानी व्यावसायीले गुनासो गरेका छन् ।
अघिल्लो वर्षसम्म साविक जिल्ला विकास समितिले ढुङ्गा, गिटी, वालुवा लगायत नदीजन्य वस्तु ओसार पसारमा असार १ गते देखी रोक लगाउने गरेको थियो । यो वर्ष देखी भने स्थानिय तहको नयाँ संरचना अनरुप लेउतीखोला साँगुरीगढी गाउँपालिकामा परेको छ । हरेक वर्ष नदीजन्य वस्तु असार १ गते देखी ३ महिनासम्म उत्खन्न गर्न नपाउने साविकको नियम सदा झै लागु भए पनि लेउती खोलामा स्टक माल ल्याउन प्रहरीले नदिएको व्यावसायीको गुनासो रहेको छ ।
जिल्ला समन्वय समिति धनकुटा मार्फत स्वीकृत लिएर सम्वन्धित गाउँपालिकाले खोलाजन्य वस्तु संकलन तथा उत्खन्नको लागी प्रारम्भिक बातवरणिय परिक्षण (आईई) गरेर ठेक्का लगाउन पाउने कानुनी प्रावधान रहेको छ । साँगुरीगढी गाउँपालिकाले वातवरण संरक्षण ऐन, २०५३ तथा वातवरण संरक्षण नियामवली, २०५४ को नियम ३ को अनुसुचि १ र नियम ७ अनुसार लेउती खोलाको प्रारम्भिक वातवरणिय प्रतिवेदन अध्यन पश्चात यो वर्ष देखी खोलाजन्य वस्तु संकलन तथा उत्खन्न गर्न पाउने भएको छ । यता धनकुटा नगरपालिकाले पनि वडा नं.९ पर्ने फुङ्गसुवा खोला, पात्ले खोलाको ढुङ्गा, गिटी, वालुवा आगामी आर्थिक वर्ष देखी ठेक्कामा लगाउने भएको छ । जेष्ठ मसान्तसम्म भने साविक जिल्ला विकास समिति धनकुटाको मातहतमा नै रहेको धनकुटा नगरपालिका सूचना अधिकारी डम्वर रोगुले ब्लाष्टलाई बताए । सो बिषयमा नगरपालिकाले कुनै पनि प्रक्रिया अगि नबढाएको जनाएको छ ।
लेउती खोलाको ढुङ्गा, गिटी, वालुवा, ग्राभेल लगायत खोलाजन्य वस्तु संकलन तथा उत्खन्न गर्न पाउने भएपछि साँगुरीगढी गाउँपालिकाले यहि असार ८ गते लेउती खोलामा स्थलगत अनुगमन गरेको थियो । अनुगमनको क्रममा तमोर नदी वारी विभिन्न स्थानमा स्टोक गरी राखेको खोलाजन्य निर्माण सामाग्रीहरुको बिक्रि वितरणको लागी साँगुरीगढी गाउँपालिकाले अनुमती दिएको छ । गाउँपालिकाले ज–जस्ले खोलाजन्य बस्तु भण्डारण गरेको निबेदन दिएपछि निबेदनको आधारमा लेउती खोलामा स्थलगत अनुगमन गरेर स्टक क्याल्कुलेसन पछि बिक्रि बितरणको लागी अनुमती दिदै आएको कार्यालयले जनाएको छ ।
तर यता साँगुरीगढी गाउँपालिकाले स्टक गरेको खोलाजन्य बस्तु ओसार पसार तथा बिक्रि बितरणको लागी अनुमती दिएको फर्म,कम्पनी वा व्याक्तिले बिक्रि गरेको खोलाजन्य वस्तु ढुवानी गर्दा मुलघाट प्रहरी चौकीले रोक लगाएको व्यावसायीले गुनासो गरेका हुन् । सोमबार साँझ को १ ख ५५६१ नम्बरकाे बालुवा लिएर आएको टिप्फरलाई प्रहरीले रोकेको ट्रकका मालिक कुमार कट्वालले बताए । उनले साँगुरीगढी गाउँपालिकाले अनुमती दिएको पत्र देखाउँदा पनि प्रहरीले नछाडेको बताएका छन । आफु जस्तै अन्य दर्जनौ ढुवानीलाई प्रहरीले रोक्ने गरेको कट्वालले दाबी गरेका छन् । त्यसो त धनकुटा–७ का गौरीमान श्रेष्ठले पनि खोलाजन्य बस्तु ल्याउन असहज भै रहेको बताएका छन् । प्रहरी प्रशासन र स्थानिय सरकारको तालमेल नमिल्दा ढुङ्गा, गिटी, बालुवामा काला बजारी भैरहेको उनको भनाई थियो । उनले ४ हजारमा पाईने एक ट्याक्टर ढुङ्गा ७ हजार, ५ सयसम्म पर्न थालेको बताएका छन् । त्यस्तै बालुवा र गिटीमा पनि दोब्बर मुल्य लिने गरेको पाइएको दाबी श्रेष्ठले गरेका छन् ।
सम्बन्धित गाउँपालिकाको अनुमती पत्र देखाउँदा पनि खोलाजन्य बस्तु ओसार पसारमा रोक लगाउने मुलघाट प्रहरी चौकीका इन्चार्ज राजेश श्रेष्ठले भने साँगुरीगढी गाउँपालिकाले लेउती खोलाको खोलाजन्य वस्तुको स्थलगत अनुगमन गरेको स्थानिय प्रशासनलाई जानकारी नगराएको दाबी गरेका छन् । श्रेष्ठले खोलामा ढुङ्गा, गिटी, बालुवा, ग्राभेल काहाँ के कस्तो अवस्थामा स्टक छ भन्ने वारे अनुगमनमा आउनेले प्ररहीलाइै जानकारी नदिएकाले रोक्नु परेको बताएका छन् । उनले बालुवा ल्याउने ट्रक वा ट्याक्टरहरुले राजश्व दाखीला गरेको रसिद पनि नल्याउन र स्टक भन्दा खोलाबाटै माल उठाएर ल्याउने गरेकाले रोक्नु परेको बताए । राजश्व जम्मा गरेको रसिद लिएर आउने र साँच्चिकै स्टकको माल ल्याउनेलाई छोडिदिने गरेको श्रेष्ठको भनाई छ । उनले लाबरबाेटेको इन्द्र डाागीको घरमुनी खोलामा नै बालुवा थुपारिएको छ, त्यस्लाई पनि स्टक भनेर उठाउने हो भने कुनै पनि हालतमा प्रहरीले नछोड्ने बताए । उनले प्रहरी चौकी छेउमा हेमकुमार राईको माल छ, त्यो माललाई आफूहरुले सम्पुर्ण प्रक्रिया पुरा गरेर माल स्टक गरेर लानेको लागी आफुहरुले रोक नलगाएको बताएका छन् ।
यता साँगुरीगढी गाउँपालिकाका प्रशासन शाखा प्रमुख सुब्बा नारयण खनालका अनुसार ०७५ जेष्ठसम्मको ठेक्का साबिकको जिल्ला बिकास समिति, धनकुटाको भएको बताएका छन् । उनले वातवरणिय परिक्षण प्रतिवेदनका आधारमा आ.व.०७५÷०७६ देखी भने साँगुरीगढी गाउँपालिकाले ठेक्का लगाउने बताएका छन् । उनले पहिले देखीकै केन्द्र सरकारको नियम अनुसार असार देखी भाद्र मसान्तसम्म खोलाको जन्य वस्तु संकलन तथा उत्खन्न गर्न प्रतिबन्द्ध लगाइएको बिषयलाई निरन्तरता दिईने बताएका छन् । खनालले लेउती खोलामा स्टक मालको ढुवानीको लागी जो कसैले निवेदन दिए स्टक हेरेर सम्बन्धित ठेकेदारको समन्वयमा अनुमती दिदै आएको बताएका छन् ।
हालसम्म साँगरीगढी गाउँपालिकाको कार्यालयमा वडा नं.१ का आशिष लिम्बु र सोही वडाका अर्का व्यावसायी एस सप्लायर्सका प्रोपाईटर अनुप राईले मात्र निवेदन दिएको बताएका छन् । उनीहरुले निबेदन दिएको आधारमा खोलाको स्टक हेरेर अनुमती दिने गरेको खनालको भनाई छ । हालसम्म आशिष लिम्बुकाे लागी बालुवा ८ सय घन मिटर, गिटी ३ सय ३० घन मिटर र ढुङ्गा ५० घन मिटरको लागी अनुमती दिइएको बताए । साथै, अर्का व्यावसायी एस सप्लायर्सका प्रोपाईटर अनुप राईलाई ३ सय घन मिटर वालुवा, १ सय घन मिटर गिटी र ४० घन मटर ढुङ्गाको लागी अनुमती दिएको बताइएको छ ।
उनलाई लेउती खोलामा बन्द अवधीका लागी प्रयोग गर्ने भनी कति खोलाजन्य बस्तु संकलन गरिएको छ साँगुरीगढी गाउँपालिकासंग तत्थ्याङ्गक छ भन्ने ब्लाष्टको प्रश्नमा ? त्यो वारे साँगुरीगढी गाउँपालिकालाई जानकारी नभएको सुब्बाले बताएका छन् । उनले जो जस्ले स्टक माल छ भनेर पत्र ल्याउनेको स्थगत अनुगमन गरेर प्राविधिक मार्फत लागत निकालेर अनुमती दिने गरेको दाबी गरेका छन् । उनले प्रदेश सरकारको आर्थिक विधेयक अनुसार खोलाजन्य बस्तुको राजश्व संकलन स्थानिय सरकाले गर्ने रहेको बताए । साथै, संकलन भएको राजश्व मध्ये ६० प्रतिसत सम्बन्धित गाउँपालिका वा नगरपालिकाले राखन पाउने र ४० प्रतिसत प्रदेश सरकारको कोषमा पठाउनु पर्ने प्रावधान रहेको बताएका छन् ।
उनले स्थानिय सरकारले अनुमती दिइसकेको खोलाजन्य वस्तु ओसार पसार गर्नलाई प्ररहीले रोक लगाउन नमिल्ने बताएका छन् । खोलाजन्य बस्तु ओसार पोसार गर्न निवेदन दिएपछि अनुगमन सहितको प्रतिवेदनको आधार दिईने अनुमती पत्रको बाेधार्थ सम्बन्धित सुरक्षा नियकाहरु इलाका प्रहरी कार्यालय भेडेटार, शसस्त्र प्रहरी बल सुरक्षा वेशक्याम मुलघाट र प्रहरी चौकी मुलघाटलाई तत्काल दिने गरेको पनि प्रशासन शाखा प्रमुख नारयण खनालले ब्लाष्टलाई बताएका छन् । निर्माण व्यावसायी एवं सारासृष्टि निर्माण सेवा प्रालिका प्रोपाईटर सन्तोष राईले असार १ गते देखी नदिजन्य बस्तु बन्द हुँदा असार मसान्तमा सक्ने ठूला ठूलो योजनाहरुमा असर परेको बताएका छन । उनले असार मसान्तसम्म ढुङ्गा, गिटी, बालुवा, ग्राभेल निकाल्न नपाए, भौतिक पुर्वाधारका सम्पुर्ण योजनाहरु प्रभावित भएको बताएका छन् । अन्यथा खोलाजन्य बस्तु अधि मुल्यमा किनेर काम गर्नु वाध्य हुनु परेको भन्दै गुनासो गरेका छन् ।